दुर्लभ रेडपाण्डा संरक्षणमा कठिनाई « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

दुर्लभ रेडपाण्डा संरक्षणमा कठिनाई


यलम्वर टाइम्स
२६ श्रावण २०७३, बुधबार ०७:४१

सन्देश सुब्बा

radepanda photoपाँचथर / विश्वमै दुर्लभ मानिएको रेडपाण्डा संरक्षणमा विभिन्न चुनौतिहरु थपिएपछि रेडपाण्डा संरक्षण अभियान जटिल बन्दै गएको छ ।

पाँचथरको फिदिममा मंगलबार रेडपाण्डा संरक्षणमा सक्रिय दीपज्योति युवा क्लवले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो ।
हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर र इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपाण्डा संरक्षणमा थुप्रै चुनौतिहरु रहेको क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए ।

बान्तावाका अनुसार समुन्द्री सतहको २२ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाईमा पाइने रेडपाण्डा खुला सीमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फडानीका कारण लोप हुने अवस्थामा पुगेको हो । लजालु र सोझो स्वभावको यो जीव हल्का रातो, सेतो र कालो रंगको हुन्छ । विकास निर्माणसँगै बासस्थान लोप हुनु, कुकुरको आक्रमण, आहाराको विनास, अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

रेडपान्डा पाँचथर, इलाम, र ताप्लेजुङका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइए पनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेडपाण्डा नेटवर्क कन्जरभेशन कोडिनेटर पेमा लामाले बताए ।

विभिन्न स्थानमा ट्रेपिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आए पनि भारतसँगको खुल्ला सीमानाका कारण रेडपाण्डको संख्या दिनानुदिन घटदै गइरहेको लामाले बताए ।

महिलाले बोक्ने झोला, टोपी तथा विलासिताका सामाग्री निर्माणमा रेडपाण्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपाण्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएतापनि अहिलेसम्म रेडपाण्डाको संख्याको यकिन तथ्याङ्क भने छैन ।

कार्यक्रममा दिपज्योति युवा कलवका कार्यकारी निर्देशक सुनिल बान्तवाले क्लवले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, नेपाली कांग्रेस पाँचथर सभापति नरेन्द्र कुमार केरुङ, नेकपा मालेका केन्द्रीय परिषद् सदस्य लयप्रसाद बाँस्कोटा, संघीय लिम्बूवान मञ्च पाँचथरका दिपक खनाल, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालकृष्ण ओझा, गरिबी निवारण कोष प्याफकी प्रवन्धक विद्या गौतम लगायतले रेडपाण्डा संरक्षण लगायत क्लवले गरेका कामको प्रशंसा गरेका थिए ।

पाँचथरमा सन् २०१६ देखि सन् २०२० सम्म साढे चार वर्ष रेड पाण्डा नेटवकले संरक्षण सर्वद्धनको पक्षमा काम गर्ने दीपज्योति युवा क्लवका कार्यकारी अधिकृत बान्तवाले जानकारी गराएका थिए ।