कसले सुनिदिने जरुवावासीहरुको पीडा « Yalambar Times
२४ मंसिर २०८१, सोमबार

कसले सुनिदिने जरुवावासीहरुको पीडा


यलम्वर टाइम्स
९ पुष २०७३, शनिबार १०:५८

teeशनिअर्जुन / दिनहुँ रोजगार गरेर दैनिक जीवनयापन गर्नेहरुको संख्या ९० प्रतिशत छ जरुवावस्तीमा । त्यहाँका जनता नजिकको बिरिङ खोलामा बालुवा, गिटी, चालेर जीविकोपार्जन गर्छन् । तथापी त्यस बस्तीका मानिसहरु एक भएर हिजोआज दुर्गा भवानी शक्तिपीठ खडा गर्न पुगेका छन् ।

उक्त पीठ खडा गर्नु उनीहरुको रहर होइन, बाध्यता हो । दिनहुँ उक्त बस्तीमा कोही झुण्डीएर, कोही विष सेवन त कोही अकालमै मृत्यु हुनेहरुको लस्कर लागेपछि जरुवावासीहरु त्रासमय जीवनबाट छुटकारा पाउनका लागि उक्त शक्तिपीठ खडा गरेका हुन् ।
कमाईका केही रकम मन्दिर निर्माणमा छुट्याउछन् । गाउँवासी मिलेर श्रमदान गर्छन् । कहिले मन्दिरले पूर्णता पाउने हो उनीहरुलाई थाहा छैन ।

बिहीबार दुर्गा मन्दिर शक्तिपीठको हरहिसाव सार्वजनिक गर्ने क्रममा नगरपालिकाका प्रमुखलाई उपस्थित गराएर आफ्नो पीडा सुनाउन खोजेका थिए । नगर प्रमुखको अनुपस्थितिले त्यहाँका जनता खल्लो मन गर्दै मन्दिर निर्माणमा भएको खर्च विवरण सार्वजनिक गर्दै सभा अगाडी बढाए । कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकै सहायक अधिकृत डेनजोनी आचार्य रहेका थिए । उनले आफ्नो मन्तव्यमा मन्दिर निर्माणका लागि गहकिला शब्द नबोलिदिँदा अझ खल्लो महशुस भएको अध्यक्ष खगेन्द्र दनुवारले पोखे ।

तोकिएको समयभन्दा २ घण्टा ढिलो भएको भेलामा सल्लाहकार मदन दनुवारले स्वागत सहित औचित्य प्रकाश पार्दै भने –‘हामी जरुवावासीहरुलाई दिवांगत आत्माले सताईरहेको छ । एकपछि अर्को गर्दै मान्छे मर्नेहरुको लस्कर लागेको थियो । कति मर्नका लागि झुण्डिएको अवस्थामा डोरी काटी बचाएका छौं । यस्तो आपत अब उप्रान्त आई नपारोस् भनी यस क्षेत्रमा मन्दिर खडा गरेका हौं । तर यसलाई पूर्णता दिन कठिन भएको छ ।’ दनुवारले सोझै भने –‘आज नगरका प्रमुख आएर हाम्रो पीडा सुनेर सहयोग गरिदिनुहुन्छ भन्ने आशा थियो । उहाँ नआएपछि हामी हिस्स भएका छौं ।’

हुन पनि हो सोही क्षेत्रका १९१ जनालाई रु. ५०० का दरले आजीवन सदस्य बनाएर मन्दिर निर्माणमा जुटेका रहेछन् । मन्दिर निर्माण गर्नु अघि सें जागित्रालाई मन्साउन त्यस क्षेत्रमा पूजापाठ र पुराण समेत लगाएका रहेछन् । त्यसैबाट संकलित रकमले मन्दिर निर्माण सुरु गरिएको समितिका सचिव नर्वदा दियालीले बताईन् । उक्त ठाउँमा पूजापाठ र पुराण लगाउँदा सांसद प्रेमबहादुर गिरी र सरिता प्रसाईले पनि रकम प्रदान गर्ने वचन दिएका थिए । उक्त रकम विस्तारै हात पर्नेमा विश्वस्त रहेको हिसाव सार्वजनिकमा दियालीले बताईन् ।

शनिअर्जुन–२ र ३मा पर्ने उक्त जरुवावस्तीमा हिसाव सार्वजनिक गर्ने समयमा बोल्ने अधिकांश वक्ताहरुले यस मन्दिर निर्माणको लागि सहयोग गर्न समाजसेवी, राजनीतिक दल र दानबीरहरुलाई आव्हान गरे । जरुवावस्तीसँगै रहेको विरिङ जलाधारका ब्लक नं. ७ का अध्यक्ष युवाराज पौडेलले हालसम्म अकालमा मृत्यु हुनेहरुको संख्या १० भन्दा बढी भएको, डोरी लिएर मर्न हिंड्नेहरुको संख्या ४ भन्दा बढी भएको हुँदा यस्तो दुःख पुनः आईनपरोस् भनी मन्दिर खडा गरिएको हो । यसमा जरुवावस्तीको दुःख बुझिदिन सबैलाई आव्हान गरे ।

स्थानीय दशु दनुवारले १० धुर जग्गा प्रदान गरेपछि उक्त ठाउँमा मन्दिर खडा गरिएको हो । आर्थिक अभावकै कारण त्यहाँका मानिसहरु देउसीभैलो खेली भजन किर्तनका लागि आवश्यक बाद्यवादन सामग्री समेत खरिद गरिएको बताए । मन्दिर समितिका अध्यक्ष खगेन्द्र दनुवारको सभापतित्वमा भएको कार्यक्रममा शिवनारायण प्राविका प्रअ सरस्वती सिटौला गोलेले यस्तो विकट ठाउँमा मन्दिर निर्माण गरेर धार्मिक सहिष्णुता कायम गरेकोमा जरुवावासीलाई धन्यवाद प्रदान गरेका थिए । उनले रु. २ हजार सहयोग समेत प्रदान गरे । अर्का अतिथि शीतलादेवी मन्दिरका अध्यक्ष प्रभाद दाहाल, हरिहर किर्तनका अध्यक्ष ख्याम काफ्ले, पूर्व प्रअ चिरञ्जीवि शिवाकोटी लगायतले आ–आफ्नो भनाई राख्दै सहयोग गर्ने वचन दिएका थिए ।

कार्यक्रममा मन्दिरका गुरु विष्णुप्रसाद घिमिरले मन्दिरलाई व्यवस्थित गर्न धेरै काम आवश्यक भएको बताउँदै उक्त मन्दिरमा चकचकी गाविसबाट दुर्गा भवानीको मूर्ति ल्याइएको बताए । माघभित्रमा उक्त मन्दिर निर्माण कार्य सम्पन्न गरी प्राणप्रतिष्ठापन गर्ने उनको कथन थियो । तर सहयोग पो मिल्ला कि नमिल्ला ?

मन्दिर प्रवेशद्वारका लागि बाटो नभएको अवस्था छ । ‘मन्दिर निर्माण कार्य सम्पन्न भए मन्दिरलाई चलायमान गर्न हामी सक्ने थियौं’– स्थानीय ज्ञानेन्द्र कार्कीले बताए । कार्यक्रमको समापनमा अध्यक्ष दनुवारले सभा बिर्सजन गर्दै भने यो बेला जरुवा वस्तीको पीडा सुनिदिने र मल्हम पट्टी लगाईदिने जो कोही मानिस हाम्रा लागि महान हुने बताउँदै जरुवावासीको विकासको लागि ढोका खोलिदिन नगरपालिका र दलहरुलाई आव्हान गरे ।