जाँतोको अस्तित्व संकटमा « Yalambar Times
२१ आश्विन २०८१, सोमबार

जाँतोको अस्तित्व संकटमा


यलम्वर टाइम्स
१२ बैशाख २०७४, मंगलवार १०:५६

Janto

सन्देश सुब्बा

पाँचथर / अहिलेका बालबच्चालाई जाँतो के हो ? भन्ने कुरा थाहा नहुन सक्छ । निर्माण गर्ने ठाउँ र प्रयोग गर्ने विधि नै हराउँदै गएपछि जाँतो के हो भनेर थाहा नहुनु स्वाभाविक ठानिन्छ । वर्षैदेखि जाँतो निर्माण गर्दै आएको पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१, दोरुम्बाका जोगी, तामाङ र दमाई समुदायले पुस्तौंदेखि बनाउँदै आएको ‘दोरुम्बे जाँतो’ को अस्तित्व संकटमा परेको हुँदा हिजोआज शहरबस्तीमा जाँतो भन्ने चिज नौलो बन्दै गएको छ । प्रविधिको विकाससँगै गाउँ–गाउँमा पिसानी गर्ने आधुनिक उपकरणहरु भित्रिएपछि उनीहरुको जाँतो बनाउँने पेशा अहिले आएर अप्ठ्यारोमा परेको हो ।

जाँतो खोज्ने मानिस आउँन छाडेपछि १५ वर्षको उमेरदेखि गर्दै आएको जाँतो बनाउँने काम छाडेर अहिले खेती किसानीमा लागेको दोरुम्बाका खड्गप्रसाद जोगीले बताए । ‘बाबुले बनाएको हेरेर सिकेको जाँतो बनाउँने कामले जीवन चलाउँन ठूलो भरथेग गरेको थियो,’ उनले भने ‘अहिले गाउँ–गाउँमा मिल आयो, जाँतो बिक्नै छोड्यो, खेतीपातिमा लागेको छु ।’

खड्गप्रसाद मात्रै होइन पुस्तौंदेखि ज्याला मजदुरीका कामसँगै जाँतो बनाएर गुजारा गर्दै आएका सो गाउँका तीन घर जोगी र एक–एक घर तामाङ र दमाई परिवार सबैले जाँतो बनाउँने काम चटक्कै छाडेका छन् ।

खड्गप्रसादका अनुसार पहिले एक दिन पनि जाँतो बनाउँने कामबाट फुर्सद मिल्दैनथ्यो । पाँचथरसँगै तेह्रथुम, ताप्लेजुङ, इलाम र भारतको सिक्कम–दार्जिलिङसम्मका मानिस जाँतो किन्न आउँथे । पाँचथरको दोरुम्बामा बनेको जाँतो भनेपछि टिकाउ र गुणस्तरीय हुने विश्वास गरिन्थ्यो । त्यसैले जाँतोको नाम नै ‘दोरुम्बे’ भनेर चर्चित बनेको खड्गप्रसाद आफ्नो अनुभव सुनाउछन् । भाले–पोथी जाँतोको मूल्य ४० रुपैंयाँ हुँदादेखि जाँतो बनाउँन थालेका खड्गले एक हजार हुँदै दुई हजार रुपैंयाँ जोडिसम्ममा बिक्री गरेको बताउँछन् ।

सो गाउँका जाँतो बनाउँने कालिगढले दोरुम्बादेखि दुई घन्टा पैदल हिंडेर चाम्बोटे भन्ने ठाउँबाट ढुंगा ल्याइ जाँतो बनाउँने गरेको उनीहरु बताउँछन् । जुनसुकै ढुंगा जाँतो नबन्ने र जाँतो बन्ने ढुंगा चाम्बोटेमा मात्र रहेको खड्गप्रसादले बताए । उनका अनुसार भाले–पोथी जाँतो बनाउँन तीन दिन लाग्छ ।

आक्कल–झुक्कल मानिस जाँतो खोज्न आउँने गरेकाले अरुले छाडे पनि आफूले भने वर्षमा चार/पाँच जोडिसम्म जाँतो बनाउँने गरेको खड्गले बताए । यसरी आउँने मानिसलाई खड्ग १५ सयदेखि दुई हजारसम्ममा जाँतो दिने गरेका छन् ।

बढ्दो आधुनिकतासँगै परम्परागत सामग्रीहरुको प्रयोग गर्ने मानिसको संख्या घट्दै जाँदा मकै, गहुँ, कोदो, फापर, चामल लगायतका वस्तुलाई पिसेर पीठो बनाउँने जाँतो बिक्न छाडेको हो ।

त्यही भएर अहिले सो समुदायका युवा बाबु–बाजेले गर्दै आएको औंजारले ढुंगा खिपेर जाँतो बनाउँने पेशालाई अंगाल्नुको साटो वैदेशिक रोजगारीमा जाने गरेका छन् ।