– लीला राई
राष्ट्रिय स्तरका पत्र–पत्रिकामा होस् चाहे मोफसलकै या विभिन्न एफएम, रेडियो, टेलिभिजन जहाँपनि महिला हिंसाका घटना देख्न, सुन्न र पढ्न पाइन्छ । यसरी सञ्चार माध्यममा दिनहुँजसो हेर्दा र पढ्दा आम मानिसमा नैरश्यताको अवस्था सिर्जना हुने देखिन्छ । पितृसत्ता हाम्रो संस्कारको जरामा गडेरे बसेका कारण असमानता र विभेद यथावत् छ । तसर्थ महिलामाथि हिंसा र अन्याय भइरहेको तथ्याङ्कले देखाउँछ ।
महिला हिंसाबिरुद्धको १६ दिने अभियान भर्खरै मात्र सम्पन्न भयो । यस्ता अभियानहरु अगाडी पनि नभएका भने होइनन् । यद्यपि हाम्रो देशमा लैंगिक विभेदका कारण महिलामाथि दुव्र्यवहार, चरम अत्यचार, अन्याय एवम् हिंसाले निरन्तरता पाइनै रहेको छ भन्दा फरक पर्दैन । यी सबै हुनमा पितृसत्ता दोषी देखिन्छ । पुरुषको वश्चर्य रहेको हाम्रो समाज महिलाको नेतृत्वमा डोहोरिन हिच्किचाएको यथार्थता प्रष्ट्याई रहनु पर्ने आवश्यकता देखिँदैन ।
यसको प्रमुख कारण भनेको असमानता र विभेद नै हो । हाम्रो समाजमा छोरा र छोरी प्रति राखिने धारणा अलग हुन्छ । सानैदेखि छोरीलाई आफू कमजोर र असक्षम छु भन्ने मानसिकतामा जगडिन बाध्य बनाइएको हुन्छ । समाजमा जबरजस्ती लादिएका यस्ता गलत धारणाका कारण पनि शारीरिक साथै मानसिक एवं बौद्धिक रुपमा नै कमजोर छु भन्ने भावनाका कारण आफूमा भएको क्षमता, प्रतिभा प्रष्फुटन गर्न हिच्किचाइ रहेको पाइन्छ । के यसो हुनुमा पितृसत्ता दोषी छैन त ?
हाम्रा समाजमा विधमान कु–संस्कार, कुरीति र गलत परम्पराका कारण पनि कतिपय निर्दोष महिला हिंसाको शिकार बनिरहेका छन् । तराई मूलका महिला दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छन् भने गरीब तथा अशिक्षित बृद्धालाई बोक्सीको आरोपमा मल–मुत्र खुवाउनुका साथै शारीरिक पीडा भोग्न बाध्य पारिन्छन् । यस्ता घटनामा पुरुष मात्र नभएर महिलाहरु पनि संलग्न भएको पाइन्छ । यसरी कतै सासु, नन्द आमाजूले बुहारीमाथि त कतै बुहारीले सासुमाथि गरिने अन्याय र अत्यचार नरोकिएसम्म महिला हिंसा अन्त्यको कल्पनासम्म गर्न सकिँदैन । महिलाको सफलतामा पुरुषको नाम जोडेर उसको क्षमताको उपहास गर्नु सभ्य समाजका लागि शोभनीय हुन सक्दैन ।
तसर्थ यसप्रति हामी महिला नै सर्वप्रथम सचेत हुन आवश्यक छ । खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्दै एकले अर्काको सफलतामा हौसला प्रदान गर्न सक्नुपर्दछ । यसमा राज्य पक्ष लगायत समाजका शिक्षित, बौद्धिक सभ्य पुरुषहरुले सकरात्मक भूमिका खेल्नपनि उत्तिकै आवश्यक हुन्छ ।
एकाइसौं शताब्दीका महिला पुरुषको तुलनामा शारीरिक रुपमा केही कमजोर भएतापनि बौद्धिक रुपमा बरोबरी छन् भन्ने पुष्टि गरिसकेका छन् । आकाशमा प्लेन उडाउने साहसीक कामका साथै विभिन्न संघ–संस्थामा प्रमुख भएर आफ्नो जिम्मेवारी र कर्तव्य सफलतापूर्वक निर्वाह गरी सकेका उदाहरणहरु पनि प्रशस्त भेटिन्छन् । तथापि हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन किन हुँदैन ?
अबपनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नहुने हो भने नारी विद्रोहको अवस्था सिर्जना हुँदैन भन्न सकिँदैन । महिला अधिकार सुनिश्चित नभएका देशहरु विकसित हुन नसकेका उदाहरणहरु प्रशस्त छन् । त्यस मध्येको एउटा हाम्रो देश पनि हो । लैंगिक विभेदको अन्त्य भएका देशहरुमा द्रुतगतिमा विकास भएको पाइन्छ ।
तसर्थ सबैभन्दा पहिला घरबाट नै छोरा सरह छोरीलाई स्वतन्त्रता र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्ने प्रेरणा दिनुपर्छ । त्यसका लागि उचित शिक्षा, संस्कार, व्यवहारिक ज्ञान तथा सीपबाट दक्ष र सक्षम बनाउन परिवारले महत्वपूर्ण भूमिका खेल्न अति आवश्यक हुन्छ । परिवार सभ्य भए समाज र राज्य नै सभ्य बन्न सक्छ । त्यसैले आजैदेखि विभेदको अन्त्य गर्दै सभ्य परिवारको परिचय दिने प्रण गरौं । हिंसा रहित समाज निर्माणका लागि हामी जस्ता सचेत नागरिकबाटै शुरुवात गरौं ।
यसपटकको संविधानले महिला हक, हित र अधिकारको व्यवस्था गरेको छ । यसको परिणाम स्वरुप देशको राष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा महिलाको उपस्थिति भएको छ । अब चाँडै प्रधान न्यायाधीशको पदमा पनि महिला नै आउने भन्ने चर्चाले महिला सशक्तीकरणमा थप हौसला र उत्साह थपिएको छ । आशा गरौं, संविधान मस्यौंदा कागजको खोस्टोमा मात्र सिमित नहोस् ।