कित्तामा बाँडिएको मेरो देश « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

कित्तामा बाँडिएको मेरो देश


यलम्वर टाइम्स
१६ पुष २०८०, सोमबार ०८:३९

विश्व मानचित्रमा समुन्द्र बीचमा सानो थोप्ला जस्तो देखिने २६८ लम्बाई १३९ माइल चौडाई भएको दक्षिण एसियाको चिया बगान, रबर खेती लगायत पर्यटनको लागि उपयुक्त स्थान भएको देश हो श्रीलंका । चारैतिरबाट समुन्द्रले घरेको छ । त्यहाँका स्थानीय बासिन्दा (जात) भनेको तामिल र सिंघलम हुन् । त्यहाँका मूलबासी सिंघलम भए पनि १९–२० औं शताब्दीताका चिया र रबर खेती गर्न भित्रिएका तामिलहरुले विस्तारै आफ्नो अस्तित्व जमाउँदै आएका हुन् । बुद्ध धर्ममा आस्था राख्ने सिंघलमहरुमा अहिले आएर हिन्दू र कृश्चियनको पनि बाहुल्यता बढेको छ ।

धेरै वर्षको बसोबास पश्चात त्यहाँको सरकारले तामिलहरु माथि विभेद गरेको परिणाम स्वरुप लिट्टे (एलतीटीई) को जन्म भएको थियो । अन्दाजी १९८५–९० को समयमा यसको कमाण्डर भेल्लुपिल्लाई प्रभाकरणको नेतृत्वमा गठन भएको लिट्टे समूहले सरकार विरुद्ध आन्दोलन सुरु गरेका थिए । तामिल समूहको कमाण्डर भेल्लुपिल्लाई प्रभाकरणको जन्म १९५४ नोभेम्बर २६ मा श्रीलंकामै भएको थियो । उनको मृत्यु २००९ मई १८ तारिकका दिन श्रीलंकाली सेनाको हातबाट भएको थियो ।

१९९५ मा तत्कालिन राष्ट्रपति चन्द्रिका कुमारातुङ्गाले शान्ति वार्ताको आह्वान गरेकी थिइन् । तर लिट्टे समूहले त्यसको बेवास्ता गर्दै श्रीलंकाली नौसेनाको युद्धपोतहरु डुबाएर कैयौं सेनाहरुको हत्या गरेको थियो । त्यसको केही समय पश्चात केन्द्रीय बैंकमा हमला गरेर सयभन्दा धेरै सेनाहरुलाई घाइते बनाएका थिए । यही युद्धमा राष्ट्रपति कुमारातुङ्गा पनि घाइते भएका थिए । यसरी नै राज्य विरुद्धको युद्धमा २००५ मा विदेशमन्त्री लक्ष्मण कादीर कुमाराको पनि हत्या भएको थियो ।

यसरी नै एक पटक श्रीलंका सरकारले भारतीय सरकारसँग सम्झौता गरेर भारत सरकारले आफ्नो सेना श्रीलंका पठाएको थियो । त्यसमा लिट्टे समूहले एक सय ५० जना भारतीय सेनाको पनि हत्या गरेको थियो । त्यही समयमा भारतीय प्रधानमन्त्री राजीव गान्धीको पनि हत्या गरिएको थियो ।

प्रसंग यहाँ कुनै देशमा गृह युद्ध हुनुको कारण र परिणाम मात्र जनाउन खोजेको होइन । प्रसंग यहाँ एकै देशको नागरिक वैदेशिक रोजगारीमा जाँदा एकै प्रकारको पासपोर्ट बोकेर गएको हुन्छ । तर उनीहरुले सोच्ने व्यवहार र देखाउने व्यवहार भने फरक–फरक देखेको छु । मेरो वैदेशिक रोजगारको समयमा दोहामा रहँदाको घटना स्मरण गर्दा आफू मेरो देशमा घटिरहेको घटनासँग मेल खान थालेको देख्छु । कुरा सन् २००८ को नोभेम्बर महिना तिरको हो । श्रीलंकामा गृहयुद्ध चलिरहेको थियो । बिहानको समयमा ड्युटि जाने गल्लीमा तामिलहरुले प्रभाकरणको फोटो राखेर मिठाई बाँडिरहेका थिए । उनीहरु हर्षित मुद्रामा मिठाई बाँडिरहेको देखेर मैले प्रश्न तेस्र्याएँ । उनीहरुले आज प्रभाकरणको बर्थ डे भन्दै जवाफ दिएका थिए । हामी नेपाली, भारतीय, फिलिपिनी र पाकिस्तानीहरुले सहज रुपमा उनीहरुले दिएको मिठाई थापेर खायौं । तर, श्रीलंकाली सिंघलमहरु चाँही तर्केर परपर भाग्दै ड्युटीतर्फ लम्किए । त्यो देखेर हामी साथीहरु मिलेर कानेखुशी गर्यौं केही दिनमा त्यो घटना भुलियो ।

