साँघुरिदै छ शनिश्चरे बजार « Yalambar Times
२९ भाद्र २०८१, शनिबार

साँघुरिदै छ शनिश्चरे बजार


यलम्वर टाइम्स
२२ माघ २०७३, शनिबार १०:०३

bazzar शनिअर्जुन / शनिअर्जुन नगरपालिका स्थापना भएपछि यस ठाउँको ग्रामिण क्षेत्र विकासमा लम्कँदै गएतापनि बजार क्षेत्र भने पुरानै संरचनामा रहेको हुँदा शनिश्चरे बजारलाई स्वच्छ र फराकिलो बजार बनाउन आव्हान गरेका छन् ।

झापाकै पुरानो र चर्चित बजार भनेर शनिश्चरेलाई चिनिएतापनि यहाँ लाग्ने हाटबजार साँघुरिदै जानु, सुर्तिबजार, घ्यू बजार, कुखुरा बजार लोप हुँदै जानुको पछाडि बजारको क्षेत्रफल कम भएकै कारण बजारलाई स्वच्छ र फराकिलो बनाउन आव्हान गरिएको हो ।

शनिश्चरेमा शनिबार बजार लाग्छ भनेर इलाम, फिदिम र झापाका विभिन्न कुना काप्चाबाट बिहीबार नै यस ठाउँमा आउने गथ्र्ये । बजार धुमधाम लाग्ने गथ्र्यो । तर शनिश्चरे बजारले बाहिरबाट आउने व्यापारिका लागि उचित स्थान नराखिदा धेरै व्यापारीहरु आउन छाडेका स्थानीय भुक्तभोगीहरुको भनाई छ ।

ढलको उचित व्यवस्था नहुनु

शनिश्चरे बजार क्षेत्रमा ढलको उचित व्यवस्था नहुँदा बीच भागको पैनी हालसम्ममा पनि फोहोर फ्याँक्ने थलो बनेको छ ।

उक्त पैनी सातपत्रे खोल्सीबाट बजार हुँदै बाह्रदशी खोलामा बग्ने गरेको छ । जति पनि बजेट
आउँछ त्यही पैनीमा लाग्ने गरेको छ । तर दीगो विकास हुन नसक्दा वर्षेनी उक्त पैनीमा खर्च गर्नु परेको स्थानीयहरु बताउँछन् । हाल उक्त पैनीको ढल निकासको लागि रु. ८ लाख नगरपालिकाले बजेट छुट्टिएको छ ।

लोप हुँदै गएको बजार

शनिबार लाग्ने शनिश्चरे बजारमा ७ ठाउँमा विभिन्न वस्तुका बजारहरु लाग्ने गरेका थिए । ति मध्ये सूर्ति, कुखुरा, घ्यू र सिद्रा बजार लोप हुँदै गएको छ । केरा बजार भने केरा व्यापारीहरुले जमिन खोजी आफै लगाउने गरेका छन् । खसी बजार जमिन अभावले साँघुरिएको छ ।

गोसखान बजारका नाममा मानिस बस्न थालेपछि सुक्दै गएको छ । शनिश्चरेमा लाग्ने यी बजारहरुलाई संरक्षण गरिए साँच्चैको सुन्दर बजार बन्नमा दुई मत नहोला ।

bazzar1साँघुरो बाटो

शनिश्चरे बजार क्षेत्र बाटो साँघुरो भएकै कारणले पनि शनिबार हाटबजार लाग्दा यातायातमा कठिनाई उत्पन्न हुने ट्राफिक इन्चार्ज जनक खड्काले बताएका छन् । खड्काका अनुसार शनिश्चरे बजारलाई व्यवस्थित गर्न र बाटो छेउछाउ लाग्ने बजारलाई अन्य ठाउँमा स्थान्तरण गरिए यातायातमा कठिन नहुने जानकारी दिए ।

सडकाको मापदण्ड भित्र परेको घरटहरा हटाउने कार्य सडकले गर्ने भएतापनि बाटो छेउछाउमा लगाउने पसललाई व्यवस्थित गर्न नगरपालिका लागि परेको नगर अधिकृत मनोज राउतले जानकारी दिए । शनिबार सडकको छेउमा लगाइने फलफुल र स्कुल नजिक रहेको सिद्रा पसललाई पनि उचित स्थानमा राखिने अधिकृत राउतले जनाए ।

पुरानो टहरा बढी

शनिश्चरे बजारको इतिहासमा बुढाथोकी परिवारको पनि साइनो रहेको छ । बजारलाई व्यवस्थित गर्न त्यो बेला नेता केशवकुमार बुढाथोकीको निकै प्रयास प्रश्चात बाहिरबाट आउने कपडा व्यापारीहरुका लागि टहरा निर्माण गरिएको थियो । आज त्यही टहरा मुनि अझै व्यापार चलिरहेको छ । बजारको छेउछाउमा ठूल्ठूला घर बन्दै गएतापनि बजार भने पुराना टिन र अव्यवस्थित घुम्ती भएको कारण बजार असोभनीय देखिन गएको बाहिरबाट आएको आगन्तुकहरुले प्रतिक्रिया दिएका छन् ।

स्मार्ट सिटीको लागि बजेट

शनिअर्जुन नगरपालिकाको खाका निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयले शनिअर्जुन नगरपालिकासँग सम्झौता गरेको छ । स्मार्ट सिटी कस्तो हुने भन्ने बहस शनिअर्जुनवासीमा चलिरहेको बेला शहरी विकास मन्त्रालयले खाका निर्माण गर्नका लागि पहिलो पटक ५० लाख दिने निर्णय गरेको बताएका छन् ।

शनिअर्जुन नगरपालिकाका अधिकृत मनोज राउत र मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा बीच सम्झौता भएको र आउने बैशाखबाट खाका निर्माणका लागि विज्ञहरु खटिने मन्त्रालयले जनाएको छ ।