शनिश्चरे–बिर्तामोड बाटो बन्द, सरोकारवालाहरु किन मौन ? « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शनिश्चरे–बिर्तामोड बाटो बन्द, सरोकारवालाहरु किन मौन ?


यलम्वर टाइम्स
२८ माघ २०८०, आईतवार १०:०७

अर्जुनधारा । विकासको गतिमा गाउँ वा वडा दौडिदै गए पनि शनिश्चरे–बिर्तामोड सडक खण्ड स्थानीय जनताले अवरुद्ध गर्दा सरकारको कुनै प्रतिक्रिया आउन सकेको छैन ।

चारआली इलाम बीचको मेची राजमार्ग बन्नुभन्दा पहिले नै शनिश्चरे खुदुनाबारी हुँदै इलाम जाने बाटो खनिएको थियो । इलाम पुग्ने छोटो दूरी भएकाले बिर्तामोड शनिश्चरे सडक खण्ड सबैको रोजाईमा पर्ने गथ्र्यो । तर आज उक्त सडकमा कालोपत्रेसँगै फराकिलो सडक नबन्दा जनताले बाटो अवरोध गर्न पुगेका छन् । यस विषयमा सरकार भने मौन बसेको छ ।

शनिश्चरे पूर्वकै पुरानो बजार हो । त्यतिमात्र होइन पूर्वको पशुपतिनाथ मन्दिर अर्जुनधारा जलेश्वर धाम पनि यही क्षेत्रमा पर्छ । माई, माङ्सेबुङ र इलाम बजार जानका लागि छोटो दूरीको बाटोको रुपमा यही बाटोको प्रयोग भएको छ ।

अर्कोतर्फ पूर्व मानीयन पूर्व मुख्यमन्त्री, राजनैतिक अगुवा र सचेत नागरिक पनि अर्जुनधारामै भेटिन्छन् । विकासको मेरुदण्ड खोलाजन्य सामग्री पनि प्रशस्त अर्जुनधारामा नै पाइन्छ ।

विरिङ र टाङटिङको सामग्री अरु पालिकाको ठूलाठूला सडक वा भौतिक निर्माणका लागि प्रयोग भइसक्दा पनि बिर्तामोड–शनिश्चरे बीचको ५ किलोमिटरको सडक नबन्नु दलगत स्वार्थको राजनैतिक बैमानी हुनुपर्छ कि त ठेक्केदारले दललाई विश्वास गर्न छाडेको हुनुपर्छ । होइन भने वर्षदेखि टालटुले ढंगबाट चल्दै आएको सडक किन बन्न सक्दैन ?

प्रत्येक आम निर्वाचन होस् या प्रदेश तथा स्थानीय तहको निर्वाचन होस्, बिर्तामोड–शनिश्चरे सडक खण्ड नेताहरुको भोट साट्ने आश्रय बनेको छ । कम्युनिष्ट नेता सीपी मैनालीदेखि एमाले अध्यक्ष केपी ओलीसम्मले यही क्षेत्रको मत प्राप्त गरी सदनमा पुगेको इतिहास छ ।

परिवर्तनको सिलसिलामा २८ साल हत्याकाण्डदेखि ५ जना शहीदहरुले रगत बगाएको स्थान पुग्न पनि यही सडक प्रयोग गरिन्छ । विकासे नेताको उपनामले परिचित, उद्धव थापा, प्रेम गिरी, हरिकुमार राना, बीरमणि ढकाल र पछिल्लो पुस्ताका युवा नेता बलदेवसिंह गोम्देन, हेमराज खरेल र जीतेस योञ्जन नारद दुःखी, प्रेमसागर सापकोटाको घर पुग्ने सडक पनि यही प्रयोग गरिन्छ रै पनि यो सडक नबन्दा उल्लेखित विकासे नेताहरुलाई बिग्रेको सडकले कुरी–कुरी गरेको आभास भएको देखिन्छ ।

वर्षौंदेखि टेण्डर वा सडक बन्ने छ भन्दै जनतालाई आश्वासन दिइरहेको र सडक नबनिरहेको हुँदा यस क्षेत्रका जनताले स्वतःस्फूर्त नेताहरुको भनाईलाई अविश्वास गर्दै बिर्तामोड–शनिश्चरे सडक अवरुद्ध गरेका छन् । एक त सडक कोट्याएर छाडिएको छ ।

धुलोले सडक छेउछाउका बालबालिका, वृद्धहरुलाई असर पुर्याएको छ भने सो सडकमा दैनिक यात्रा गर्ने यात्रुहरु पनि हैरान देखिन्छन् । यातायातका साधन पनि सोही बाटो प्रयोग गर्दा पीडित भएको सवारी चालकहरुको भनाई छ ।