अभियानले माओवादी एक स्टेप अगाडी « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अभियानले माओवादी एक स्टेप अगाडी


यलम्वर टाइम्स
१० माघ २०८०, बुधबार ०९:५२

माई । नेकपा माओवादी केन्द्रको माई नगरपालिका अन्तर्गत भएको बृहत छलफलमा अभियानले जनताको भावना बुझ्न सफल भएको निचोड निकालेको छ ।

माओवादी केन्द्रले चालेको अभियानमा नेता तथा कार्यकर्तासँगै प्रेस सेन्टरमा आवद्ध पत्रकारहरु जनताका घरआँगनमा पुग्दै जनताको दुःख, कष्ट बुझेको हुँदा जनताको भावना बुझेको हो ।

‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ अभियान जनमुखी बनाउँदै जाने र स्थानीयस्तरमा विकासका काममा लाग्दै खबरदारी गर्दै जाने जस्ता विषयमा छलफल भएको थियो ।

छलफलमा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धिरेन शर्मा ‘रमण’ले अभियानले पार्टीलाई एक स्टेप उठाएको बताउँदै यो अभियानले पुराना कार्यकर्तालाई चलायमान र नयाँ आगन्तुक कार्यकर्तासँगको सामिप्यता बढेको बताए ।

कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य हरिकुमार रानाले कार्यकर्ताहरुमाझ प्रचण्ड सरकारले गरेको सन्देशसँगै एकता र धैर्यता जरुरी भएको बताए । रानाले देश र जनताको भावना माओवादीले नै सम्बोधन गर्ने विश्वास दिलाए ।

इलाम पार्टी संयोजक विजय खम्बूले अभियानसँगै पालिकाको भावी सरकारमा कसरी जाने, को–को जाने भन्ने नेतृत्व खोज्न जरुरी रहेको बताए ।

माई अध्यक्ष भक्त लुङ्गेलीको सभापतित्वमा सम्पन्न सभामा प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य दिपेन्द्रकुमार राई, प्रदेश सदस्य प्रभास शर्मा लगायतले पार्टीको अवस्था र गर्नुपर्ने कामका बारे धारणा राखेका थिए ।

भेलामा टोल कमिटीका सदस्य लगायतले वडा र टोलका गतिविधि राखेका थिए । सचिव मदन लोक्तामले सञ्चालन गरेको भेलामा माई नगरपालिकामा पार्टीको स्थान बढ्दै गएको निचोड निकालेका थिए ।