जनताको मन जितेर काम गर्न राजनीतिक दलहरुको सुझाव « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जनताको मन जितेर काम गर्न राजनीतिक दलहरुको सुझाव


यलम्वर टाइम्स
१५ चैत्र २०८०, बिहीबार ११:२१

जुकेखाडी । जुकेखाडी सामुदायक वनको निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जनताको मन जितेर काम गर्न दलहरुले सुझाव दिएका छन् ।

विहीबार वनको सभाहलमा आयोगबाट सपथ लिएपछि शुभकामना दिने क्रममा सबै राजनीतिक दलहरुले जनताको मन जित्न सक्नुपर्ने बताए । हिजो निर्वाचनमा दलहरुबाट प्रतिनिधित्व हुँदै थियौं भने अब जनताका साझा प्रतिनिधि भएको कारण उपभोक्ताको मनमा बस्न, राम्रा काम गर्न अनुरोध गरे ।

रास्वपाका लोकमान खतिवडा, माओवादीका नरबहादुर तामाङ, एमालेका लोकमान श्रेष्ठ, नेपाली कांग्रेसका हेमराज खरेल लगायतले सुझाव दिँदै राम्रा गर्दैगर्दा समस्या आइपरे सहयोग गर्न दलहरु तयार रहेको बताए ।

कार्यक्रममा अर्जुनधारा–३ का वडाध्यक्ष सिताराम भट्टराई, निर्वाचन आयोगका संयोजक दिपीन राई लगायतले वन ऐन अन्तर्गत अगाडि बढ्न र पर्यापर्यटनसँगै हात्तीले खाने आहारको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।

कार्यालयलाई चुस्तदुरुस्त राख्न सफ्टवेरको प्रयोग गरी प्रविधिमैत्री बनाएर अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष झलेन्द्र खड्काले कार्य गर्दै जाँदा समस्या आइपरे पूर्वअध्यक्षसँग सहयोग लिन सक्ने भन्दै आफू तयार रहेको बताए । सपथ लिएपछि आफ्नो प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष मोहन श्रेष्ठले भने, ‘जनताको काममा सामुदायिक वन ऐन अन्तर्गत उभिएर काम गर्नेछु ।’

सोही दिन दल तथा मध्यस्तकर्ता, वडाध्यक्ष, पूर्व पदाधिकारी सदस्यहरुको उपस्थितिमा आयोगले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ खुवाउँदै पद हस्तान्तरण समेत गरेको छ ।

नवनिर्वाचित पदाधिकारीलाई आयोग अध्यक्ष दिपीन राईले सपथ दिलाएका थिए भने चुनावलाई नजिकबाट नियालेर निकासको बाटोमा सहयोग पुर्याउनुहुने मध्यस्तकर्तालाई मायाको चिनो प्रदान गरेका थिए ।

निर्वाचन आयोगका सदस्य खेम सुब्बा, याम बास्कोटा, वन महासंघ अध्यक्ष भानु श्रेष्ठको उपस्थिति रहेको थियो भने सोही दिन पूर्व अध्यक्ष झलेन्द्र खड्काले आवश्यक सामग्री नयाँ अध्यक्ष मोहन श्रेष्ठलाई बुझाएका थिए ।

आयोगका सदस्य जीवकुमार भण्डारी ‘जीवन’ले सञ्चालन गरेको कार्यक्रममा सहभागिहरुलाई स्वागत आयोगका सदस्य हरि वाग्लेले गरेका थिए ।