‘वातावरणीय प्रभावबाटै बालबालिका बिरामी’ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

‘वातावरणीय प्रभावबाटै बालबालिका बिरामी’


यलम्वर टाइम्स
१० फाल्गुन २०८०, बिहीबार ०६:५७

डा. दिनेश शाह अर्जुनधारा–७ स्थित शंकर हस्पिटलमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । दिल्लीको एम्सबाट बालरोगमा विशेषज्ञता (एमडी) गरेका डा. शाह बालरोग विशेषज्ञ हुन् । अध्ययन पश्चात एम्सकै बालरोग विभागमा रहेर तीन वर्षे कार्यानुभाव बटुलिसकेका डा. शाहले एमबीबीएस वीपी कोइराला मेमोरियल धरानबाट गरेका हुन् । डा. शाहसँग बालबालिकामा लाग्ने रोगका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा बालरोगको संख्या बढ्नुको कारण के होला ?

पोषणको राम्रो ज्ञान नहुनु, घरआँगन राम्रो सरसफाई नहुनु, धुँलो, प्रदूषण बढी हुनु नै बालरोगीहरुको संख्या बढ्नुको प्रमुख कारण हुन् । त्यस्तै पूर्ण खोप नलाग्नु, किटाणु संक्रमण तथा सरुवा रोग बढी हुनु पनि बालरोगको बढ्नुको कारण हो ।

जन्मदै बालबालिकामा निमोनिया हुनुको कारण ?

वातावरणीय प्रदूषण, हावामा धुलो, धुँवाको मात्रा बढी हुनु, किटाणु संक्रमण, पाठेघर संक्रमण, कम तौलको बच्चा र कुपोषणका कारणले बच्चालाई निमोनिया हुने गर्दछ ।

धेरै जसो बालबालिका मुटुरोगी भएको देखिन्छ नि ?

बच्चामा मुटु रोग हुने धेरै कारणहरु छन् । प्रायजसो मुटु बनिने क्रममा हुने त्रुटिका कारण मुटुमा प्वाँल हुने देखिन्छ । गर्भवती हुने बेलामा भएको संक्रमण, चिनी रोगका कारण पनि मुटु रोग हुन सक्छ ।

स्वास्थ्य बालबालिका जन्मनका लागि गर्भवती महिलाले अजमाउनुपर्ने काम ?

स्वास्थ्य बालबालिका जन्माउनका लागि सर्वप्रथम त गर्भवती महिलाले नियमित रुपमा स्वास्थ संस्थामा गई स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । त्यस्तै पोषिलो खानेकुरा खाने गर्नु, डाक्टरको परामर्श लिएर मात्र औषधी सेवन गर्नु, भारीका काम नगरे पनि हल्का व्यायाम गर्नु, टीटनासको सुई लगाउने, स्वास्थ्यकर्मीहरुसँग परामर्श लिने काम गर्दा राम्रो हुन्छ ।

बालबालिका बिरामी हुँदैमा आत्तिहाल्नु पर्ने हुन्छ त ?

बालबालिकालाई प्रायजसो सरुवा प्रकृतिका रोगहरु लाग्ने गर्दछन् । त्यसकारण आत्तिहाल्नु पर्ने अवस्था हुँदैन । भाइरल इन्फेक्सन हुँदा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने, घ्यार्र–घ्यार्र हुने हुनसक्छ । प्यारासिटामोल दिएर डाक्टरको परामर्श लिँदा हुन्छ । यदी गम्भीर प्रकारको रोग लागेको हो भने चाही डाक्टरहरुको निगरानीमा हस्पिटलमै राख्नुपर्ने हुनसक्छ ।

बिरामीबाट बचाउन घरआँगन पनि सफा हुनुपर्छ ?

बच्चामा हुने दम रोगको एउटा प्रमुख कारण वातावरणीय प्रदूषण हो । हावामा हुने धुलो, धुँवाले श्वास–प्रश्वासमा धेरै नोक्सान गर्न सक्छ । त्यसैले घरआँगन सफा राख्न धेरै जरुरी छ ।

बच्चा जन्मेपछि सुत्केरी आमाले खानेकुरामा ध्यान दिन कतिको जरुरी छ ?

आमाको स्वास्थ्यले बच्चाको स्वास्थ्यमा सिधा असर पार्ने हुन्छ । बच्चाको जीवन आमाको दूधमा नै टिकेको हुन्छ । त्यसैले सुत्केरी आमाले पोषिलो खानेकुरा खान एकदम जरुरी छ ।

जन्मेदेखि कति वर्षसम्म बच्चालाई निगरानीमा राख्नुपर्छ ?

एक वर्ष तलको नानीलाई धेरै निगरानी चाहिन्छ । विभिन्न प्रकारका गम्भीर रोग जस्तै निमोनिया, मेनीनजाइटिस, स्पेसिस सानो नानीमा हुने सम्भावना बढी हुन्छ ।

अन्त्यमा बालरोग सम्बन्धी महत्वपूर्ण भन्नुपर्ने केही छ कि !

बच्चाको स्वास्थ्य भनेको एउटा सम्वेदनशील कुरा हो । जथाभावीबाट औषधी लिएर सेवन गराउनु हुँदैन । कतिपय औषधीले पछि गएर धेरै समस्या निम्त्याउन सक्छ । त्यसैले डाक्टरको परामर्श लिएर मात्र औषधी सेवन गराउनुपर्छ ।