आमा समूहः बिहान नारा जुलुस, साँझ गस्ती « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आमा समूहः बिहान नारा जुलुस, साँझ गस्ती


यलम्वर टाइम्स
१० चैत्र २०८०, शनिबार ०४:००

[विशेष प्रतिनिधि]

अर्जुनधारा । अर्जुनधारा–११ स्थित देउनीया टोलामा दुव्र्यवसनी बढेर समाजलाई नै सास्ती दिएपछि सोही टोलका आमाहरु त्यस विरुद्ध आफ्नै रणनीति बनाएर अगाडि बढेका छन् ।

उक्त टोलमा लागूऔषध प्रयोगकर्ता व्यापक बढ्दै गएपछि पीडित हुन पुगेका आमा समूहले बिहान दुव्र्यवसनी विरुद्ध नारा जुलुस, साँझ गस्ती गर्ने गरेको वडा नं. ११ कि वडा सदस्य सुशीला गिरीले जानकारी दिइन् ।

प्रत्येक घरमा दुव्र्यवसनीको सिकार देखिएको आफन्तले सम्झाउँदा, बुझाउँदा पनि बेवास्ता गरी लागूऔषध प्रयोगकर्ताको मनोबल बढी घरका सामग्री समेत हराउन थालेपछि आमा समूह सचेत हुन पुगेका हुन् ।

देउनीया बस्तीमा अधिकांश मजदुरहरुको बसोबास रहेको छ । मजदुरका सन्तानहरु नै यसरी कुलतमा फसे भने तिनका भविष्य के होला ? यसप्रति सम्बन्धित निकायले गम्भीर चासो लिनुपर्ने वडा सदस्य गिरीले प्रतिक्रिया दिइन् । यतिसम्मकी लागूऔषध प्रयोग गर्नकै लागि आमाबाबुको काजक्रिया पूरा नगर्दै कोरामा बसेकाले कपडा रुखमा झुण्ड्याइ भागेको दर्दनाक अवस्था रहेको उनले सुनाईन् ।

केही दिनअघि एकै घरका चार जनालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्वतःस्फूर्त आमा समूह गठन भइ जनचेतना छर्दै प्रयोगकर्तालाई दण्ड दिन समेत पछि हटेका छैनन् ।

‘हातमा माईक लिएर टोल–टोलमा पुगि जनचेतना छर्छन् । त्यति गर्दा पनि मानेनन् भने भाटासमेत लगाउन पछि पर्दैनन्’ सदस्य गिरीले बताइन् । ‘आमा समूहलाई पुरुषहरुले साथ दिए न्यूनिकरणको बाटोमा देउनीया टोल पुग्ने थियो, गुनासो पनि गिरीले पोख्छिन् ।

आमा समूह एक महिनाअघि बनेको समूह हो । उक्त समूहले प्रयोगकर्तालाई भाटे कारवाही गर्न थालेपछि केही सुधार आएको देखिन्छ । त्यसैले आमा समूहलाई कानूनी परामर्श र देउनीया टोललाई प्रहरी प्रशासनले निगरानी बढाइदिए न्यूनिकरण भएर जाने देखिन्छ ।

आमा समूहले गरेको कारवाही प्रयोगकर्ता प्रशासनबाट छुटेर आई आक्रमण गर्ने पो हुन् कि ? चिन्ता छाएको छ । आमा समूहले प्रत्येक शनिबार बिहान जनचेतनासहित नारा जुलुस लगाउँदै आएका छन् भने प्रत्येक साँझ गस्ती टोली गर्दै आएका छन् । गस्ती टोलीमा सचेत नारीहरुको समेत सहभागिता रहेको छ ।

यसरी नै बसपार्क टोल र लक्ष्मीधाप टोलमा पनि प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको आमा समूहले चिन्ता व्यक्त गरेका छन् ।