‘सेमेःवा’को बिर्तामोडमा विशेष प्रदर्शन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

‘सेमेःवा’को बिर्तामोडमा विशेष प्रदर्शन


यलम्वर टाइम्स
१८ माघ २०८०, बिहीबार १०:१२

बिर्तामोड । दिलीप फुरुम्बोको निर्देशन तथा कथामा बनेको लिम्बू संस्कृतिमा आधारित नेपाली फिल्म ‘सेमेःवा’ (सिफ्यु चरा)को बिर्तामोडमा विशेष प्रदर्शन गरिएको छ ।

बिहीबार बिर्तामोड स्थित पाथीभरा सिने प्लाजामा कलाकार तथा याक्थुङ लिम्बूहरुको उपस्थितिमा पहिलो पटक प्रदर्शन गरिएको हो । लिम्बू जनमानसमा सेमेःवा (सिफ्यु चरा)ले दिने शुभ, अशुभ संकेतलाई फिल्ममार्फत देखाउन खोजिएको बताइएको छ ।

फिल्मका निर्देशक फुरुम्बोले फिल्मका केही कथा सुनाउँदै लिम्बू समुदायमा सेमेःवाको कथा किन आयो भन्ने कुरालाई चलचित्रले उठाउन खोजेको बताए ।

उनका अनुसार धेरै पहिले एकागाउँमा आमाछोरी हुन्छन् । एक दिन आमाले छोरीलाई च्याउ सुकाउँदै हेर्न लगाएर जंगल गएकी हुन्छिन् । फर्केर आउँदा च्याउ थोरै भएको हुन्छ र रिसले कुट्दा छोरीको मृत्यु हुन्छ । मृत छोरीको लासलाई खोलामा फ्याँक्छिन् र आफू पनि खोलामा हामफाल्छिन् । त्यसपछि सेमेःवा किन आयो भन्ने कथा सुरु हुन्छ ।

पूर्वी लिम्बूवानी भूमि पाँचथरको हिलिहाङ, लेब्रेकुटी, सिलौटी, साधुटार लगायतका ऐतिहासिक स्थानहरुमा छायांकन गरिएको ‘सेमेःवा’ले किराँत लिम्बूहरुको संस्कारलाई झल्काउँछ ।

यल्लिउड फिल्मस् प्रा.लि.को व्यानरमा फुरुम्बो आफैले निर्माण गरेको फिल्ममा रुद्र पाहिम लिम्बू, पवित्रा तेम्बे लिम्बू, कोपिला तेम्बे लिम्बू, अम्बर योङहाङ, हिमाल लेछर्बो लगायतको अभिनय रहेको छ ।

४३ लाखको लागतमा बनेको सेमेःवाको अन्य स्थानहरुमा पनि विशेष प्रदर्शन गरिने बताइएको छ भने हलहरुमा समेत प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक फुरुम्बोले बताए ।

फिल्मको विशेष प्रदर्शन गर्नुअघि समाजसेवी मेघेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड वडा नं. ५ का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायतले मन्तव्य राख्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कलाकारहरुसँगै गंगादेवी लिङ्देन, वडाध्यक्ष राहुल शर्मा, गंगा कन्दङ्वा, सावित्रा लाबुङ, दुर्गा इङ्नाम, चन्द्रलाल थेवे, कलाकार शिला उप्रेती, मिस लिम्बू २०२३ हिनुमा तायङ लगायतको आतिथ्य रहेको थियो ।