इटहरीमा नोबेलको मुटु सम्बन्धि निःशुल्क शिविर « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

इटहरीमा नोबेलको मुटु सम्बन्धि निःशुल्क शिविर


यलम्वर टाइम्स
२३ पुष २०८०, सोमबार ०९:१९

बिराटनगर । विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

‘स्वस्थ्य मुटु स्वस्थ्य जीवन’ भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ सहित गत शनिबार इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरमा ३३२ जना मुटु रोगको बिरामीहरुको परीक्षण र उपचार गरिएको नोवेलका जनसम्पर्क अधिकारी नविन दाहालले बताए ।

नोबेलको मुटुरोग विभागका प्रमुख प्रा. डा. राजेश नेपाल, अर्का मुटुरोग विशेषज्ञ डा.सुशान्त कटुवाल र अन्य मुटुरोग विशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सकको स्वास्थ्य टोलीले बिरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, इसीजी र परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा ३३२ जना बिरामीको निःशुल्क इकोकार्डियाग्राम र २२५ जनाको ईसीजी गरिएको छ ।