पाँचथरमा गोठ तथा होमस्टे मोह बढ्दै « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

पाँचथरमा गोठ तथा होमस्टे मोह बढ्दै


यलम्वर टाइम्स
११ चैत्र २०८०, आईतवार ०८:५१

[बिजय बोध लावती]

पाँचथर । आन्तरिक पर्यटक आगमनसँगै पाँचथरमा गोठ तथा होमस्ट सञ्चालनको मोह बढ्न थालेको छ ।

उच्च पहाड, चिसो मौसम, हिमश्रृङ्खला र प्राकृतिक सुन्दरता हेर्नका लागि दैनिक आन्तरिक तथा बाह्रय पर्यटकको चाप बढ्न थालेपछि गोठ तथा होमस्टे सञ्चालनमा मोह बढ्दै गएको हो ।

स्थानीय स्तरमा बनेको पर्यटन पूर्वाधार, सडकको पहुँच पुगेसँगै पर्यटकहरुको घुइचो लाग्न थालेको बताइन्छ ।

पछिल्लो समय फिदिम नगरपालिकाकाको लालिखर्कमा १० घर, सुकेपोखरीमा सातघर, फालेलुङ गाउँपालिकाको सिदिन स्थित गुरुङ गाउँमा २१ होमस्टे सुरु भएका छन् ।

त्यसैगरी चौरी पर्यटकीय क्षेत्र चारराते, तीनसीमान, चिवाभञ्याङ र तिम्बुङ क्षेत्रमा गोठ स्टेको रुपमा पर्यटक बस्ने गरेको छन् । पर्यटकहरु संस्कृतिक, प्राकृतिक, जैविक रमणीय दृश्यावलोकन गर्न पुग्ने गरेको सुकेपोखरीका स्थानीय सुरेस राईले बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पर्यटन पूर्वाधार निर्माण गरेर पनि पर्यटकको गन्तव्य स्थल बन्ने गरेको छ । खासगरी सुकेपोखरी, पौवाभञ्याङका होम स्टे सञ्चालकका लागि सीप, प्रवद्र्धनात्मक र सामग्री सहयोग पाएर होमस्टे तथा गोठ स्टे पर्यटककको रोजाइ बन्न पुगेको पर्यटक अभियान्ता शेरबहादुर नेम्बाङले बताए ।

होमस्टे सञ्चालनका लागि कार्य पालिकाबाट सहयोग तथा अनुदान दिइएका कारण होम स्टेहरु सञ्चालनमा आउँन थालेको फिदिम नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए ।

सिदिनको गुरुङ गाउँका २१ जनाले सञ्चालन गरी आएको होम स्टेका लागि पनि सीप तथा आय बृद्धिका तालिम र सुधारीएको फलामे चुल्हा समेत बितरण गरिएको छ ।

पर्यटक सेवा सहज बनाउन चुल्हो वितरण र आगन्तुकलाई लोभ्याउन स्थानीय खानेकुराको परिकार र घरबासको राम्रो प्रबन्ध गर्दै आएको छ ।

फालेलुङ गाउँपालिकाको पर्यटकीय क्षेत्र आसपास बसोबास पचास जना बढिलाई होमस्टे र प्राकृतिक प्रदर्शक तालिम प्रदान गरि आन्तरिक पर्यटनमा जोड दिइएको छ ।

टाढाबाट घुम्न आउने पर्यकटले सस्तो र सुलभ मुल्यमा घरायासी वातावरण रुचाउने हुँदा होमस्टे नै उपयुक्त हुने स्थानीय सुनील वान्तावा बताउँछन् ।

उनका अनुसार होम स्टे सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि हुन थालेको छ भने स्थानीयहरुका लागि जीवन निर्वाहका लागि नयाँ पेशा बन्न सफल भएको छ ।

प्रदेश सरकारबाट पाँचथर जिल्लाको होमस्टे क्षेत्रहरुमा प्रबद्र्धन, पदमार्ग, भ्यू प्वाइट, कटेज र भवन लगायतको भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकलाई सहज बनाउने थुप्रै काम भइसकेको तत्कालिन १ नम्बर प्रदेशका वन, वातवरण, उद्योग तथा पर्यटन सभापति पूर्व माननीय सीता थेबेले बताइन् ।

पाँचथरमा गोठ तथा घरबास सञ्चालन गर्नेको संख्या दुई सय बढि रहेका छन् । आगन्तुकलाई सेवा दिएसँगै स्थानीय उत्पादन बिक्री गरी गोठ तथा होम स्टे आसपासका किसानले पनि राम्रो आम्दानी लिन सफल भएका छन् ।

सडक सञ्जालले जोडेसँगै पर्यटकीय स्थल जाने क्रम बढेको छ । उच्च पहाडको प्राकृतिक अवलोकनमा आन्तरिक तथा बाह्रय पर्यटक आगमन बढेर होटलभन्दा गाँउघरको होम स्टेमा बस्न रुचाउने थालेका हुन् ।

कंक्रिटको ठूलो भवन र जनघनत्व हुने सुविधायुक्त होटलभन्दा कलात्मक तथा पुर्खौली शैलीका अग्र्यानिक ससाना घरटहराहरुमा पर्यटक बस्न रुचाउने गरेको होमस्टे सञ्चालनक डिल्ली केरुङले जानकारी दिए ।