अर्जुनधारा–३ मा सुरु भयो जनता औषधी कार्यक्रम « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधारा–३ मा सुरु भयो जनता औषधी कार्यक्रम


यलम्वर टाइम्स
१६ पुष २०८०, सोमबार ११:११

खुदुनाबारी । अर्जुनधारा नगरपालिका वडा नं. ३ ले स्वास्थ्यमा जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न सोमबारबाट जनता औषधी कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख खड्गमाया पराजुलीले वडाको स्वास्थ्यमा छुट्टिएको रकमबाट जनतालाई आवश्यक पर्ने औषधी सर्वसुलभ ढंगबाट प्रदान गर्न जनता औषधी कार्यक्रम फलदाई हुने बताइन् ।

निःशुल्क सेवा बाहेक अन्य औषधी किन्न अन्य फार्मेसी तिर भौतारिनु भन्दा स्वास्थ्य चौकीमै विशेष छुटबाट प्राप्त हुन्छ भने जनताको लागि उपयुक्त हुनेछ ।

कार्यक्रममा विशिष्ट अतिथि प्रशासकीय प्रमुख तिलोचन रिमालले जनताको नाममा किनिएको औषधी सशुल्क प्रदान गरिने औषधिसँग दाँजेर नभई छुट्टै तरिकाबाट विशेष छुटको व्यवस्था उल्लेख गरेर बिक्री गरिनुपर्ने बताए ।

रु. ५ लाख मूल्य बराबरको औषधी के कसरी बिक्री गरिन्छ, त्यसलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै लगानी मासिने खाल्का कार्य नगर्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले निःशुल्क प्रदान गर्ने बाहेक अन्य औषधी खरिद गर्दा उपभोक्ताहरुले हैरान व्यहोर्नु पर्ने र महंगो दर लगाउने कार्यको अन्त्यको लागि जनता औषधी कार्यक्रम ल्याइएको बताउँदै यस कार्यक्रम अन्तर्गत औषधी खरिद गर्दा ३० देखि ४० प्रतिशत छुट हुने बताए ।

प्रमुख मिश्रले औषधी खरिदमा प्रशस्त कमिशन र गुणस्तरहिन औषधी राज्यले लिने गरेको हुँदा त्यसको अन्त्यको लागि प्रत्येक वडामा जनता औषधी कार्यक्रम ल्याउन सके प्रभावकारी हुने बताए ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, वडा नं. २ का अध्यक्ष नरेन्द्र श्रेष्ठ, पूर्व उप्रमुख कमला आचार्य लगायतले जनता औषधी कार्यक्रमबाट जनता मारमा पर्न नहुने सुझाव दिएका थिए ।

अर्जुनधारा नगरमा पहिलो पटक जनता औषधी कार्यक्रम गर्न लागिएको हुँदा अनुभवी र दक्ष स्वास्थ्यकर्मी राम्रोसँग लागे जनताले प्रत्यक्ष लाभ पाउनेमा आफू विश्वस्त रहेको वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराईले प्रतिक्रिया दिए ।

कार्यक्रममा बोर्ड सदस्य चन्द्रमाया तामाङ, सर्मिला सुब्बा, नारायण प्रसाद चापागाई, सुमन कुमारी राई, सीतादेवी सार्की, दिनेश घिमिरे, मदनकुमार मगर लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष सीताराम भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित रहेका थिए ।

वडा सदस्य सुमन कुमारी राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र लिङ्देनले गरेका थिए ।