जेसीज अध्यक्षहरुको उर्भर थलो अर्जुनधारा वडा नम्बर ५ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जेसीज अध्यक्षहरुको उर्भर थलो अर्जुनधारा वडा नम्बर ५


यलम्वर टाइम्स
४ माघ २०८०, बिहीबार ११:३३

[राजन साम्पाङ]

जेसीज अर्थात् १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता विकास गर्ने एक विश्वव्यापी संस्था हो । जेसीज अभियान्ताहरुकै शब्दलाई सापटी लिने हो भने यो नेतृत्व विकासको विश्वविद्यालय हो । सामान्य बुझाईमा जेसीजलाई सामाजिक संस्थाको रुपमा लिए पनि प्रत्यक्ष रुपमा समाज विकासप्रति समर्पित संस्था भने होइन । यो त केवल युवाहरुको व्यक्तित्व र नेतृत्वलाई निखार्ने संस्था हो । युवामा भएका प्रतिभाहरु पहिचान गर्दै प्रस्फुटन गर्नका लागि अवसर प्रदान गर्ने संस्था हो । अझ स्पष्ट रुपमा भन्ने हो भने व्यक्ति नै यसको मुख्य केन्द्र बिन्दु हो र क्षमता अभिवृद्धि गर्नु यसको मुख्य उद्देश्य हो ।

हिजो भारतको गोरखपुर जेसीजको मातृत्व लिदै स्थापना भएको नेपाल जेसीज, आजसम्म आइपुग्दा अधिराज्य भरी १७८ वटा शाखामा विस्तार भइसकेको छ । झापामा मात्रै जेसीजका १७ शाखा सक्रिय छन् । अर्जुनधारामा पनि जेसीज स्थापना गर्नुपर्छ भनेर आजभन्दा १३ वर्षअघि इन्दिवर खड्का, दिपीन राई, कुमार भट्टराई लगायतको टीम अघि सर्यो । फलतः सन् २०१२ मा अर्जुनधारा जेसीजको जन्म भयो । अर्जुनधारा जेसीजले अहिलेसम्म १२ जना अध्यक्ष पाइसकेको छ । त्यस्तै २०२४ का लागि नेपाल जेसीजको कार्यकारी उपाध्यक्षको रुपमा भीम कुँवरलाई अर्जुनधारा जेसीजले जन्माइसकेको छ । यसलाई अर्जुनधारा जेसीजले पटक–पटकको असफलतापछि प्राप्त भएको मीठो फलको रुपमा लिएको महशुस गरेको छु । यसो भनिरहँदा अर्जुनधारालाई मातृत्व प्रदान गर्ने वीरता जेसीजलाई नसम्झनै कुरै आउँदैन । शाखा दीर्घ रुपमा रहन्छ कि रहन्न भन्ने शंकाका बीच सन्तानलाई जन्म दिइरहँदा आज त्यही सन्तानले यो उचाइ प्राप्त गरिरहँदा वीरता जेसीजको छाती गर्वले ढपक्क फुलेकै होला भन्ने महशुस गरेको छु । साथै अर्जुनधारा जेसीजलाई भातृत्व प्रदान गरी ग्रामिण भेगका युवाहरुको नेतृत्व विकासमा अवसर दिएकोमा वीरता जेसीजलाई मनैदेखि नमन ।

