जनमुक्तिको अन्तर्राष्ट्रिय सम्मेलनले ठोस सन्देश दिन सकोस् « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जनमुक्तिको अन्तर्राष्ट्रिय सम्मेलनले ठोस सन्देश दिन सकोस्


यलम्वर टाइम्स
२१ फाल्गुन २०७३, शनिबार ०५:०२

Janmuktiflagदिपीन राई

झापा / पञ्चायती व्यवस्थाको अन्त्यसँगै दल दर्ता गर्ने प्रक्रियामा थुप्रै दलहरु उदाएका थिए । त्यस मध्येका  नवीनतम् सोच लिएर उदाएको दल हो राष्ट्रिय जनमुक्ति पार्टी । यस राजनीतिक दलले अन्य दलहरुभन्दा फरक विचार र फरक आवाज लिएर उदाएको थियो । निर्वाचन कार्यालयमा हेर्ने हो भने यस दलको दर्ता १२ औं स्थानमा रही आएको छ । त्यसबेला नेपाली कांग्रेसले प्रजातन्त्र र समाजवादको आवाज उठाएको थियो भने कम्युनिष्ट संगठनहरुले बहुदलीय जनवाद र वर्गीय मुक्ति जस्ता आवाजहरु उठाएका थिए । तराईबाट सद्भावना पार्टीले जनमुक्तिकै शैलीमा आफ्ना आवाज बुलन्द गर्दै उदाएको थियो ।

आफ्नो स्थापनासँगै राष्ट्रिय जनमुक्ति पार्टीले जातीय मुक्तिका आधारहरु, संघीय राज्यका अवधारणाहरु, धर्मनिरपेक्ष र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको बहस उठाएको थियो । प्रान्तीय राज्यको कुरा गर्दा जनमुक्तिलाई र तिनका कार्यकर्तालाई विखण्डन र जातिवादी नेताको आरोप लगाइन्थ्यो । कतिपय ठाउँमा यस पार्टीले आमसभाको आयोजना गर्दा सरकारी शक्ति प्रयोग गरी आमसभा विथोल्ने गर्थे । बाहुन विरोधी पार्टी भनिन्थ्यो । त्यस्ता चुनौतीलाई सामना गर्दै र सरकारले चालेको चुनावी रणनीतिमा पनि सहभागि हुँदै कति पनि विचलन नभई यहाँसम्म आउन सफल भयो । तराईमा प्रान्तीय राज्यको अवधारणा सद्भावनाले बोक्दै आएको थियो । तर, तराईमा सद्भावनाका अध्यक्ष गजेन्द्रनारायण सिंहको स्वर्गीयवास भएपछि सद्भावना बिटुलिन पुग्यो । टुक्रा–टुक्रा हुन गयो । त्यस मानेमा जनमुक्ति भने विचलन भएतापनि टुक्रिएतापनि यसले उठाएको सिद्धान्तकै कारण सधैं यसका कार्यकर्ताहरु बफादार भई मालामा गाँसिए जस्तै पार्टीलाई बचाई राखे । मेचीदेखि महाकालीसम्म यस पार्टीले कार्यकर्ताहरु फैलाउन सफल भएको छ । आज २५ औं बसन्त पार गरेर रजत महोत्सवमा जुट्न सफल भएको छ । जुनसुकै पार्टीमा उतारचढाव भएतापनि जनमुक्ति, जनमुक्ति नै भएर बस्न सक्यो । त्यसको ज्वलन्त उदारण हिमाली जिल्लाको ताप्लेजुङलाई लिन सकिन्छ भने अर्को जिल्ला रोल्पालाई लिन सकिन्छ । जहाँ जनमुक्ति किल्लै भएर रहेको छ ।

यतिका कष्टकर व्यहोर्दै संसदीय तथा स्थानीय चुनावमा भिड्दै विभिन्न आरोहअवरोह खेप्दै आएको बेला फाल्गुन २३ देखि २५ गतेसम्म काठमाडौंमा गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनले नौलो र कार्यकर्ता आकर्षित गर्ने खाल्को सन्देश दिन सक्नुपर्छ । सम्मेलनले अरु राजनीतिक दलहरुभन्दा पृथक शैलीको दस्तावेज फ्याँक्न सक्नुपर्छ । देशलाई विकासको गतिमा लाने, नेपाली जनतालाई आर्थिक समृद्धिको बाटोमा डोहो¥याउँने, तँ ठूलो जाति, म सानो जाति भन्ने हिनता बोधलाई त्याग्ने खाल्को सन्देश दिन सक्नुपर्छ । अर्थले हिमाल, पहाडमात्र होइन तराई पनि पिल्सिदै गएको छ । त्यहाँका जनतालाई समृद्धिको बाटोमा लैजानका लागि दिशाबोध गराउँन सक्नुपर्छ । त्यतिमात्र होइन संस्थागत रुपमा अगाडि बढ्दै आएका जनमुक्ति योद्धाहरुलाई सम्मान गर्न र तिनका सन्ततिहरुलाई यस पार्टीमा जागरुक गराउँन सक्नुपर्छ । देश विदेशमा रहेका जनमुक्तिका कार्यकर्ताहरुलाई स्वदेशमै केही गर्न सक्ने वातावरण दिने सन्देश अन्तर्राष्ट्रिय सम्मेलनले गरोस्। यही छ पुरानो राजनीतिक दल जनमुक्तिलाई शुभकामना ।