गठबन्धनमा केही धोका भए पनि कांग्रेसलाई समातेर जनस्तरको काम पूरा गर्नुपर्नेः मौसम « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

गठबन्धनमा केही धोका भए पनि कांग्रेसलाई समातेर जनस्तरको काम पूरा गर्नुपर्नेः मौसम


यलम्वर टाइम्स
२३ माघ २०८०, मंगलवार ०७:५८

बिर्तामोड । नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्बो मौसमले सरकारले गरेको काम जनस्तरसम्म पुर्याउनुपर्ने बताएका छन् ।

पार्टी झापा जिल्लाको छैठौं पूर्ण बैठक तथा विधान मस्यौदा छलफलमा प्रमुख अतिथि समेत रहेका आङ्बोले पार्टीले उठाएका एजेण्डा मध्ये भ्रष्टाचारीहरुलाई पाखा लगाउनुपर्ने प्रमुख भएको हुँदा सरकारमा उभिए लगत्तै भ्रष्टाचारी, कमिशन खोरीहरु खोरमा पुगेको अवस्था जनतामाझ जानकारी गराउनुपर्ने बताए ।

गठबन्धनबाट सरकार सञ्चालनमा पार्टी पुगे पनि कतिपय ठाउँमा गठबन्धन भत्किदै गएको हुँदा त्यसप्रति पार्टी सचेत भएको बताउँदै कांग्रेसलाई नै समातेर परिवर्तनका मुद्दा र जनताले चाहेको गाँस, बास, कपास र स्वास्थ्य शिक्षामा विशेष ध्यान दिनुपर्ने भएको हुँदा सरकार त्यसतर्फ उन्मुख भएको बताए ।

उनले अभियानबाट पार्टी निखारिदै आएको संकेत सबैलाई भएको बताउँदै संगठन विस्तारमा थोरै बल गरे पार्टी माथिल्लो स्तरमा जान सक्ने प्रतिक्रिया दिए ।

कतिपय विधानले पनि पार्टीलाई अगाडि बढाउन नसकिएको हो कि भन्ने भनाई छ । यो पटक फागुनमा हुने विद्यान सम्मेलनले सबैलाई अट्ने, सबै रमाउने र संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त गरिने अधिकार खुलाउने बताए ।

प्रदेश अध्यक्ष मिङ्सोले अभियानमा सहभागि नभएकाहरुलाई पद घटाएर तल्लो स्तरमा खटाउने बताउँदै प्रदेश नं. १ बिगतभन्दा चलायमान भएको बताए ।

झापा अध्यक्ष राजु आचार्य ‘अग्नी’को सभापतित्वमा भएको कार्यक्रममा ८ वटा समूह मिलाई ३ घण्टा छलफलपछि पार्टीको विद्यान संशोधनका सुझाव पेश गरिएको थियो ।

बैठकमा केन्द्रीय सदस्य सरु, हरिकुमार राना, झलकसिंह दर्लामी, ज्योतिसिंह दर्लामी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

समूहगत पेश गरिएको सुझावलाई भवानी दंगाल, दिपीन राई, एनपी वनेमले लिपीबद्ध गरी प्रदेश र संघलाई पेश गर्ने पार्टी जिल्ला अध्यक्ष अग्नीले बताए ।