देउवाले गरे स्व. बुढाथोकीको प्रशंसा, कांग्रेस नगर समितिले दियो बिर्तामोड–शनिश्चरे बाटो निर्माणका लागि ज्ञापनपत्र « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

देउवाले गरे स्व. बुढाथोकीको प्रशंसा, कांग्रेस नगर समितिले दियो बिर्तामोड–शनिश्चरे बाटो निर्माणका लागि ज्ञापनपत्र


यलम्वर टाइम्स
२८ माघ २०८०, आईतवार १०:५८

अर्जुनधारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिर्तामोड–शनिश्चरे खण्डको बाटो अवरोध भएपछि चारपानेको बाटोलाई प्रयोग गर्दै स्वर्गीय केशवकुमार बुढाथोकीको घरमा समवेदना प्रकट गर्न आइपुगेका थिए ।

उनीसँगै अर्थमन्त्री रामशरण महत, भिष्मराज आङ्दम्बे, निवर्तमान मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री केदार कार्की, भर्खरै निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला पनि सहभागि थिए ।

अर्जुनधारा–८ स्थायी घर भएका बुढाथोकीको ६ दिन अघि ८० वर्षको उमेरमा निधन भएको थियो ।

उनको निधनप्रति विभिन्न संघसंस्था र राजनीतिक दल तथा नेपाली कांग्रेस लगायतले समवेदना प्रकट गर्दै आएका थिए ।

आईतबार राजधानीबाट ठूलै टिम समवेदना प्रकट गर्न आउँदा उपस्थित जिल्लावासी कांग्रेस कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो ।

समवेदना प्रकट गर्दै सभापति देउवाले निष्ठावान र विकास प्रेमी नेता बुढाथोकी भएको हुँदा उनले गरेको कर्म र कामलाई कांग्रेसले सदैव सम्मान गर्ने बताए ।

पार्टी झापा सभापति देउमान थेवेको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा कांग्रेसको भातृ संगठनदेखि लिएर वडासम्मले प्रटक गरेको समवेदना सचिव कृष्ण हुमागाईले वाचन गरेका थिए ।

समवेदना ग्रहण गर्दै स्व. बुढाथोकीका भाई सुदर्शन बुढाथोकीले परिवारकोतर्फबाट कांग्रेसलाई सदैव शीरमा राखेर अगाडि बढ्ने बताउँदै दाजुले गरेको योगदानप्रति पार्टीले सम्झनुपर्ने बताए ।

समवेदना कार्यक्रमपछि नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले सभापति देउवा र अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाउँदै बिर्तामोड–शनिश्चरे खण्डको बाटो अवरोध हुँदा सरकार मौन र सरोकारवालाहरु चुपचाप बस्दा अर्जुनधाराको अनुहार उज्यालो नभएको स्मरण गराउँदै बाटो चाँडो निर्माण गर्नका लागि पहल थालिदिन आग्रह गरेका थिए ।

उक्त ज्ञापनपत्र पार्टी नगर सभापति हेमराज खरेलले प्रदान गरेका थिए ।