प्रसिद्ध धार्मिक माई मेला पौष २९ बाट लाग्ने « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

प्रसिद्ध धार्मिक माई मेला पौष २९ बाट लाग्ने


यलम्वर टाइम्स
२५ पुष २०८०, बुधबार १०:५०

माइधार । पूर्वकै प्रसिद्ध धार्मिक कनकाई माई मेला पौष २९ गतेबाट धुमधामले लाग्ने भएको छ । शिवसताक्षी १० को माइधारमा आधिकारिक रुपमा मेलाको आयोजना गरिएको छ भने कनकाई नगरपालिकाको कोटीहोममा समेत स्वतस्फूर्त माई मेला लाग्ने गर्दछ ।

आधा शताब्दी अघिदेखि लाग्दै आएको कनकाई माई मेला विगतक केही वर्षहरुमा कोरोना कहरका कारण औपचारिक रुपमा लाग्न सकेन । यद्यपि यो धार्मिक मेला भएकाले स्वतस्फूर्त रुपमा धार्मिक अनुष्ठान गर्न र माघे सङ्क्रान्तिका दिन मकर नुहाउन मानिसहरुको भेला हुने गर्दछ ।

तीन दशक अघि नेपालकै ठूलो मेलाको रुपमा स्थापित माई मेला हप्तौं दिनसम्म लाग्ने गरेको थियो । माघे सङ्क्रान्तिमा मकर नुहाएर धार्मिक अनुष्ठान गरिने पर्व तथा मेला भएकोले पनि यसको महत्व अत्यन्त धेरै रहेको छ ।

यसवर्ष समय अनुकुल भएकोले शिवसताक्षी नगरपालिका वडा नं. १० को माइधारमा हर्षोल्लासका साथ मेला लाग्ने शिवसताक्षी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हर्कबहादुर सिगुले जानकारी दिएका छन् ।

पौष २९ गते मेलाको उद्घाटन भई माघ २ गतेसम्म लाग्ने मेलालाई कान्तिहाङमा सेलिङको फर्मबाट औपचारिक रुपमा ठेक्का लागेको छ । मेला ठेकेदार दिलिप नेम्बाङ भन्छन्, यसपटक अन्य वर्षहरु भन्दा व्यवस्थित र ठूलो मेला लाग्नेछ । त्यसका लागि हामीले सबै प्रकारका व्यवस्थापन गरिरहेका छौं ।

कनकाई माई धार्मिक मकर माई मेलालाई व्यवस्थित र झकिझकाउ बनाउन विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु मेला लाग्ने स्थानमा आएर निर्माण गर्न थालिएको ठेकादार कम्पनीले बताएको छ ।

माई मेलामा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यो औपचारिकताले ठूलो मद्दत पु¥याउने नगरपालिकाको ठम्याई रहेको छ । बिगतमा कन्काई माईको पुलमा मानव भीडका कारण ठूलो समस्या आउने गरेको थियो ।

त्यसलाई मध्यनजर गर्दै माई नदीमा वारिपारि गर्ने वैकल्पिक पुलको निर्माण भइरहेको छ । माई मेलाको भीडलाई व्यवस्थापन गर्न नसक्दा यातायात नै अवरुद्ध भई समस्या आउने गरेकोले उक्त समस्या समाधान गर्न वैकल्पिक उपाय अपनाइरहेको छ । सोहि अनुरुप नगरपालिकाले सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक पहल गरेको छ ।

कनकाई माई नदीमा मकर सङ्क्रान्ति अर्थात् माघे मेलाको दिन मकर नुहाउन लाखौंको संख्यामा तीर्थालु भक्तजनहरु आउने गरेका छन् । मकर सङ्क्रान्तिको दिन मकर नुहाई तरुल, भ्यागुर, तिलको लड्डु, फलपूmल, सेलरोटी खाए स्वास्थ्य राम्रो हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

यहाँ मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् ।