नेता बुढाथोकीको निधनले शक्ति बिहिनहरुले आड लाग्ने भित्तो ढलेको आभास « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

नेता बुढाथोकीको निधनले शक्ति बिहिनहरुले आड लाग्ने भित्तो ढलेको आभास


यलम्वर टाइम्स
२३ माघ २०८०, मंगलवार ०७:४३

अर्जुनधारा । हाँक्की र प्रस्ट स्वाभावका व्यक्तिका रुपमा परिचित नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधन भएको छ ।

क्यान्सर जस्तो रोगसँग जुध्दै आएका बुढाथोकीको सोमबार राती ११ बजे उपचारको क्रममा बिराटनगरमा निधन भएको थियो ।

१५ दिनअघि शनिश्चरे माविको प्राङ्गणमा राष्ट्रपति रनिङशिल प्रतियोगिता उद्घाटन गर्दै अब म गाउँमा नै बसेर सेवा गर्ने हुँ, के गर्नुपर्छ, कस्तो गर्नुपर्छ म तयार छु भनी उत्साहका साथ मन्तव्य राख्ने बुढाथोकी एकाएक स्वर्गीयवास भएको खबरले स्तब्ध भएको यस क्षेत्रका अभिभावकले बताए ।

२००१ असोज २२ गते इलाममा जन्मिएका नेता नेपाली कांग्रेस भएर धेरै ठाउँमा विकासे काम गरेको हुँदा उनलाई विकासे नेताको रुपमा पनि हेरिन्थ्यो ।

पञ्चायती कालखण्डमा शनिश्चरे गाविसको प्रधानपञ्च, जिल्ला विकास समितिको सभापति भएर काम गरिसकेका बुढाथोकी जो कोहीले सजिलैसँग समस्या राख्न आउँदा काम गरिदिएको हुँदा आफ्नो निर्वाचन क्षेत्रलाई छाडेर अन्य क्षेत्रबाट उठ्दा पनि सजिलै विजय हाँसिल गर्न सक्ने व्यक्तिको रुपमा थिए ।

२०३६ सालमा हात्तीले झापा जिल्लालाई दुःख दिएको कारण हात्ती धपाउ अभियानको अग्र भागमा उभिएर एक महिना अभियान चलाएको हुँदा उनलाई हाँक्की स्वाभावका सेता बाघ बनेर पनि चिनिन्छ ।

एक वर्षअघि कृष्ण धरावासीले उनको जीवनी पुस्तकमा उतारेपछि पुस्तक नियाल्दै ‘जीवनमा के–के गरिएछ, यो पुस्तकले पो सम्झना दिलायो’ भनी यस अनलाइनका सम्वाददातासँग गफिएका थिए ।
पञ्चायतकालमा पनि जलस्रोत राज्यमन्त्री हुँदा झापाका धेरै खोलानालामा तटबन्धन गरी जनतालाई बचाएका कथाहरु उनका आफन्तहरुले भन्ने गर्थे ।

उनी बितेपछि स्थानीय लेखक कुमार भट्टराईले आफ्नो फेसबुकमा शक्ति बिहिनहरुले आड लाग्ने भित्तो ढलेको आभास भएको प्रतिक्रिया दिएका छन् ।

बिहान ८ बजे घर ल्याइपुर्याएका बुढाथोकीको पार्थीव शरीर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा राखि अन्तिम बिदाई गरिएको छ ।

उनको पार्थिव शरीरमा थुप्रै आफन्तजन, पार्टी शुभचिन्तक, अन्य राजनीतिक दल र सञ्चारकर्मीहरुले फूलअविरले अन्तिम बिदाई गरेका थिए ।

उनको आजै हिन्दु सनातनी परम्परा अनुसार कनकाई आर्यघाटमा दाहसंस्कार गरिने भएको बताइएको छ ।

स्व. बुढाथोकीको श्रीमती गीता र दुई छोरा अनन्द, शिशिर, दुई छोरी ममता, कविता रहेका छन् ।