विरिङ्ग जलाधार र जग्गा धनी बीच मित्रता « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

विरिङ्ग जलाधार र जग्गा धनी बीच मित्रता


यलम्वर टाइम्स
८ चैत्र २०७३, मंगलवार ०७:२७

अर्जुनधारा / विरिङ्ग जलाधार ब्लक नं. ७ र जलाधारभित्र रहेका जग्गा धनी बीच १६ बुँदे सम्झौतापछि मित्रताको व्यवहार प्रकट गर्दै सम्पन्न भएको छ ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा गठित माकुरा सहयोगी समूहको सहजीकरणमा दुवै पक्षबीच छलफल गरी सम्झौता भएको राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाले जानकारी दिइन् । सम्झौता अनुसार जलाधार संरक्षण समिति निर्माण गर्दा जग्गा धनी र सरोकारवाला बीच समावेशी ढंगबाट सबैलाई अपनत्व हुने गरी कार्य समिति निर्माण गरी ब्लक नं. ७ लाई थप कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउने, बहाव धारमा परेका नम्वरी जग्गाको मालपोत, तिरो वा अन्य सरकारी शुल्क मिनाह गराउँन दुवै पक्षले पहल गराउँने , नम्वरी जग्गाबाट ढुंगा, गिटी, बालुवा निकाल्दा धनी र समितिको पूर्व स्वीकृत र नियन्त्रणमा निकाल्नु पर्ने, जलाधार क्षेत्रभित्रका हरेक गतिविधिलाई पारदर्शी बनाउनु पर्ने जस्ता १६ वटा बुँदा रहेका छन् ।

जलाधार समितिका अध्यक्ष युवाराज पौडेको सभापतित्वमा भएको कार्यक्रममा जलाधारका संस्थापक पूर्वमन्त्रि बीरमणि ढकाल, मोहन काफ्ले लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन भने मदन दनुवारले गरेका थिए ।