जातीय मुक्तिको पहिलो अभियान्ता खपाङ्गीको निधन « Yalambar Times
३० भाद्र २०८१, आईतवार

जातीय मुक्तिको पहिलो अभियान्ता खपाङ्गीको निधन


यलम्वर टाइम्स
१२ भाद्र २०७३, आईतवार ०९:३२

gore_bahadur_khapangi_magarझापा / पूर्व मन्त्रि तथा जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको ७० वर्षको उमेरमा गएराति निधन भएको छ ।

शनिबार अपरान्ह ४ बजे पिसाव बन्द भई शरीर सुन्निएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । ललिपुरको नख्खुमा बस्दै आएका उनको उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । अस्पतालबाट सामान्य उपचार गरेर खपाङ्गीलाई फेरि नख्खु दोबाटो स्थित घरमा लगिएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ भदौ २२ गते कू गरेर शासन सत्ता हातमा लिएपछिको सरकारमा उनी ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री भएका थिए । राष्ट्रिय सभागृहमा २०७० वैशाख १२ गते भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाँदा प्रदर्शनी मार्गमा मोटरसाइकलले ठक्कर दिएपछि अचेत बनेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यक्रिया गरिएको थियो ।
२००३ साउन २५ गते उदयपुरको थाक्लेमा जन्मिएका उनी नेपाल मगर संघको संस्थापक अध्यक्ष पनि हुन् । २०४८ देखि निरन्तर ४ कार्यकाल मगर संघको अध्यक्ष भएका खपाङ्गी मन्त्रि छँदा राजाको हातबाट टीका लगाएको भन्दै आलोचित भए ।

नेकपा मालेबाट राजनीति शुरु गरेका खपाङ्गीले पार्टी छाडेर राष्ट्रिय जनमुक्ति पार्टी बनाएका थिए । उनी जनमुक्ति पार्टीका संस्थापक महासचिव थिए । निधन हुनुअघिसम्म भने उनी लिबरल डोमेक्रयाटिक पार्टीको अध्यक्षका रुपमा थिए ।