मुक्कुमलुङ र केवलकारको कथा « Yalambar Times
८ बैशाख २०८१, शनिबार

मुक्कुमलुङ र केवलकारको कथा


यलम्वर टाइम्स
६ फाल्गुन २०८०, आईतवार ०६:३५

अहिले पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा) विवाद र बहसको भुमरीमा रुमलिएको छ । विवाद समाधानतर्फ नभएर मुडभेट र संघर्षतर्फ उन्मुख हुँदै गएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रको दिनदिनै चुलिंदै गएको विवादले चिन्तित र निराश बनाएको छ । यसप्रति राज्यको उदासीनता देखेर धेरै प्रश्नहरु उठ्न थालेको छ ।

सरकार विकासको नाममा त्यहाँको ऐतिहासिक पृष्ठभूमि, स्थानीय जनचाहना, जनमनोविज्ञानलाई किन्चित पनि वास्ता नगरी केवलकार कम्पनीको पोल्टामा मुक्कुमलुङ (पाथिभरा) क्षेत्र भेटी चढाउन आतुर देखिएको छ । केही नाफाखोर व्यक्तिको इशारामा त्यहाँको प्राकृतिक पर्यावरण, आस्था, संस्कृति आदि केहीको वास्ता नगरी राज्य शक्ति प्रयोग गरेर लाखौं बहुमुल्य रुखहरु ढाल्ने, जमीन खन्ने जस्ता कार्य गर्न पटक–पटक प्रयास गरिरहेको छ । स्थानीय जनताको चर्को विरोध हुँदाहुँदै पनि बलजफ्ती यी कार्य किन, के र कसको स्वार्थकन लागि गरिंदै छ, गम्भीर प्रश्नहरु खाडा भएका छन् ।

कञ्चनजंघा र कुम्भकर्ण हिमालको आसपासको भूमि याक्थुङ (लिम्बू) जातिको आदिस्थल, उत्पत्तिस्थल हो भनी मुन्धुममा उल्लेख छ । मुक्कुमलुङ (पाथिभरा) क्षेत्र पनि यसै भूमिभित्र अवस्थित छ । यससँग सम्बन्धित धेरै किंवदन्तीहरु प्रचलित रहेको भए तापनि यो भूमि याक्थुङहरुको आदिस्थल हो भन्ने कुरामा कुनै शंका छैन । यसलाई लिम्बू भाषामा मुक्कुमलुङ भनिन्छ । यसलाई लिम्बूहरुले पवित्र देवस्थलका रुपमा आदिकालदेखि मान्दै आएको देखिन्छ ।

समय सँगसँगै यसको नाम र स्वरुपमा परिवर्तन हुँदै आएको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०६७ मा प्रकाशित ‘लिम्बू नेपाली अंग्रेजी शब्दकोश’को पृष्ठ २३९ र ४२० मा मुक्कुम् (ःगपपगm) को अर्थ शक्ति, सर्वशक्तिमत्ता÷अग्नि, आगो, अग्निज्वाला र ‘लुङ्’को अर्थ ढुङ्गा भनिएको छ । यसले मुक्कुमलुङ भन्नाले आगो जस्तै बल्ने शक्तिशाली ढुङ्गा भन्ने बुझिन्छ । जसरी पशुपतिनाथको मन्दिरमा बहुमुल्य आगो जस्तै बल्ने पारसमणि पत्थर थियो भनिन्छ त्यस्तै यहाँ पनि त्यस्तै बहुमुल्य पत्थर थियोे होला भनी सहजै अनुमान गर्न सकिन्छ । याक्थुङ लिम्बूहरुका पूर्खाहरुले त्यस्तो शक्तिशाली बल्ने ढुङ्गा यस ठाउँमा फेला पारे होलान् अनि मुक्कुमलुङ नामकरण गरेर देवताका रुपमा पुजी यस ठाउँलाई पवित्र ठाउँ मानेको हुनसक्छ । धेरै वर्ष अघिसम्म त्यहाँ शिला ढुङ्गा मात्र थियो रे । केही वर्षअघि मात्र त्यहाँ मुर्तिहरु स्थापना गरिएको कुरा जगजाहेर छ ।

भनिन्छ, त्यस क्षेत्रमा देशीविदेशी व्यक्तिहरु सर्भे, अध्ययन आदि विभिन्न नाममा त्यो बहुमूल्य ढुङ्गा खोज्न आउँदा सबैको मृत्यु भएको कहावत अहिले पनि सुन्न पाइन्छ । त्यसो भएकाले पनि मुक्कुमलुङ (पाथिभरा)लाई आ–आफ्नो आस्था अनुसार सर्वशक्तिमान साक्षात् देवदेवी मानिदै आइएको छ ।

अहिले आएर केही लोभीपापी व्यक्तिहरु यस स्थललाई पैसा कमाउने दुहुनो गाई बनाउन साम दाम दण्ड भेदको नीति लिएर लागि परेका छन् । नेपाल पक्ष रहेको संयुक्त राष्ट्र संघको आईएलओ १६९ अभिसन्धी लगायत विभिन्न अभिसन्धीहरुलाई लाटाको धोती बनाएर यस स्थलको विनाशमा सरकार स्वयं उद्धत् बनिरहेको देखिएको छ । स्थानीय जनतालाई विभिन्न तिलस्मी लालच देखाएर मुक्कुमलुङ हत्याउन लागि परेको देखिन्छ, त्यसको नाङ्गो उदाहरण केवलकार दौडाएर अकुत धनराशि बटुल्ने पापी सपनालाई लिन सकिन्छ ।

यसले याक्थुङ लिम्बूहरुको आस्था र सांस्कृतिक धरोहरलाई ध्वस्त बनाई आयातित सांस्कृति लाद्ने कुत्सित षड्यन्त्रका रुपमा समेत बुझ्न सकिने आधारहरु आज सतहमा छताछुल्ल भइरहेको छ भनेर किन नभन्ने ? संस्कृति र आस्थाभन्दा ठूलो केवलकार किमार्थ हुन सक्दैन । भोलि आउने आपत र अनिष्टलाई केवलकारले अवश्यै छेक्ने छैन । समय छँदै घैंटामा घाम लागोस् ।
जय मुक्कुमलुङ (पाथिभरा) !!!!