अनि केही महिना पश्चात अचानक प्रभाकरणको हत्या भयो भन्ने समचार पढ्यौं । त्यो खबरलाई हामीले स्वाभाविक नै मान्दै बिहान ड्युटीतर्फ लाग्यौं । त्यो दिन पनि सिंघलम साथीहरुले त्यही गल्लीमा श्रीलंकाको नक्सा राखेर मिठाई बाँडिरहेका थिए । त्यस समयमा पनि उनीहरुले दिएको मिठाई खायौं र प्रश्न गर्यौं । उनीहरुले प्रभाकरणलाई सरकारले मार्यो र देशमा शान्ति आयो भन्ने जवाफ दिए । त्यस क्याम्पमा भएका हामी सबैले बधाई दिँदै मिठाई खायौं । तर त्यस समयमा तामिल साथीहरु चाहिँ उनीहरुबाट तर्केर मिठाई नलिई ड्युटीतर्फ लागे । यस्तोमा हामी साथीहरु पहिलो घटनाभन्दा धेरै आश्चर्यमा पर्यौं । यसलाई बिडम्बना नै मान्नुपर्छ, एकै देशका नागरिक, कोही सिंघलम र कोही तामिल । आफ्नो देशमा भएका हरेक दुर्घटना र परिवर्तनमा अलग–अलग प्रतिक्रिया । एक समूह जन्मदिन मनाउँदा तर्सिने । अर्को समूह देशमा युद्ध रोकिने भयो, देशमा शान्ति आउने भयो भनेर खुशी हुँदा तर्सिने । हिजोआज हाम्रै देशमा घटिरहेको घटना देख्दा कुनै दिन यो देशमा पनि त्यही घटना नदोहोरिन सक्दैन भन्ने कल्पना गर्न सकिदैन । तत्काल हाम्रै देशमा मौलाइरहेको धर्मको विरोध, जातको विरोध र राजनीतिको विरोधको आगो भुसभित्र सल्किए झैं भइरहेको अवस्थामा छ । समयसँगै आक्रोशको धुँवा देखिन थालेको छ । विरोधीहरु र धमिलो पानीमा माछा मार्नेहरु त्यही भुसको आगोमा आफ्नो स्वार्थको हात सेक्न तत्पर छ । उनीहरुको कार्यकर्ताहरु पनि त्यही आगोमा एनजीओ, आईएनजीओ ब्राण्डका घ्यू छर्कन आतुर छ । हरेक कित्ताका कार्यकर्ताहरु कित्ता, कित्तामा बाँडिएका छन् । अबको केही समय पश्चात एउटा कित्ताका मानिसहरु अर्को कित्ताका मानिसको मलामी या जन्तीमा पनि बहिस्कार गर्न सक्छन् । गणतन्त्रका हिमायतीहरु आफ्नो सिंहासन जोगाउन खेतालाहरुलाई प्रलोभनको चारो छर्केर र राजनीति रंग दलेर पाल्तु जनावरझैं खोरमा थुनेर लोभका सिक्रीले बाँधिरहन्छन् । उनीहरु पनि दानापानीको लालचका कारण मालिकहरुका हरेक इसारामा नाचिरहेका छन् ।

आज एउटै देशको पासपोर्ट बोकेर विदेशिएको नेपालीहरुले पनि परदेशको भूमिमा रहेर एउटा जिल्ला, एउटा अञ्चल र एउटा प्रदेशको नाम गरेर खोलिएको संस्थामा आवद्ध भएर आफ्नो–आफ्नो कित्ता सम्हाल्दै संगठनहरु चलाउँदै छन् । मेरो भनाई के भने आफ्नो देशमा रहँदा देशमा रहेको प्रदेश जिल्ला र अञ्चल भूगोल अनुसार मान्नु ठीकै हो । तर परदेशको जमिनमा गएर म एउटा नेपाली हुँ र मैले केवल नेपालको विषयमा बोल्नु पर्छ भन्ने सोचाईलाई मालिकको पोल्टामा हालेर मालिकहरुको इसारामा म्याँउ गर्दै तिरस्कारको खेल खेलिरहेका छन् ।

यस्तोमा विदेशीहरुले भाई फुटे गवाँर लुटेको चरितार्थलाई साकार बनाउन सक्छन् भन्ने रत्तिभर पनि सोच राखे म नेपाली हुँ र मेरो देश नेपाल हो भन्दै गौरवका साथ छाती फुलाउन सक्थ्यौं । तर बिडम्बना हरेक नेपालीको सोचाई बाँडिएको छ । हरेक नेपालीको मन बाँडिएको छ अनि हरेक नेपालीको आस्था बाँडिएको छ ।

यस्तोमा एउटा पार्टीको कार्यकर्ता अर्को पार्टीको कार्यकर्तासँग अलग रहन चाहन्छ । राजावादीहरु, गणतन्त्रवादीहरुसँग पृथक रहन चाहन्छन् । अनि राजावादी र गणतन्त्रवादीहरुसँग स्वतन्त्र नागरिक पृथक रहन चाहन्छन् ।

यस्तोमा गणतन्त्रका मालिकहरु आफ्नो दुना सोझ्याउन मिसन ८४ भन्दै हरेक चोक, हरेक गल्ली, हरेक प्रदेश अनि हिमाल, पहाड, तराईमा आफ्नो सिंहासन जोगाउन हरेक दिन मिठा मिठा शब्द घोलेर गला सुकाईरहेका छन् । तर विचारा निमुखा जनता रनभुल्लमा पर्दै भुईमा पलेटी कसेर आश्वासनका पोको सुन्दै पर्रर…. ताली बजाउँदै आशा भरिएको नजरले एकटक नेताहरुलाई हरिरहेको हुन्छन् ।