सब्जीमा पनि भातरकै भर « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सब्जीमा पनि भातरकै भर


यलम्वर टाइम्स
८ माघ २०८०, सोमबार ०८:३३

नेपाली समाज आज पनि भान्सामा प्रयोग हुने सागसब्जीका लागि छिमेकी राष्ट्र भारतकै भरमा निर्भर हुनुपर्ने अवस्था छ । त्यसैले भारतमा उत्पादित प्याज, लसुन, बन्दा गोभी, फुल गोभी, बैगुन, खोर्सानी महंगो दरमा किन्न बाध्य भएका छौं । भारतीय सब्जी नेपालमा भित्रदा सस्तो भन्सार हुँदाहुँदै पनि डबल मूल्य लगानुपरेको अवस्था छ । छिमेकी भारतको पानीट्यांकीका एक व्यापारी साइकलमा सब्जी व्यापार गर्न झापाका विभिन्न बजारमा आउँदा डबल नाफा आर्जन गरेर जाने गरेको छ । तर नेपाली कृषकहरुले उत्पादन गरेर बजार पुर्याइनसक्दा मूल्य ह्वात्तै घटेपछि किसानहरु हैरान हुन पुगेको बताइन्छ ।

यसरी उत्पादनमा ढिलो हुँदा पनि नेपाली किसानहरु निरास हुनपुगेका हुन् भन्ने लाग्छ । नेपालका कृषि कार्यालय तथा कृषि विज्ञहरुले किसानलाई चाँडो उत्पादन गर्नका लागि आवश्यक सरसल्लाह र उपकरणसँगै बीउविजन सामग्री प्रदान गरे भारतबाट उत्पादन गरिएको सब्जीमा निर्भर हुनुपर्ने थिएन र नेपाली जनताले महंगोमा विषादीयुक्त सब्जी सेवनबाट बच्थे ।

नेपाल कृषि प्रधान देश हो । यो शब्द नारामा मात्र सीमित रहेको कृषकहरुको आरोप छ । बेमौसमी सब्जी उत्पादनका लागि प्रशस्त बजेट हुन्छ । तर, सीमित मान्छेहरुका आफन्तहरु मात्र उक्त तालिममा सहभागि हुन्छन् । वास्तविक गाउँका कृषकहरुको उपस्थिति भने न्यून हुन्छ । त्यतिमात्र होइन, आवश्यक बीउविजनका लागि सरकारसँग लड्डी गर्नुपर्ने जस्ता कार्यले पनि नेपालमा चाँडो सब्जी उत्पादन हुन नसकेको हो । यस्तो कार्यलाई सरकारले बेलैमा चासो र कार्यान्वयन पक्षमा लागू गरे भारतीय सब्जीमा भरपर्नु पर्ने अवस्था थिएन । त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।