अर्जुनधारा / मधुमेह र उच्च रक्तचाप भएका बिरामीलाई मात्र सरल छैन, गर्भवती भएका महिलाहरुका लागि बच्चा जन्माउन पनि प्राथमिक उपचार केन्द्र शनिश्चरे सहज बनेर आएको छ ।
थाहा नपाई मधुमेहको औषधी क्लिनिक तथा नजिकको अस्पतालमा किनेर खाने प्रचलन छ । अब प्राथमिक उपचार केन्द्रले सित्तैमा दिने गरेको उपचार केन्द्रका डा. मोदनाथ संग्रौलाले बताए भने उच्च रक्तचाप भएका रोगीहरुका लागि पनि औषधी प्रदान गरिदै आएको बताए । गाउँघरमा उच्च रक्तचापका कारण अकालमा मृत्यु हुनेहरु अहिले पनि कम छैनन् । स्वास्थ्य चौकीमा जानुपर्छ चेकजाँच पछि सित्तैमा औषधी पाइन्छ भन्ने सन्देश व्यापक नहुँदा कतिपय बिरामीहरु महंगो अस्पतालमा धाएर पैसा खर्च गरिरहेका छन् । अब जनताले महंगो अस्पताल र क्लिनिक धाउनु नपर्ने डा. संग्रौलाको भनाई छ । उनी ८ महिना अघि सरुवा भएर शनिश्चरे प्राथमिक उपचार केन्द्रमा आईरहँदा अस्पतालको अवस्था नाजुक जस्तै थियो । तर अहिले सबै चिजको सुविधा दिन तयार भएका छौं ।
राज्यले ७० प्रकारका औषधी सित्तैमा दिने भनि घोषणा गरेतापनि प्राथमिक उपचार केन्द्रमा ३५ प्रकारका औषधी उपलब्ध हुने वरिष्ठ अहेव अधिकृत मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार प्राथमिक तहमा गरिने सबै सुविधा हामी कहाँ छ । तर कम सन्देश प्रवाह भएको कारण जनता आउन सकिरहेका छैनन् । अब हामी राजनीतिक दल, संघसंस्था, महिला सञ्जाल मार्फत आमजनतामा यस्ता सुविधाहरु रहेको कुरा छलफल र गोष्ठी मार्फत पु¥याउने छौं । वडा र टोलमा यस्ता छलफल चलाए धेरै बिरामीहरु क्लिनिक धाइरहनु पर्दैन ।
यस उपचार केन्द्रमा २ डाक्टर लगायत १९ जना स्वास्थ्यकर्मीहरु सक्रिय रुपमा सहभागि छन् । तर, उपचार सहज छ भनेर रोगी नआइदिँदा विभिन्न क्लिनिक धाउने गरेको हामीले पाएका छौं वरिष्ठ अहेव अधिकृत बस्नेतले बताए । उनका अनुसार श्रावण महिनादेखि यता ३१ जना टीबी रोगीहरुले सेवा लिएको, ६६ जनाले सुरक्षित गर्भपतन गराएको, ३३२ जनाले नियमित गर्भवती जाँच गराएतापनि १६ जनाको मात्र डेलिभेरी भएको बताए । सुरक्षित बच्चा जन्माउनको लागि स्टाफ नर्स मञ्जु खतिवडा, राजकुमारी शेर्पा राई, सुशिला कार्की र सम्झना जोशीको छुट्टै गाईनो वार्ड सहित टिम खटिएतापनि केही महिना यताबाट उपचार केन्द्रमा बच्चा जन्माउन गर्भवती महिला नआई अन्य क्षेत्र जाने गरेको बताए ।
बच्चा जन्माउनको लागि छुट्टै वर्थिङ सेन्टर रहेको डा. संग्रौलाले जानकारी दिए । बिरामी भएर आएका गर्भवती महिलाहरुलाई यस ठाउँमा राखेर बच्चा जन्माउन सहज हुने र जन्मेका बच्चालाई वेवी वार्डमर र अक्सिन कम भएकाहरुलाई अक्सिजन कन्सलट्रेसन समेतको सुविधा हुँदा पनि धेरै गर्भवती महिलाहरु महंगो खर्च गरी बच्चा जन्माउन बाहिर जाने गरेको बताउँछन् । त्यति मात्र होइन राज्यले चेकजाँच गर्नेदेखि