बगरमा मौलाएको नवदुर्गा आधारभूत « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बगरमा मौलाएको नवदुर्गा आधारभूत


यलम्वर टाइम्स
८ फाल्गुन २०८०, मंगलवार ०८:३९

रातेखाल । गरिब जनताका छोराछोरी एक–दुई अक्षर भए पनि गाउँमै शिक्षा लिन पाउन भन्ने उद्देश्यले खोलिएको नवदुर्गा प्रावि आज ४० औं वार्षिकोत्सव मनाइरहँदा विद्यालय शैक्षिक सुधारसँगै आधारभूत विद्यालयको रुपमा उभिएको छ ।

आजभन्दा ४० वर्षअघि स्थानीय शिक्षासेवी तथा समाजसेवीहरुको सक्रियतामा आनासुकी संकलन गरी खोलिएको थियो ।

बाँसका टाँटी र खरले छाएर सञ्चालनमा आएको विद्यालयले विस्तारै आकार फेर्दै जाँदा आज सुविधा सम्पन्न भवनसम्म हुन पुगेको छ । टाङटिङ र विरिङ्गको बीचमा काँशे बगर र रातेखालले छोएको स्थानमा नवदुर्गा आधारभूत विद्यालय जन्मेको थियो ।

सुरुमा विद्यालयमा पठाउने शिक्षकको अभावदेखि भौतिक संरचना खराब हुँदा पनि रातेखालबासीहरुले विद्यालयलाई स्तरोन्नति गर्न लागि परे । त्यस्तो अवस्थामा जन्मेको नवदुर्गाले सोमबार विद्यालय प्राङ्गणमा धुमधाम ४० औं स्थापना वार्षिकोत्सव मनाएको छ ।

मेला पर्व आए जस्तै विद्यालयका शिक्षक, गुरुआमाहरु विद्यालय पोसाकमा सज्जिएर अभिभावकहरुलाई स्वागत गर्न आतुर देखिन्थे । विद्यार्थीहरु पनि आफ्नो कलाकौशल व्यक्त गर्न हसिला मुद्रामा उभिएका थिए भने अभिभावकहरु आफ्नो नानीबाबुहरुको कला र मिहेनत हेर्न उल्लेखनीय सहभागी भएका थिए ।

ठीक ११ बजेबाट प्रअ रुद्रप्रसाद खतिवडाले सञ्चालन गर्न अनुरोध गरेपछि प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन उद्घाटन गर्दै विद्यालयको भौतिक संरचनाको प्रंशसा गरेका थिए ।

प्रमुख अतिथि गोम्देनले विद्यालयको शैक्षिक गुणस्तरमा लैजान नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मान कल्पना राजवंशी, दीर्घसेवा शिक्षक हरिप्रसाद पाठक, पूर्वशिक्षक राजेन्द्रकुमार कार्की, सोमप्रसाद पौडेल, जग्गादाता कमला थापालाई सम्मान गरिएको थियो भने विद्यालय संस्थापक अध्यक्ष नरेन्द्रकुमार राईलाई विशिष्ठ सम्मान गरिएको थियो ।

वार्षिक कार्यक्रममा विद्यालय प्रथम छात्र राजिव थापा, छात्रा रोमिता कुँवर, अनुशासन छात्र अमर पौडेल, छात्रा समिक्षा दनुवार, अतिरिक्त क्रियाकलाप उत्कृष्ठ छात्र निशान श्रेष्ठ, संगम खाती छात्रा सविका कट्टेल सरसफाई उत्कृष्ठ छात्र कल्साङ तामाङ, छात्रा दिक्षा धमला, हाजिरी उत्कृष्ठ छात्रा जल खतिवडा, छात्र रिकेश सुनाम र उत्कृष्ठ अभिभावक सर्मिला दनुवारलाई नगद तथा सम्मान प्रदान गरिएको थियो ।

नियमित गृहकार्य ल्याउने छात्र युनिस तामाङ, छात्रा आसना बानियाँ, उत्कृष्ठ हस्त लिखित अक्षर छात्र सौगात तिम्सिना, छात्रा निशा पुरीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कक्षा १ देखि आधारभूतसम्मका विद्यार्थीले नृत्य प्रदर्शन गरेका थिए भने तेक्वान्दो खेल प्रदर्शन गरिएको थियो ।

अक्षयकोष घोषणा

पूर्व डीआईजी माधव थापाले आफ्नो ममतामयी माता पदम कुमारी थापाको स्मृतिमा रु १ लाख ११ हजार ११ रुपैयाँको अक्षयकोष प्रदान गर्ने घोषणा गरेको प्रअ रुद्रप्रसाद खतिवडाले जानकारी दिए ।

अवकाशको मुखमा रहेका प्रअ खतिवडाले पनि स्वर्गीय पिता गंगाप्रसाद खतिवडाको नाममा रु ५५ हजार ५ सय ५५ रुपैयाँ र समाजसेवी केदार पराजुलीले रु ५१ हजारको अक्षयकोष प्रदान गर्ने घोषणा गरेका थिए ।

उपमेयर नाच्दा सबै हौसिए

नवदुर्गा आधारभूतको ४० औं वार्षिकोत्सवमा अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुली मञ्चमा शिक्षिकाहरुसँग नृत्यमा सहभागि हुँदा उपस्थित अभिभावकहरु उत्साहित भएका थिए । पूर्व निवृत्त शिक्षकशिक्षिकहरु पनि नृत्यमा सहभागि थिए ।

आकाशैको कालो बादल भन्ने गीतमा उपप्रमुख पराजुलीले कम्मर मर्काई मर्काई नाच्दा सहभागि अभिभावकहरु पनि आफ्नो ठाउँबाट नाचिरहेको देखिन्थ्ये ।

कार्यक्रममा पूर्व प्रअ लीलाधर खतिवडा, केदार पराजुली, कपिलदेव तिम्सिना, लोकबहादुर बुढाथोकी लगायतले विद्यालयको स्तरोन्नतिका लागि शुभकामना दिएका थिए ।