अर्जुनधारा माविको ६४ औं वार्षिकोत्सव सम्पन्न « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

अर्जुनधारा माविको ६४ औं वार्षिकोत्सव सम्पन्न


यलम्वर टाइम्स
२५ माघ २०८०, बिहीबार ०९:५२

अर्जुनधारा । अर्जुनधारा–४ भाङबारी स्थित अर्जुनधारा माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकदेव खनालको सभापतित्व तथा वडा नं. ४ का वडाध्यक्ष अम्मरबहादुर कटुवालको प्रमुख आतिथ्यमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक वेदमाया निरौलाले विद्यालयको गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका अध्ययन गराउँदै आएका शिक्षकद्वयलाई बिदाई गरिएको थियो ।

अस्थायी शिक्षकको रुपमा पठनपाठन गराउँदै आएका शिक्षकद्वय उर्मिलादेवी दाहाल र भिमराज बानियाँ स्थायी भएसँगै अन्यत्रै जानुपर्ने भएकोले उनीहरुलाई बिदाई गरिएको प्रअ निरौलाले जानकारी दिइन् ।

वार्षिकोत्सवकै अवसरमा विद्यालयले वर्ष उत्कृष्ठ शिक्षकको रुपमा राधिकादेवी थापालाई पनि सम्मान गरेको छ । त्यस्तै उत्कृष्ठ विद्यालय कर्मचारीको रुपमा कुमार थापालाई सम्मान गरिएको शिक्षक कमलकान्त पौडेलले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका अक्षयकोष दाता बमबहादुर कार्की, शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहन ओली, शिक्षक अभिभावक संघका संयोजक खेमबहादुर काफ्ले, शिवनारायण आधारभूत विद्यालयका प्रअ लक्ष्मीप्रसाद खतिवडा, पूर्व विद्यार्थी दिपक ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका सहायक प्रअ मायादेवी कार्कीले स्वागत गरेको कार्यक्रममा लेखा समितिका संयोजक प्रेम कार्कीले विद्यालयको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै विद्यार्थीहरुद्वारा पीटी प्रदर्शन, कराँते डेमोस्ट्रेशन गरिएको कार्यक्रम सञ्चालक शिक्षक पौडेलले जानकारी दिए ।