खुदुनाबारीमा स्वास्थ्यकर्मी कमलाको बिदाई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

खुदुनाबारीमा स्वास्थ्यकर्मी कमलाको बिदाई


यलम्वर टाइम्स
१६ पुष २०८०, सोमबार ११:०३

खुदुनाबारी । खुदुनाबारी स्वास्थ्य चौकीका सिनीयर अनमी कमलादेवी कुँवरलाई सोमबार एक समारोह बीच बिदाई गरिएको छ ।

२०५० सालदेखि स्वास्थ्य चौकीमा कार्यरत रही काम गर्दै आएकी कुँवरको जागिर अवधि पूरा भएको हुँदा उनलाई सम्मानपत्र र दोसल्ला ओढाई बिदाई गरिएको थियो ।

खुदुनाबारी जस्तो क्षेत्रमा उनले बालबालिका तथा गर्भवती महिलाहरुका लागि अतुलनीय योगदान दिएको बिदाई कार्यक्रममा चर्चा चलेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख खड्गमाया पराजुलीले अनमी कमलादेवीको योगदान खुदुनाबारीले बिर्सन नहुने बताइन् ।

सम्मानपत्र प्रदान गर्दै उपप्रमुख पराजुलीले कमलादेवीको जस्तै अन्य स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य सेवामा सिक्नुपर्ने थुप्रै काम भएको बताइन् ।

कार्यक्रममा पूर्व उपप्रमुख कमला आचार्यले अवकाश प्राप्त कमलादेवीको बाँकी जीवन सुख रहोस् भनी शुभकामना व्यक्त गरेकी थिइन् ।

अर्का अतिथि वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराईले आफू बाल्यकालमा रहँदा कमला दिदीले लगाइदिएको खोपको नमूना अझै रहेको बताउँदै उनको योगदानको चर्चा गरेका थिए ।

थुप्रै स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा सम्मानित कुँवरले आफू स्वास्थ्य क्षेत्रमा रहँदा खुदुनाबारीमा गरेको सेवाको संस्मरण गर्दै आफू अवकाश भए पनि खुदुनाबारीकै पेरिफेरीमा रहने बताइन् ।

कार्यक्रममा प्रशासकीय प्रमुख तिलोचन रिमाल, वडा नं. २ का वडाध्यक्ष नरेन्द्र श्रेष्ठ, वडा नं. १ का उपेन्द्र बस्नेत, राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।