शनिअर्जुन / महिलाहरुले वेद पढ्नु हुँदैन भन्ने कुसंस्कारलाई अन्त्य गर्दै गार्गी वाङ्मय प्रतिष्ठान बाह्रघरेले सोमबारबाट यहाँका सासु–बुहारीहरुलाई वेद पढाउन सुरु गरेको छ ।
०५२ सालमा गार्गी प्रतिष्ठान सुरु गरिएतापनि बीचमा आइपर्ने समस्यालाई चिर्दै प्रतिष्ठानले आफ्नै भवनमा वेद पढाउन सुरु गरेको हो । यहाँ महिलाहरुलाई धर्मशास्त्र र वेदका ज्ञानहरु संस्कृत शिक्षामा पढाइन्छ भन्न थालेपछि यो बेला ५० भन्दा बढी महिलाहरु पढ्न थालेको प्रतिष्ठानका अध्यक्ष तथा शिक्षक रोहिणीविलास लुइटेलले बताए । वेद पढ्नेहरुमा अधिकांश बुहारीहरु छन् । वेदमा के छ त ? भनेर सासुहरु पनि कपी किताब बोकेर आउने गरेका छन् । पढ्नलाई कसैलाई रोकछेक छैन जुनसुकै जातिले इच्छा जाहेर गरे पढाइने अध्यक्ष लुइटेलले प्रतिक्रिया दिए ।
सोमबार वेद आदि वाङ्मयको पठनपाठन उद्घाटन गर्दै प्रमुख अतिथि टीकानाथ खनालले २५ वर्ष अघि योगी नरहरिनाथबाट स्थानपना भएको महिलाहरुलाई वेद पढाउने गार्गी वेद विद्यापीठकै रुपान्तरण हो यो अब असंख्य नारीहरु दैनिक वेद, गीता आदिको अध्ययन गर्ने ठाउँ भएको हुँदा प्रतिष्ठानलाई धन्यवाद प्रदान गरेका थिए । उद्घाटन कार्यक्रममा भवानी लुइटेल, गीता निरौला, भूपालप्रसाद खरेल, मीना दवाडी आदिले गार्गी वेदबाट नारीहरुलाई सम्मान गरेर वेद र गीता पढाइएको हुँदा नवयुगको प्रारम्भ भएको बताए । सोही कार्यक्रममा प्रमुख अतिथि खनालले प्रतिष्ठानलाई १० हजार रुपैयाँ र श्रीमद्भागवत महापुराणको प्रथम ग्रन्थ प्रदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष रोहिणीविलास लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत उपाध्यक्ष नरेन्द्र अधिकारीले गरेका थिए । महिलाहरुबाट स्वस्ति वाचन भएको कार्यक्रममा नवप्रवेशी छात्राहरुलाई गीता पाठ र वेद पाठ पं. दामोदर पोखरेलबाट अध्यापनको आरम्भ गराएका थिए । कार्यक्रमको सञ्चान भने तुलसा खरेल पोखरेलले गरेकी थिइन् ।