सुत्केरीलाई यातायातको खर्च समेत दिने गरेको छ । पहिलो कुरो त बिरामीले नै बच्चा जन्माउन यहाँ सहज हुन्छ, हुँदैन भनेर सोध्ने गर्छन् । केही समय लाग्ने भन्दा आत्तिएर हतार–हतार बाहिर लग्ने गरेको डा. संग्रौलाको भनाई छ । त्यसो त उपचार केन्द्रमा एम्बुलेन्स नभएर पनि यो समस्या आएको हो कि ? पहिला सुविधा सम्पन्न भवन नहुँदा पनि धेरै गर्भवती महिलाले प्राथमिक उपचार केन्द्रमै बच्चा जन्माउनेहरुको संख्या उल्लेखीय थियो । त्यो बेला एम्बुलेन्स पनि सञ्चालनमै रहेको थियो । हाल एम्बुलेन्स थन्किएकै कारणले पनि बच्चा जन्माउनेहरु नआएका हुन सक्छन् । २/२ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी भएतापनि गाउँघरका बिरामीहरु आईनपुगेको सञ्चालक सदस्य श्याम घिमिरेको भनाई छ । हाल प्राथमिक उपचार केन्द्रमा मुटुको गति नाप्ने यन्त्र (ईसीजी) पनि छ । त्यतिमात्र होइन खकार, मलेरिया, कालाजार, एचआईभी जस्ता रगत जाँच फ्रिमा गरिने गरेको डा. संग्रौलाले जानकारी दिए ।
कहाँ छ प्राथमिक स्वास्थ्य केन्द्र
स्थानीय स्तरमै यतिका सुविधा सम्पन्न प्राथमिक उपचार केन्द्र भएतापनि यो उपचार केन्द्र कहाँ छ ? कुन ठाउँमा पर्छ ? जनतालाई अझै थाहा हुन सकेको छैन । न यसको बोर्ड नै राखिएको छ, न प्रचार नै गरिएको छ । ठाउँ–ठाउँमा यसको बोर्ड राखिदिएर प्रचार गरे धेरै असाहय जनता पैसा बोक्दै क्लिनिक धाइरहनु पर्दैन थियो एक जानिफकारले प्रतिक्रिया दिए ।
अर्जुनधारा–९ स्थित रहेको उपचार केन्द्रमा सञ्चालन समिति पनि रही आएको छ । उक्त सञ्चालन समितिले नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा छलफल पनि चलाउँदै आएको छ । तर, ढिलाई भएको कारण एम्बुलेन्स कसरी ल्याउने ? के गर्ने ? भन्ने अलमलमा परेको सञ्चालन समितिका एक सदस्यले बताए । उक्त उपचार केन्द्रमा रिपोर्टिङको लागि ठीक १० बजे त्यहाँ पुग्दा अधिकांश कर्मचारीहरु समयमा उपस्थित नभएको देखिएको थियो । करिब ५५ मिनेटसम्म त्यहाँ रहँदा केही कर्मचारीहरु आउँदै गरेका देखिन्थ्ये । त्यहाँका प्रमुख डा. सुशिला कुमारी यादव बिदामा रहेको र उनी नहुँदा पनि जनतालाई दिने सेवामा कमि नआएको केन्द्रका कर्मचारीले जानकारी दिए । त्यहाँ १२ जना स्वयम्सेविका समेत रहेको र ती स्वयम्सेविकाबाट खोप कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आएको पनि उपचार केन्द्रले जानकारी दिएको छ ।
उपचार केन्द्रलाई जग्गा दान
उपचार केन्द्रबाट जनताले अत्याधिक लाभ लिन सफल हुन् भन्ने उद्देश्यले सालबारीका टंकप्रसाद गिरीले १० धुर जग्गा गाउँघर क्लिनिकका लागि दिएका छन् । त्यसरी नै कालिस्थानका योगेन्द्रप्रसाद पोखरेलले गाउँघर क्लिनिककै लागि भनि १ कठ्ठा जग्गा प्रदान गरेका छन् । माता मन्दिर नजिक शिखर टोलमा कमल आचार्यले ९ धुर जग्गा दिएका छन् ।