असोज ३ अर्को कालो दिन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

असोज ३ अर्को कालो दिन


यलम्वर टाइम्स
१ आश्विन २०७३, शनिबार ०४:१५

janamuktiतेह्रथुम / राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्गवा (के.पी.) ले असोज–३ गते नेपालको संविधान जारी भएको दिनलाई जनमुक्ति पार्टीले देशव्यापी रुपमा कालो दिवसको रुपमा मनाउने बताएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी लिम्वुवान राज्य परिषदले विहीवार देखि तेह्रथुमको म्याङ्गलुङ्ग बजारमा आयोजना गरेको २ दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले आगामी असोज–३ गतेलाई आफ्नो पार्टीले देशव्यापी रुपमा कालो दिवसको रुपमा मनाउने वताएका हुन ।

अध्यक्ष पालुङ्गवाले नेपालको संविधान–०७२ मूल बाटोबाट नआई चोर बाटोबाट नेपाली जनताले चाहेको संघीयता, पहिचान र हरेक जातिको जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई ओझेलमा पारेर आम उत्पीडनमा परेको समुदायलाई छक्याएर ल्याइएकाले जनमुक्तिले कालो दिनको रुपमा मनाउनु परेको बताए । उनले प्रदेशहरुको संरचना निर्माण गर्दा न्वारन नगरी नयाँ संविधान अपरो, अधुरो र अपाङ्ग भएर नेपाली जनताको भावाना विपरित आएका भन्दै अध्यक्ष पालुङ्गवाले असोज–३ गते संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउनु परेको स्पष्ट पारेका छन् ।

बहुसंख्यक पहिचानवादी नेपाली जनताले स्वीकार नगरेको नेपालको संविधानलाई टेकेर अहिले भइरहेको स्थानीय तहको पुनःर्संरचना एमाले, कांग्रेस र माओवादीको चुनावी कार्यक्रमको रुपमा आएकाले राष्ट्रिय जनमुक्ति पार्टीलाई स्वीकार्य नहुने बताए । उनले भने “पहिचानलाई नामेट पार्ने गरी गर्न खोजिएको स्थानीय तहको पुनःर्संरचना हामी स्वीकार्दैनौ, किनभने राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको नयाँ संविधान –०७२ लाई स्वीकारे कै छैन ।”

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय अनुगमन तथा मुल्याङ्गकन समितिका संयोजक रामबहादुर तुम्वाहाम्फेले जनमुक्ति पार्टीले अंगिकार गरेको पहिचान, संघियता, हरेक जातिको जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व लगायतका आदर्शवादी सिद्धान्तले नेपाली जनतालाई कसैलाई काख र कसैलाई पाखा नगर्ने बताए ।

उनले प्रशिक्षण कार्यक्रममा सहभागी पार्टी कार्यकर्ताहरुलाई भने “अब नेपाली जनताको साथ लिएर राष्ट्रिय जनमुक्ति पार्टीको दर्शन सिंहदरबार छिर्नै पर्छ ।” उनले हिजो संघात्मक शासन, संघीयता र पहिचानको कुरा गर्दा जनमुक्ति पार्टीलाई साम्प्रादायिक भन्नेहरुले आज तिनै सिद्धान्तलाई चाहेर नचाहेर बाध्य भएर उठाई रहेको छन्, नेपालका शोषित पीडित जनताको लागि यो सकरात्मक पक्ष भएको बताएका छन् ।

लिम्वुवान राज्य परिषदका कार्यवाहक अध्यक्ष पुर्णकला लिम्वुको अध्यक्षतामा सम्पन्न दुई दिने प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा केन्द्रिय उपाध्यक्ष मिना पन्धाक, पार्टीका अनुगमन तथा मुल्याङ्गकन केन्द्रिय समिति सह–संयोजक तिर्थ राई, केन्द्रिय उपाध्यक्ष एवम् लिम्वुवान इन्चार्ज चन्द्र खापुङ्गहाङ्ग, केन्द्रिय सचिव पदम जवेगु लगायतले पार्टीलाई बलियो बनाउन अगुवा कार्यकर्ताहरु माझ प्रशिक्षण कार्यक्रम आयोजना गर्नु परेको बताएका थिए ।

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय उपमहासचिव रामु परियार, प्रशिक्षण विभाग संयोजक मोहन धिमाल, सचिव पदम जवेगु लगायतले सहजीकरण गर्ने संघिय परिषद सदस्य लोक आङ्गलाले वताएका छन् । सो अवसरमा संघिय परिषद सदस्य सविला मोक्तान, केवी पुनः, शिव आचार्य, रमेश गजमेर, सागरनाथ रेग्मी, प्रकास याङ्गदेन, शिव आचार्य, अग्नी तुम्वापो, डिल्ली याखा लगायतले समेत प्रशिक्षण कार्यक्रममा सहभागी जनाएका छन् ।

त्यसैगरी अरुणपुर्व ९ जिल्लाका पार्टी अध्यक्षहरु, सचिवहरु, लिम्वुवान राज्य परिषदका पदाधिकारी एवं सदस्यहरुले प्रशिक्षण कार्यक्रममा भाग लिइरहेको आङ्गलाले वताएका छन् । प्रशिक्षण कार्यक्रमको पहिलो दिन विहिवार झापा जिल्ला अध्यक्ष परशुराम थापा, मोरङ्ग अध्यक्ष चन्द्र लिङ्गखिम, तेह्रथुम अध्यक्ष राजेन्द्र सेरेङ्ग, पाँस्थर अध्यक्ष हेम प्रसाद योङ्गया, धनकुटा पार्टी इन्चार्ज नरवहादुर माङ्गयक लगायतले आ–आफ्नो जिल्लाको गतिविधि प्रस्तुत गरेका थिए ।

दुई दिने प्रशिक्षण कार्यक्रमको संचालन पार्टी संघिय परिषद सदस्य विष्णु थाम्देनले गरेका थिए भने स्वागत मन्तव्य तेह्रथुम जिल्ला अध्यक्ष राजेन्द्र सेरेङ्गले राखेका थिए । प्रशिक्षण कार्यक्रममा अरुण पुर्वका ९ जिल्लाबाट २ सयको हाराहारीमा पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।