होली हार्षोउल्लासका साथ मनाइदै « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

होली हार्षोउल्लासका साथ मनाइदै


यलम्वर टाइम्स
११ चैत्र २०८०, आईतवार ०९:०२

झापा । फागुन पूर्णिमा अर्थात् रंगहरुको पर्व हार्षोउल्लासका साथ मनाइदै छ । आज पहाडी जिल्ला र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ ।

एकअर्कामा आत्मियता गाँस्दै विभिन्न रंगीचंगी रंगले सद्भाव तथा भाइचारा साट्ने पर्वको रुपमा होलीलाई लिने गरिन्छ । आफन्त, साथीभाई, इष्टमित्र एकआपसमा भेला हुने, मीठोमसिनो खाने, रंग दल्ने र भावनात्मक रुपमा सम्बन्धलाई थप प्रगाढ बनाउने हुँदा पनि यो पर्वको महत्व निकै छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलीकामार्फत आगोमा भष्म पार्न लाग्दा होलीका आफै जलेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलीका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।