अधिकार र पहिचान कार्यान्वयनका लागि शासन र सत्तामा पुग्नुपर्छः मन्त्री चौधरी « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

अधिकार र पहिचान कार्यान्वयनका लागि शासन र सत्तामा पुग्नुपर्छः मन्त्री चौधरी


यलम्वर टाइम्स
३ माघ २०८०, बुधबार ११:१०

[कमल चौधरी]

कपिलवस्तु । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले अधिकार र पहिचानको लागि बोलेरमात्र केही नहुने भन्दै कार्यान्वयन पक्षमा पुग्नुपर्ने बताएका छन् ।

उनले कपिलबस्तुको हथौसमा मंगलबार आयोजित पाँचौ बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सवको उद्घाटन गर्दै आफ्नो अधिकार र पहिचान प्राप्तिका लागि शासन र सत्तामा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री चौधरीले थारु समुदाय शासन र सत्ताको तहमा नपुगेको कारण कुनै पनि नीति निर्माण गर्ने तहमा थारु समुदायहरुको पहुँच नपुगेको औल्याए ।

‘समय, परिवेश, समाज र राष्ट्र हामीले कहिल्यै बुझेनौं । केवल आफूहरुले जल, जमिन र जंगललाई प्रमुख प्राथमिकता मन्यौं’ मन्त्री चौधरीले भने, ‘यसकारण आज देशमा थारु समुदायको स्थिति सबैभन्दा कमजोर भएको छ ।’

महोत्सवलाई सम्बोधन गर्दै उनले थपे, ‘हाम्रो विरुद्ध कानुन निर्माण गरियो । कानुनी राज्य सञ्चालन गर्ने शासकहरुलाई हामीले कृषि उत्पादन गर्दै पाल्यौं । तर उनीहरुले हामी माथि शासन गर्दै आए । हामीलाई थाहाँ भएन । हामीले केवल जल, जमिन र जंगलमा मात्र भनिराख्यौं ।’

मन्त्री चौधरीले थारु समुदाय सबैभन्दा पुरानो धर्तीपुत्र रहेको भन्दै दक्षिण एसियाको सबैभन्दा पुरानो जाति थारु भएको दाबी समेत गरे । उनले भने, ‘दक्षिण एसियाकै पुरानो जाति थारु हो । तर विविध कारणले कमजोर भएका छौं । हाम्रो बशंज सकिन थालेको छ ।’

उनले थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सरकार नीतिगत रुपमा अगाडी बढ्नुपर्ने धारणा समेत राखे ।

त्यस्तै प्रदेश सांसद गिरधारीलाल न्यौपानेले थारू समुदायको विशेष पर्वको रुपमा माघी महोत्सव रहेको भन्दै थारू समुदायको संस्कृति र पहिचान देशको चिनारीको रुपमा रहेको बताए । उनले विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु समुदाय एक जुट भएर अधिकार र पहिचानको लागि लाग्नुपर्ने बताइन् । उनले थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणको लागि माघी पर्वले महत्वपूर्ण भुमिका खेलेको समेत बताइन् ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले थारुहरुको संस्कार संस्कृति देशको गहना भएको बताउँदै यसको संरक्षण गर्नु स्थानीय सरकारको पनि कर्तव्य भएको बताए ।

महोत्सवका संयोजक नाथुराम थारुको सभापतित्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य एवम् थारू कल्याणकारिणी सभाका केन्द्रिय पार्षद विश्राम थारु, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, बाणगंगा नगरपालिकाका पूर्व नगर प्रमुख मंगल प्रसाद थारु, थारू कल्याणकारिणी सभा केन्द्रिय पार्षद जितबहादुर चौधरी, आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष लेम गुरुङ्ग, थारू कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष पवन चौधरी, नेपाली कांग्रेसका नगर सभापति विष्णु थापा, वडा अध्यक्ष नरेन्द्र चौधरी, धुव्र नेपाल लगायतले आ–आफ्नो विचार राखेका थिए ।

थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न नाच तथा झाँकी प्रस्तुत गरिएको कार्यक्रममा उपाध्यक्ष ऋषिराम थारुले स्वागत गरेका थिए भने सञ्चालन सचिव सृजना चौधरीले गरेका थिए ।

‘हम्मन राष्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मूल नाराको साथ सुरु भएको महोत्सव माघ २ देखि ४ गते सम्म चल्ने छ ।

सोही दिन रक्तदान कार्यक्रम समेत गरिएको थियो ।