लीला राई
शनिअर्जुन / गरिबी र असाहयकै कारण कतिपय गाउँ बस्तीका किशोरीहरु लोभलाल्चामा फस्ने गरेका छन् । बजारमा देखिएका फेसन र आवश्यकतालाई धान्न आर्थिक नहुँदा कतिपय किशोरीहरु कलकलाउँदो उमेरमै समाजमा पच्न नसक्ने पेशाप्रति आकर्षित हुन्छन् । कति असुरक्षित अवस्थामा मृत्युवरण पनि गरेका छन् ।
नेपालमा गरिबीले सताइरहेको बेला गाउँका त्यस्तै काममा तल्लिन भएका महिला मार्फत किशोरीहरुलाई ललाईफकाई छिटो मीठो तरिकाबाट आर्थिक उपार्जनको बाटो छ भन्दै शहर तिर लाने गरेका छन् ।
शनिअर्जुन–३ स्थित एक शिवाकोटी र मगर थरकी १५/१६ वर्षीय किशोरी त्यस्ता फन्दाबाट फुत्किन सफल भएका छन् । ती किशोरीहरुलाई रोजगार दिलाईदिने बहानामा गाउँकी सार्की थरकी एक बुहारीले चार महिना अघि गाउँबाट काठमाण्डौं पु¥याएकी थिइन् ।
ती दुई किशोरीले काठमाण्डौंको एक इट्टा फक्ट्रीमा मजदुर काम गर्दै साँझ होटलमा कारिन्दार भएर खट्न पुगे । कसरी छिटो पैसा कमाइन्छ ? भन्ने रन्कोमा हुइकेका ती किशोरीहरु कहिले होटल, कहिले हेटौडाका बस्ती डुल्दा डुल्दै चार महिना बिताएका थिए ।
किशोरीमध्ये मगर थरकी युवतीले आफन्त कहाँ फोन गरी आफूहरु नराम्रो काममा फसेको जानकारी गराएपछि तिनका आफन्तहरुले फर्काएर ल्याएको गाउँमा भएको कचहरिमा बताएका छन् ।
यी त उदाहरण मात्र हुन् । यसरी नै आर्थिक उपार्जनको थलो खाडी मुलुक हो भन्दै सिन्धुपालचोक र मकवानपुरका चार किशोरीहरुलाई यौन पेशामा लगाउन स्थानीय यौन पेशामा लिप्त एक महिलाले लैजाँदै गर्दा धनगढीबाट फर्काइएको छ । यसरी नै इटहरी–५ बस्ने ३६ वर्षीय पार्वती राजवंशीले, ५ युवतीलाई यौन व्यवसायमा लाँदै गर्दा प्रहरीले पक्राउ गरी अनुसन्धान चलाइरहेको छ ।
आखेरी यस्तो व्यवसायमा किन आकर्षित गराइन्छ त ? भन्ने जिज्ञासा एक समाजसेवी महिलामाथि प्रश्न राख्दा नाम नछाप्ने शर्तमा उनी भन्छन् –‘छोरी चेलीहरु असुरक्षित हुनु पारिवारिक समस्या पनि एक हो । दोस्रो बाबुआमाले समाजका गतिविधिहरुलाई बुझेर छोराछोरीहरुसँग मित्रताको व्यवहार दर्शाउनु पर्छ र त्यही अनुसारको सल्लाह सुझाव पनि राख्न सक्नुपर्छ । त्यसो नहुँदा समाजमा किशोरीहरु असुरक्षित भएको हो भन्ने मलाई लाग्छ ।’
झापामा असुरक्षित तरिकाबाट बलात्कार मात्र भएका छैनन् दैनिक जसो किशोरीहरु हराउने काम पनि बढ्दै गएको छ । हालैमात्र झापाको बुधबारे स्थित छुट्टीको समयमा मावली घर आएकी ११ वर्षीय तनुजा कोइरालाको हत्या समेत हुन पुगेको छ । तनुजालाई हत्या गर्नु अघि अप्राकृतिक क्रियाकलाप भएको अनुसन्धानमा खुल्दै गएको छ ।
यसरी नै तुनजा जस्तै तानसेन–११ कि ८ वर्षीय वर्षा दलामीको पनि बलात्कारपछि हत्या भएको छ । त्यति मात्र होइन, इटहरीको एक विद्यालयमा दुई शिक्षकद्वारा एक युवतीमाथि अभद्र व्यवहार गर्न पुगेका थिए । पाल्पा मदनपोखरा–५ की ८ वर्षीय बालिका, पाल्पाकै अर्गलीकी १२ वर्षीय बालिका बलत्कृत हुन पुगेकी छिन् ।
कति ठाउँमा मानिस नै पशु तुल्य भएर पनि आफ्ना छोरीमाथि जाइलागेका छन् । पोखरामा १२ वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबुलाई १८ वर्ष कैद र २५ हजार जरिमाना गरिएको छ । यी सबै घटना समाजमा शिक्षित वर्गमा पर्ने अभिभावकहरुले आफ्ना किशोरी छोरीहरु र गाउँका किशोरी नानीहरुलाई विकृतिका सन्देश दिन नसक्दा दोहोरिएका हुन् ।
यस विषयमा समाजसेवी चतुर्भुज काफ्लेलाई प्रश्न राख्दा गाउँ घरमा मात्र होइन, शैक्षिक क्षेत्रमा पनि यौन शिक्षा विषयमा बोध नगराइदा उच्छृङ्खलका घटनाहरु समाजमा देखा पर्ने गरेको बताए ।
फेसबुमा अश्लील तस्वीर :
बलात्कार घटनाहरु बढ्नुलाई टेवा पु¥याउने फेसबुकमा देखिएका अश्लील तस्वीर र भिडियो पनि एक हो भन्न सकिन्छ । गरिबी समस्या छ भनौं भने महंगा एनरोइड मोवाइल हात–हातमा हुन्छ, गरिबी छैन भनौं भने साँझ बिहान हात–मुख जोड्न धौ–धौ परेको अवस्था छ ।
खानुभन्दा मोजमस्तीमा हाम्रो समाज दौडेको हुँदा मोवाइलमा देखिने अश्लील गतिविधिले पनि यौनजन्य घटनाहरु निम्त्याउने गरेको छ ।
प्रहरी अनुसन्धानका अनुसार प्रलोभन फसाएर, अश्लील भिडियो देखाएर बलात्कारजन्य घटना भएको पाइन्छ ।
झापामा केही दिन अघि अश्लील भिडियो देखाएर बच्चाहरुलाई दुःख दिएको घटना गुपचुप राखियो । यस्ता खाले घटनालाई न्यूनिकरण गर्न समाजमा रहेका संघसंस्था र सरकारी निकायसँग नजिक भएर काम गरिरहेका प्रतिनिधिहरुले पनि गाउँ बस्तीमा चेतना फैलाउनु पर्ने देखिन्छ ।