चेप्टीबासीको सहास शिव पोखरीसम्म गाडी पुग्यो « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

चेप्टीबासीको सहास शिव पोखरीसम्म गाडी पुग्यो


यलम्वर टाइम्स
९ माघ २०७३, आईतवार ०६:४९

cheptiदानाबारी / विकासको दृष्टिकोणले ओझेलमा परेको दानाबारी–१ चेप्टीमा स्थानीयबासी एकजुट भई बाटो निर्माण गरी शिव पोखरीसम्म गाडी पु¥याउन सफल भएका छन् ।

बाटो, स्वास्थ्य र खानेपानीबाट वर्षौदेखि सास्ती भोगिरहेका चेप्टीवासीहरुका लागि सहयोग गर्न न त गाउँ स्तरका नेताहरु नै तयार भए न त त्यहाँ क्षेत्रबाट विजयी हुन पुगेका पूर्वप्रधान मन्त्रि झलनाथ खनालको संसदीय कोषको रकम पुग्न सक्यो । जिल्ला विकासको त कुरै छाडौं । स्थानीय युवा रोशन फ्याँकले गुनासो गर्दै भने ।

कतैबाट पनि विकासमा सहयोग नपुगेपछि यस क्षेत्रका १२० घरका मानिसहरु मंसीर पुसको चिसो पनि नभनी मंसीर २० गतेबाट पुस २८ गतेसम्म निरन्तर श्रमदान गरेपछि जाली खोल्सीदेखि शिव पोखरीसम्म पुग्ने बाटो गाडी कुद्न लायकको बनेको छ । विकास कार्यमा अपहेलीत महशुस भएपछि त्यस क्षेत्रका जनता गैति, फरुवा, झम्पल बोकेर सोत बाटो निर्माणमा जुटेका थिए । बाटो निर्माण सम्पन्न गर्नका लागि त्यस क्षेत्रका अगुवा मेघबहादुर चोङ्वाङ रु. ४५ सय, श्रीप्रसाद इधिङ्गो रु. ४५ सय, जसबहादुर राई रु ४५, सूर्यबहादुर योङहाङ रु. ३२ सय ४०, देवेन्द्र ढकाल रु २ हजार ५०, याम लिम्बू १ हजार, जीवन विकास सहकारी १ हजार, आइतराज लिम्बू ७६०, खम्बासिंह योङहाङ लगायत अर्जुन राई, सन्तोष फ्याँक, शिव ठाकुर, गंगा लिन्देन, सागर फ्याँक, तुलसी लिम्बू, तारा तुम्ब्रोक, गम्भीरबहादुर र राजु थेगिमबाट जनही ५०० रुपैयाँ प्रदान गरेका छन् ।

विभिन्न व्यक्तिहरुले दिएको रकम खाजा नास्तामा खर्च भएको स्थानीय मेघबहादुर चोङ्वाङ बताउँछन् भने जाली खोल्सीबाट ट्याक्सी शिव पोखरीसम्म पुग्दा स्थानीयबासीहरु खुशीले गद्गद् हुन पुगेको पनि उनले सुनाए । चारैतिर डाँडा बिचमा चेप्टी खेल्सी भएको हुँदा उक्त ठाउँ पुग्न खुदुनाबारीबाट ६ किलोमिटर लाग्छ भने दानाबारी गाविसबाट पनि त्यतिनै लाग्छ । चुनावका अवसरमा बाहेक अरु बेला त्यहाँ राजनीतिक दलका नेताहरु कमै मात्र आउने गरेका छन् । त्यस ठाउँमा अझै पनि शुद्ध खानेपानी र बिरामी पर्दा तुरुन्त अस्पताल पुग्न कठिन हुने स्थानीय बताउँछन् ।