अर्जुनधारा सहकारीले धानको मूल्य तोक्यो « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधारा सहकारीले धानको मूल्य तोक्यो


यलम्वर टाइम्स
६ माघ २०८०, शनिबार ०२:२०

अर्जुनधारा । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था अर्जुनधाराले कृषकहरुबाट उत्पादित धानको समर्थन मूल्य कायम गर्दै खरीद गर्ने भएको छ ।

शुक्रबार अर्जुनधारा नगर कृषि शाखा, आर्थिक विकास समिति, उद्योग वाणिज्य संघ, संस्थाका वडा प्रतिनिधि र कृषकहरुको उपस्थितिमा छलफल तथा अन्तरक्रिया गर्दै खायन धान र उन्नत बीउ धानको समर्थन मूल्य तोक्दै खरीद गर्ने भएको हो ।

संस्थाका अध्यक्ष प्रत्युष रानाका अनुसार बीउबिजनका लागि रञ्जीत धानको प्रतिमन एक हजार ७ सय ४० रुपैयाँ, हर्दोनाथ–६ को प्रतिमन एक हजार ८ सय र राम धानको प्रतिमन एक हजार पाँच सय २० रुपैयाँ तोकिएको छ ।

त्यस्तै बीबी ११, गरिमा सम्भा मंसुली, जिरा मसिनो र लल्का/कालो नुनिया धानको प्रतिमन क्रमशः एक हजार पाँच सय २०, एक हजार ७ सय ४०, एक हजार ८ सय ५०, एक हजार ८ सय ५० र ३ हजार ७ सय रुपैयाँ कायम गरिएको बताए । खायनतर्फ भने रञ्जीत धानको प्रतिमन एक हजार ६ सय ४०, लल्का बास्मतिको प्रतिमन तीन हजार ५ सयका दरले कृषकहरुबाट खरीद गरिनेछ ।

नगरलाई कृषिमा आत्मानिर्भर बनाउने उद्देश्यका साथ काम गर्दै आएको संस्थाका उपाध्यक्ष छत्र पौडेलले बताए । उनले कृषकहरुको सहजताका लागि समयमै उन्नत जातको बीउ विषाद आधा मूल्यमा उपलब्ध गराउँदै आएको बताए । उनले कृषि प्राविधिकहरुबाट बेला–बेला अनुगमन गर्दै उचित परामर्श दिँदै आएको पनि सुनाए ।

संस्थाले बीज वृद्धि कार्यक्रम अन्तर्गत कृषकसँगको समन्वयमा अर्जुनधारा वडा नं. १, ४, ५, ७, ९, १० र ११ मा गरी करिब ९० विगाह क्षेत्रफलमा धान उत्पादन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष प्रत्युस रानाको सभापतित्वमा भएको अन्तरक्रियामा कृषि शाखाकी एञ्जिला बेडारी, आर्थिक विकास समितिका संयोजक अस्मिता नेपाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष सूर्य लोहर लगायतको उपस्थिति रहेको कुलचन्द्र गौतमले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको छ ।