बि एण्ड सी हस्पिटलमा रक्त सञ्चार सेवा स्थापना « Yalambar Times
२० आश्विन २०८१, आईतवार

बि एण्ड सी हस्पिटलमा रक्त सञ्चार सेवा स्थापना


यलम्वर टाइम्स
३१ श्रावण २०७३, सोमबार ०७:२०

b & cबिर्तामोड / बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा आज सोमबार नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा युनिट स्थापना गरेको छ ।

रक्तसञ्चार सेवा बि एण्ड सी युनिट हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा उद्घाटन गरेका थिए । उद्घाटनसँगै रेडक्रस र बि एण्ड सी हस्पिटलबीच पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

सम्झौता पत्र अनुसार हस्पिटलले उपलब्ध गराएको तीन कोठे भवनमा रेडक्रसका तीन जना प्राविधिकले २४ सै घण्टा रक्तसञ्चार सेवामा सेवा दिने रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।

रक्तसञ्चार सेवा बि एण्ड सी युनिटबाट अन्य हस्पिटलले समेत आवश्यकता अनुसार रगत लैजान सक्नेछन् । सम्झौतामा रेडक्रसका तर्फबाट जिल्ला सभापति लोकराज ढकाल र बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी तथा हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाई, मेडिकल डाइरेक्टर डा. अमरनाथ ठाकुर र जनसम्पर्क अधिकारी प्रमिस गिरीले हस्ताक्षर गरेका छन् ।

रेडक्रसका उपशाखा सभापति शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मेडिकल डाइरेक्टर डा. ठाकुरले मन्तव्य राखेका थिए । रेडक्रस झापाका सदस्य हेम खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले गरेका थिए ।

सो अवसरमा जिल्ला सभापति ढकालले झापामा तेस्रो युनिटको रुपमा बिएण्डसी हस्पिटलमा रक्तसञ्चार सेवा शुरु गरेको जानकारी गराए । यसअघि दमकको आम्दा र लाइफलाइन हस्पिटलमा रक्तसञ्चार सेवा युनिट स्थापना भइसकेको छ ।

बि एण्ड सीमा स्थापित युनिटले सोमबारबाट नै सेवा सुचारु गरेको छ । उद्घाटनको अवसरमा रक्तदान समेत आयोजना गरिएको थियो ।