अर्जुधाराको १४ औं सभामा पार्टीभन्दा माथि उठेर काम गर्न उपसभामुख मगरको सुझाव « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

अर्जुधाराको १४ औं सभामा पार्टीभन्दा माथि उठेर काम गर्न उपसभामुख मगरको सुझाव


यलम्वर टाइम्स
८ फाल्गुन २०८०, मंगलवार ०९:५५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको चौधौं नियमित नगर सभा आईतबारबाट सुरु भएको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले औपचारिक रुपमा नियमित नगर सभा सुरु भएको घोषणा गरेका थिए ।

सभामा नगर उपप्रमुख खड्गमाया पराजुलीले चालु आर्थिक वर्ष २०८०÷८१ को संशोधित आय र व्ययको समिक्षात्मक प्रस्ताव पेश गरेकी थिइन् ।

उपप्रमुख पराजुलीले संशोधित आयव्यय अन्तर्गत नेपाल सरकारबाट प्राप्त हुने सशर्त कार्यक्रमतर्फ ५५ लाख ५० हजार, स्थानीय राजश्व बाँडफाँड बापत ४ करोड १८ लाख ३१ हजार, प्रदेश सरकार सशर्त कार्यक्रमतर्फ ५ लाख ३७ हजार तथा अल्या रकम बाँडफाँडतर्फ ८ करोड ४२ लाख ७२ हजार ८९४ रुपैयाँ थप आय प्राप्त हुने भएकाले कुल ८९ करोड ४४ लाख ७० हजार ८९४ रुपैयाँको वार्षिक बजेट कायम गर्न पेश गरेकी थिइन् ।

पराजुलीले भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, चुनौतीसमेत प्रस्तुत गरेकी थिइन् ।

उपप्रमुखले आफ्नो प्रतिवेदन पेश गरेपछि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले समग्र नगरको विकासको लागि सबै एक हुनुपर्ने धारणा राखेकी थिइन् ।

सभाको प्रमुख अतिथि समेत रहेकी मगरले जनप्रतिनिधि भएपछि पार्टीबाट माथि उठेर जनताको भावना जित्नुपर्ने सुझाव दिइन् ।

हामीलाई जनताले चुनेर पठाएपछि पार्टीसँग समन्वयन गर्दै बढीसे बढी जनपक्षिय हुन सके नगरको विकासमात्र होइन सबैको जनप्रतिनिधि हुन सकिन्छ । समग्र नगरको विकासमा यो पार्टी त्यो पार्टी नभनी एक हुन आवश्यक छ, सभामा जनप्रतिनिधिलाई सुझाव दिइन् ।

उनले सबै पालिकाको विकासको लागि संघीय सरकारले समान बजेट वितरण गर्नुपर्ने पनि बताइन् । पहुँच हुनेको पालिकामा धेरै बजेट दिने र नहुनेकोमा बजेट कम पठाउने परिपाटीको अन्त्यका लागि आफूहरु छलफलमा रहेको समेत सुनाइन् ।

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द् बास्तोला, कार्यपालिका सदस्य चन्द्रमाया तामाङ र न्यायीक समिति सदस्य सर्मिला सुब्बाले बिषयगत प्रस्ताव पेश गरेका थिए ।

सभाको अध्यक्षता गरेका नगर प्रमुख गोम्देनले फाल्गुन १० गते पुनः बैठक बस्ने गरी नगर सभा स्थगित गरेका थिए ।