वास्तवमा जेसीजले युवाहरुलाई क्षमता विकास गर्नका लागि विभिन्न अवसरहरु दिने गर्छ । समय–समयमा प्रदान गरिने तालिम, सेमिनारले युवाहरुलाई पूर्ण बनाउने हुँदा जेसीजसँग जोडिन युवाहरु लालयित नै हुन्छन् । यस्तै अर्जुनधारामा पनि खुदुनाबारी, बिर्तामोड लगायत नगरका अन्य वडाका युवाहरुको सहभागिता उस्तै देखिन्छ । अझ अर्जुनधारा वडा नं. ५ का युवाहरुको सहभागितालाई हेर्ने हो भने जेसीज वडाको रुपमा लिन सकिन्छ । जेसीजमा नेतृत्वकै कुरा गर्ने हो भने अर्जुनधारामा चार र वीरता जेसीजमा ५ गरी ९ अध्यक्ष यस वडाले प्राप्त गरिसकेको छ । अर्जुनधाराका लागि संस्थापक अध्यक्ष इन्दिवर खड्कासँगै भास्कर भट्टराई, प्रेम खड्का र वर्तमान अध्यक्षको रुपमा बसन्त बुढाथोकीलाई नेतृत्वमा पाएको हो । सबैले आ–आफ्नो कार्यकालमा उत्कृष्ट कामहरु गरेका थिए भने यस्तै वर्ष २४ का लागि निर्वाचित अध्यक्ष बुढाथोकीको योजना सुन्दा अझ उचाई लिने अनुमान छ । अर्जुनधारा जेसीजमा मात्र होइन वीरता जेसीजमा पनि अर्जुनधारा वडा नं. ५ का युवाहरुको बाक्लो उपस्थिति रहेको देखिन्छ । वीरता जेसीजका लागि राजेन्द्र थापा, राजेन्द्र चम्लगाई, प्रशान्त भण्डारी, किरण श्रेष्ठ र विशाल थापा गरी पाँच अध्यक्ष अर्जुनधारा–५ ले नै जन्माएको हो । वीरता जेसीजले पाएका अध्यक्ष मध्ये सम्भवतः अर्जुनधाराकै धेरै छन् । त्यसमा पनि अझ अर्जुनधारा–५ को । अर्जुनधारा जेसीज होस् या वीरता जेसीज विभिन्न समयमा विभिन्न पदमा रही काम गरेका र गर्दै आएका युवाहरुको संख्या पनि त्यतिकै छ । यतिका नेतृत्व जन्माइसकेको अर्जुनधारा वडा नं. ५ लाई सरसर्ती हेर्ने हो भने जेसीज अध्यक्षहरुको उर्भर थलो हो भन्दा फरक नपर्ला ।

व्यक्तित्व विकास गर्ने संस्थाको नेतृत्व सम्हाल्न अग्रपंक्तिमा रहेको यस वडाले भने त्यसको प्रतिफल कमै पाएको छ । जेसीज प्रत्यक्ष रुपमा सामाजिक काम गर्ने संस्था त होइन । तर, यसले जन्माएका व्यक्तित्व र नेतृत्वहरु चाँही पक्कै समाजकै उपज हुन् । आफ्नो थातथलोको उन्नतिका लागि जेसीज अभियानमा सरिक भईरहँदा प्राप्त भएको ज्ञान, सीप छर्न सक्नु एउटा लिडरको दायित्व हो । तर दुर्भाग्य त्यसो हुन सकिरहेको छैन । युवा विकृतिको सिकार भइरहेका छन् । पछिल्लो समय वडामा लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएको देखिन्छ भने बेचबिखन गर्नेहरुको संख्या पनि त्यतिकै छ । केही–केहीलाई प्रहरीले नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अगाडि बढाएको छ । यी त प्रतिनिधिमूलक समस्याहरुमात्र भए, यसदेखि बाहेक अन्य थुप्रै समस्याहरु छन् । जसले समाजलाई प्रत्यक्ष–परोक्ष रुपमा जगटेको छ । यी समस्याहरुको समाधानको लागि जेसीजले नेतृत्वले पनि सोच्न आवश्यक छ । नेपालीमा एउटा भनाइ छ, ‘एक युवा शिक्षित भए तीन पुस्ता शिक्षित हुन्छ’ । सो अनुरुप एक अनुशासित युवाले अर्को युवालाई सही बाटोमा डोहोर्याए विकृति रहीत समाज निर्माण हुनेछ । तसर्थ नेतृत्व हस्तान्तरणपछि प्राप्त ज्ञान आफूमा मात्रै सीमित नराखी समाजमा लगानी गर्न आवश्यक छ । समाजमा बेगरल्ती देखिएका विकृतिलाई समाधान गर्न वडा, नगरसँग समन्वयन गरी विभिन्न रचनात्मक कामहरु गर्दै समृद्ध र विकृति रहित समाजको निर्माण जुट्नुपर्छ । तबमात्र जेसीज र युवाहरुको नेतृत्व सम्हालेका अध्यक्षहरु बसेको वडा भन्ने भन्न सकिन्छ । जेसीज वडाको रुपमा विकास गर्न सकिन्छ ।