वैज्ञानिक कृषि उत्पादन सम्बन्धि छलफल गर्न नगर प्रमुख गोम्देन कोरिया जादै « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

वैज्ञानिक कृषि उत्पादन सम्बन्धि छलफल गर्न नगर प्रमुख गोम्देन कोरिया जादै


यलम्वर टाइम्स
७ माघ २०८०, आईतवार ०७:०९

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन कृषि सम्बन्धि छलफलका लागि दक्षिण कोरिया जाने भएका छन् ।

कृषि क्षेत्रबाटै कोरिया संसारकै सम्पन्न राष्ट्र हुन पुगेको हुँदा त्यहाँको अनुभव, कृषिमा प्रयोग हुने औजार र खेती गर्ने विधिबारे बुझ्न र भगिनी सम्बन्ध प्रगाढ बनाउनका लागि माघ १५ गते कोरिया जान लागेको सञ्चार संयोजक आकाश खतिवडाले जानकारी दिए ।

कोरिया भ्रमणकै क्रममा अर्जुनधाराबाट रोजगारको सिलसिलामा कोरिया पुगेका युवाहरुसँग प्रमुख गोम्देनले भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नगरलाई कृषिमा आत्मानिर्भर बनाउँदै समृद्ध बनाउने रणनीति कस्तो छ ? कोरियाका स्थानीय सरकारको काम, कर्तव्य कस्तो छ ? भन्ने विषयमा भ्रमण केन्द्रीत हुने नगरपालिकाले बताएको छ ।

नगर प्रमुख गोम्देनसँगै सञ्चार संयोजक खतिवडा, सभामुखको स्वकीय सल्लाहकार केशवराज ढुंगेल लगायत कोरिया प्रस्थान गर्ने छन् । अर्जुनधारा कृषिको उर्भर थलो भएर पनि यस क्षेत्रका जनता कृषिबाट अगाडि बढ्न नसकेको अवस्थामा त्यसलाई भ्रमणपछि उत्प्रेरणा लिने अनुमान रहेको छ ।

जति कृषि समूह छन्, भने जस्तो लाभांश प्राप्त नगर्दा कोरिया भ्रमणपछि कृषकहरुसँग नगर प्रमुखको साक्षात्कार रहने जनाइएको छ । भ्रमण माघ १५ देखि २२ गतेसम्म रहनेछ ।