बुढाथोकीको निधनले अभिभावक गुमेको महशुस « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बुढाथोकीको निधनले अभिभावक गुमेको महशुस


यलम्वर टाइम्स
२७ माघ २०८०, शनिबार ०३:१६

मान्छेका गुणकारी काम बढी भयो भने त्यस्ता मान्छे सबैका प्यारा हुँदा रहेछन् । यस्तै गुणकारी काम गरेर प्यारा हुन पुगेका कारण यो धर्तीमा अवसानपछि पनि सयौं मलामीको उपस्थितिसँगै सहभागिहरुको आँखा रसाएको देखिन्थ्यो, नेता केशवकुमार बुढाथोकीको निधनमा । क्यान्सर रोगबाट पीडित हुँदाहुँदै पनि जनताको फायल बोकेर सिंहदरबार धाउने, सहयोग माग्न जाँदा रित्तो हात नफर्काउने, कसैलाई भनी नबिझाउने, अग्ला, हसिला स्वाभावका बुढाथोकी आफ्नो ८० वर्षे दौडानमा पनि सम्मान र आदार सबैतिरबाट पाइरहे । आज यो धर्तीमा केशवकुमार बुढाथोकी नभएपछि विषेशतः अर्जुनधाराले अभिभावक गुमाएको महशुस गरेका छन् । उनले गरेको कर्मलाई सम्मान गर्दै अर्जुनधारा नगरपालिकाले शोक बिदा पनि दिन पुग्यो ।

बुढाथोकीले अध्ययनपछिको बाँकी जीवन राजनीतिमार्फत जनताको पक्षमा नै काम गरे । पञ्चायतकालमा जलस्रोत राज्य मन्त्री भएर झापाका नदीले दिएको दुःखलाई तटबन्धन गरी बगरबासीहरुको अनुहार उज्यालो बनाए । जिल्ला विकास समितिमा रहेर मुआब्जा वितरणदेखि गरिबीको रेखामुनी रहेकाहरुका लागि घर निर्माण, पोषण खाना साथै शिक्षामा पनि उनले योगदान पुर्याए । पञ्चायतपछि बहुदलीय व्यवस्थामा पनि जनआकांक्षाका काम अन्तर्गत बाटोघाटो, पुल मात्र होइन रोजगारीदेखि वैदेशिक रोजगारमा पनि उनको लगनशीलता रहिरह्यो । उनको यो खटाई जनताले गुणकारी भएको महशुस गरे ।

देशमा माओवादी संक्रमणकालिन समयमा धेरै माओवादी कार्यकर्ताहरुलाई उनले बचाएको सन्देश छ । राजनीतिक व्यक्तिमा हुने गुण नेता बुढाथोकीमा कम थिएन । झापाको जुनसुकै निर्वाचन क्षेत्रमा उठ्दा पनि पराजयको शिकार उनले भोग्नु परेन । उनका विषयमा जति कलम चलाए पनि कमै हुने उनको प्रकाशित दस्तावेजमा उल्लेख छ । त्यसैले आज तमाम् भरोसाका आढ ढलेपछि नरमाइलो महशुस भएको राजनीतिककर्मीहरु बताउँछन् । झापामा थुप्रै नेताहरु छन्, तर बुढाथोकी जस्तो गुण भएको कम भएको उनको मलामी सहभागिहरुले गुगुनाए । को आदिवासी जनजाति, को पहाडे, मधेसी, को ब्राम्हण, दलित सबैको ढुकढुकी भएको कारण यस्ता निष्ठावान नेता अब झापाले पाउँछ कि पाउँदैन यो पेचिलो प्रश्न झापावासीमा छ । चाहे जे होस् शरीर जीवित रहँदा नेता बुढाथोकीले गरेको कर्म आम जनमानसका लागि राम्रो भएकै कारण नेता बुढाथोकी प्रति हार्दिक श्रद्धाञ्जली । स्व. बुढाथोकीका आफन्तजनहरु प्रति हार्दिक समवेदना ।