झापा गोल्डकप ऐतिहासिक संस्था बनोस् « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

झापा गोल्डकप ऐतिहासिक संस्था बनोस्


यलम्वर टाइम्स
१७ माघ २०८०, बुधबार ०७:३८

पूर्वी क्षेत्रकै प्रतिष्ठित तथा ऐतिहासिक खेलको रुपमा कहलिएको झापा गोल्डकपको छैठौं संस्करण हुने भएपछि झापा फुटबलमय बन्ने भएको छ । सम्पूर्ण खेल प्रेमी तथा झापालीहरुको सान बनेको झापा गोल्डकपको पारदर्शी, निष्पक्षताले नै आम दर्शकहरुको मन जित्न सफल भएको छ भने झापाका लागि मात्र नभई देश नमूना बनेको छ । झापा–११ का खेलाडीलाई स्थापित गराउन र खेल क्षेत्रमा आउने नयाँ युवाहरुलाई उत्प्रेरणा भर्ने यसको मुख्य लक्ष्य रहेको आयोजकले बताएको छ । विशेषतः झापालाई फुटबलको हब बनाउँदै खेलाडी उत्पादन गर्ने र झापाको नाम उच्च राख्ने उद्देश्यले सुरु भएको झापा गोल्डकप आफैमा सजिलो पाटो भने होइन । झापा गोल्डकपलाई स्थापित गराउन यहाँका अग्रज, दाता, समाजसेवी, बुद्धिजीवि, पत्रकारहरु र आम दर्शकहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

गोल्डकपको स्थापना गर्दै सम्पन्न गर्नु ठूलो विषय नहोला, तर त्यसलाई निरन्तरता दिन सक्नु चाँही सोचनीय कुरा हो । आनासुकी सरसहयोगबाटै सुरु भएको झापा गोल्डकप आज छैठौं संस्करण हुन लाग्दा पनि सरसहयोगबाटै सम्पन्न हुने देखिन्छ । गोल्डकपका लागि यसरी सहयोग जुट्नु र आयोजक समिति पनि तादरुकताका साथ खटिनु यो फुटबल प्रतिकै उदारता हो । सहयोग आगामी दिनहरुमा पनि पाइएला । हुन त कोरोना महामारीले अर्थतन्त्र डामाडोल भएको अवस्थामा पनि झापा गोल्डकपलाई सहयोग प्राप्त भएकै हो । त्यो बेला महेन्द्र गिरी, बिनोद बस्नेत, भगीरथ आले ‘मामा’, जलकुमार गुरु जस्ता व्यक्तित्वहरुको नेतृत्वबाट भव्य रुपमा सम्पन्न भएकै हो । तर, यसो भनिरहँदा ढुक्कले बस्ने दिन भने छैन । तसर्थ झापा गोल्डकपलाई दीर्घकालीन रुपमा स्थापित गराउन दीगो स्रोत खोज्न आवश्यक देखिन्छ । यस्तै केही दिनअघि मात्र झापा गोल्डकप समितिले पत्रकार सम्मेलन गर्दै गोल्डकप सम्पन्न गर्न सञ्चारकर्मीको अहम् भूमिका बताएको थियो । सञ्चारकर्मीकै बलले छैठौं संस्करण सम्पन्न गरी आर्थिक जुटाउन पनि सजिलो भएको बताएका छन् । विशेष गरी सञ्चार क्षेत्रमा पनि फुटबल भनेपछि पछि नहट्ने पत्रकारहरुको संख्या भएकै कारणले पनि फुटबलमा पत्रकारहरुको लगाब बढेको हो । झापा गोल्डकपले पनि सञ्चारकर्मीहरुलाई गरिने सद्भाव अझ दर्बिलो बनाउनुपर्ने देखिन्छ ।

गोल्डकपले पारदर्शी रुपमा पूर्व खेलाडीहरुलाई सम्मान गरेको खेल मार्फत झापालाई चिनाउन मद्दत पुर्याएको त्यतिमात्र होइन, अन्य क्षेत्रमा गोल खेल्न जाँदा झापा ११ टिमलाई हौसला प्रदान गरेको हुँदा सबैको नजरमा झापा गोल्डकप पर्न गयो । विधि, विधान जे जस्तो भए पनि अब झापा गोल्डकप स्थायीत्व हुनका लागि निश्चित आम्दानीको स्रोत बनाएर अगाडि बढ्नु पर्ने हुन्छ । चन्दा, चपेटा र सहयोगले झापा गोल्डकपलाई दीर्घकालसम्म पुर्याउन कठिन हुन्छ । सोचेको अनुसार नहुन पनि सक्छ । त्यसकारण दीगो आम्दानीको स्रोतलाई निर्माण गरी अगाडि बढेको खण्डमा झापा गोल्डकप ऐतिहासिक संस्था बन्न सक्छ । पछि आउने जो कोही समितिलाई सजिलो बन्ने छ । त्यसतर्फ ध्यान पुगोस् ।