अर्जुनधारा नगर विकास सहकारीको दोस्रो साधारणसभा सम्पन्न « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

अर्जुनधारा नगर विकास सहकारीको दोस्रो साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२४ पुष २०८०, मंगलवार ११:१८

अर्जुनधारा । कृषि क्षेत्रको विकास र विस्तारलाई मध्यनजर गरी २ वर्षअघि स्थापना भएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

अर्जुनधारा ८ मा मुख्य कार्यालय रहेको संस्थाका अध्यक्ष प्रत्युष आजाद रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

सञ्चालक समिति सदस्य देवकला प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष छत्र पौडेलले गरेका थिए । सोही कार्यक्रमका बीच संस्थाले उत्कृष्ट कृषकका रुपमा अर्जुनधारा १ का लोकनाथ वाग्ले, अर्जुनधारा ७ का राजेन्द्रप्रसाद निरौला र अर्जुनधारा ४ का देवप्रकाश घिमिरेलाई नगदसहित सम्मान गरेको थियो ।

उनीहरुलाई प्रमुख अतिथि रानामगर, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतले सम्मान गरेका थिए ।

आर्थिक बर्ष २०७९-०८० सम्ममा एक हजार ७३ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३८ लाख २७ हजार ९०० रुपैयाँ रहेको अध्यक्ष रानाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष रानाको प्रतिवेदनअनुसार निक्षेप संकलन ७ लाख १५ हजार २५१ रुपैयाँ र जगेडा कोष ५ लाख रुपैयाँको रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा दुई करोड १६ लाख ८७ हजार आठ सय ४० रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०-०८१ को लागि अनुमानित दुई करोड ७७ लाख ६० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरिएको थियो ।

अर्जुनधाराका ११ वटै वडामा उपसमिति, समूह, विषयगत समिति गठन गरी नगरपालिकाको कृषि शाखासँगको समन्वयमा विविध कार्यक्रम गर्दै आएको अध्यक्ष रानाले बताए ।

कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै व्यावसायिक र मर्यादित पेशाका रुपमा विकास गर्न, उत्पादन बृद्धि गरी संकलन, भण्डारण, प्रशोधन र बजारीकरणबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले संस्थाको स्थापना भएको अध्यक्ष रानाले जानकारी दिए ।

उनका अनुसार अर्जुनधारा नगरको पशुपंछी विकास शाखा र नेपाल कृषि बजार कार्यक्रम (सहज) विराटनगरको ५० प्रतिशत आर्थिक साझेदारीमा अर्जुनधारा ६ मा दुग्ध उद्योगको स्थापना भएको छ ।

संस्थाले कृषि उत्पादन अभिमुखीकरण तालिम, धान पकेट कार्यक्रमको निरन्तरता, बीज बृद्धि कार्यक्रम, कृषि प्राविधिक सेवा सञ्चालन, रासायनिक मलको ब्यवस्थापन र उपलब्धता, कृषिमा आधारित सरकारी तथा गैरसरकारी निकायसँगको समन्वय, तालिम र गोष्ठीको आयोजना र सहभागिता, कृषि उपज संकलन, भण्डारण र बजारीकरण, कर्मचारी ब्यवस्थापन र परिचालन लगायतका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अध्यक्ष रानाद्धारा प्रस्तत प्रतिवेदनमा उल्लेख छ ।

सभामा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष सूर्य खतिवडा, अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, शनिश्चरे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भैरवबहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।