जुकेखाडीमा सबै दललाई उपभोक्ताले मिलाएर मत दिएको संकेत « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जुकेखाडीमा सबै दललाई उपभोक्ताले मिलाएर मत दिएको संकेत


यलम्वर टाइम्स
९ चैत्र २०८०, शुक्रबार १२:२६

जुकेखाडी । जुकेखाडी सामुदायक वनको निर्वाचन सम्पन्न भएको छ ।

मत गणनामा केही अंक डब्बल जोडिएर परिणाम प्रकाशित भएपछि विवाद देखिएको हुँदा विवाद मध्यस्त समिति, राजनीतिक दल र आयोगले सुक्ष्म अध्ययन गरी यथार्थ नतिजा संयोजक दिपीन राईद्वारा विज्ञप्तीमार्फत बिहीबार प्रकाशित गरेको छ ।

मत गन्ने क्रममा क्षेत्र नं. ४ को दुई वटा बुथ अलग–अलग मतदान अधिकृतले गणना गरिरहेका थिए । बक्सा २ को नतिजा १ मा थपिएपछि परिणाम फरक आएको थियो । त्यसलाई राजनीतिक दल र विवाद मध्यस्ता समितिलाई आयोगले प्रस्ट्याएपछि विज्ञप्तीमार्फत नतिजा सार्वजनिक गरेको हो ।

मध्यस्ता समितिमा नेपाली कांग्रेसबाट हेमराज खरेल, एमालेबाट लोकमान श्रेष्ठ, माओवादी केन्द्रबाट नारद दुःखी, जनमुक्तिबाट धनबहादुर राई, नेकपा एसबाट प्रेमसागर सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामकुमार बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकनाथ खतिवडा, वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराई, ४ का अम्बरबहादुर कटुवाल, ७ का गोविन्दप्रसाद खतिवडाको उपस्थिति रहेको थियो ।

प्राप्त नतिजा अनुसार विजयी उम्मेद्वार मोहन श्रेष्ठले (सिंह) १५५१ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्रकुमार मिश्रले (हात्ती) ११२१ मत प्राप्त गरेका थिए ।

अध्यक्षका अर्का प्रत्यासी उम्मेद्वार भोलानाथ पौडेलले (गैंडा) १९२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा लक्ष्मीराम शर्माले (घोडा) ११९४ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नारायण पौडेलले (कार) ११५६ मत पाएका थिए । त्यस्तै खम्बबहादुर दाहालले (बस) ३६३ मत पाए ।

यसरी नै सचिव पदमा उर्मिला कटुवाल अधिकारी (छाता)ले १२६४ मत पाएर विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी कमला रिजाल (सुगा)ले १०४९ मत पाइन् । जानुका खतिवडा (हाँस)ले ३०० मत प्राप्त गरेका छन् ।

सहसचिवमा सोमनाथ चापागाईले (षटकोण) ११४४ मत पाउँदा प्रतिद्वन्द्वी लोकेन्द्र कार्की (भाले) ले ११०८ मत पाए भने टंकनाथ निरौला (चम्मा) ले ३४३ मत पाए । कोषाध्यक्षमा मनिला जवेगु इङ्नाम (भकुण्डो) ले १३६१ मत ल्याएर विजयी बनेकी छिन् भने उनका प्रतिद्वन्द्वी रञ्जना कँुवर ‘सिर्जना’ (मोटरसाईकल) ले १०९३ मत पाएकी थिइन् ।

त्यस्तै कूलमाया बुढाथोकी (घडी)मा २३१ मत झरेको थियो ।

यसरी नै सदस्यहरुमा नरेन्द्रप्रसाद ओझा (२२७), कृष्णप्रसाद सापकोटा (३२४), यामनाथ पराजुली (१६८) यामबहादुर थापा (१६१), ज्ञानबहादुर कार्की (४७०), अनिता खाती (२९५), निरुता लिम्बू (३५७), सरस्वता थापा (१६६), नारायणीकुमारी सुवेदी (१३५), सविताकुमारी धौलाकोटी रोक्का (४८४) मत ल्याइ निर्वाचित भएका छन् ।

प्रगतिशील हरियाली समूहमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय जनमुक्ति पार्टी र राप्रपा चुनावी मैदानमा देखिएका थिए भने त्यसभित्र सचिव, सहसचिव र कोषाध्यक्ष निर्वाचित भएका छन् ।

लोकतान्त्रिक प्यानलमा नेपाली कांग्रेस, नेकपा एस, चुनावी मैदानमा थिए भने त्यसमध्ये अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

हरियाली प्यानल नाम राखेर चुनावी मैदानमा उत्रिएको रास्वपाले भने ५ वटै टोलबाट सम्मानित मत प्राप्त गरेको छ । रास्वपा टिम मध्ये उपाध्यक्षका उम्मेद्वार खम्बबहादुर दाहालले सबैभन्दा बढी ३६३ मत प्राप्त गरेका छन् । छोटो समयमा चुनावमा देखिएका दलहरुलाई समान रुपमा जनताले मत दिएको चुनावी आंकडामा देखिन्छ ।