वाणिज्य भवन शनिअर्जुनको गहना हुनेः मन्त्रि बुढाथोकी « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

वाणिज्य भवन शनिअर्जुनको गहना हुनेः मन्त्रि बुढाथोकी


यलम्वर टाइम्स
४ माघ २०७३, मंगलवार ०४:४६

16118163_895939340543059_1044430767_nशनिअर्जुन / सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकीले शनिअर्जुन वाणिज्य संघको बन्दै गरेको भवनको अवलोकन गर्दै उक्त भवन निर्माणका लागि आफू लागि पर्ने बताएका छन् ।

सोमबार भवन अवलोकन तथा निर्माण अभियानद्वारा आयोजित कार्यक्रममा माननीय मन्त्रि बुढाथोकीले उक्त भवन निर्माण सम्पन्न भए शनिअर्जुनको गहना बन्ने बताए । उनले तत्काल आफ्नो तर्फबाट निर्माण कार्यलाई सहयोग गर्न ५० हजार दिने बताए । आफू रहेको मन्त्रालय आर्थिक चलायमान नभएको कर्मचारी प्रशासनको मात्र काम हुने भएको हुँदा निर्माण कार्यमा सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताएका थिए । सोही दिन अर्जुनधारा जेसीजलाई पनि रु. २० हजार दिने वचन दिएका थिए ।

कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका युवा नेता विनकुमार विश्वकर्माले शनिअर्जुन अब अर्जुनधारा नगरपालिका हुँदै विकासको बाटोमा अगाडि बढिरहेको बेला यस भवन आवश्यक मात्र होइन निर्माण गर्न जरुरी भएको बताउँदै निर्माण कार्यमा सशक्त भएर लाग्ने बताए । नयाँ शक्ति नेपालका केन्द्रीय नेता कुमार क्षेत्रीले आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने वचन दिएका थिए । माओवादी केन्द्रका भुपेन्द्र न्यौपानेले भवन निर्माणमा वाणिज्य संघको सारथी बन्ने बताए । एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटाले नगरको गहना भएर सबै व्यापारीको हितको लागि बनेको भवनमा हाम्रो पार्टीको सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वाणिज्य संघका प्रवक्ता इन्दिवर खड्काले बन्दै गरेको भवनको विषयमा व्याख्या गर्दै चालु आर्थिक वर्षमा सभाहल सहितको ६ कोठे अतिथि भवन र ट्वाइलेट बाथरुम तयार पारिने जनाएका थिए ।

शनिअर्जुन उद्योग वाणिज्य संघ अध्यक्ष बसन्तकुमार सोमानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि उद्धव थापा, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेवे, ट्रफिकका प्रमुख ढुण्डीराज गिरी, महिला नेतृ देवकला प्रसाई, पम्फा विक, जेसीज अध्यक्ष सार्दुल ओली, प्रेस क्लब अध्यक्ष दिपीन राई, नेपाली कांग्रेस नगर सभापति हेमराज खरेल लगायतको आतिथ्य रहेको थियो ।
संघका उपाध्यक्ष गोविन्द खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चतुर्भुज काफ्लेले गरेका थिए ।

सोही दिन नेपाली कांग्रेस शनिअर्जुनको भवन अवलोकन गर्दै मन्त्रि बुढाथोकीले भवन निर्माणका लागि ३० हजार सहयोग प्रदान गरेको नगर सभापति हेमराज खरेलले बताए ।