माझीटारको पीडाः न राज्यले सुन्यो न स्थानीय नेताले « Yalambar Times
११ पुष २०८१, बिहीबार

माझीटारको पीडाः न राज्यले सुन्यो न स्थानीय नेताले


यलम्वर टाइम्स
१६ बैशाख २०७४, शनिबार ०५:५४

panchthar1
विद्यालय जाँदै गरेका स्थानीय बालबालिकाहरु ।

सन्देश सुब्बा
पाँचथर / पाँचथर–तेह्रथुम सीमाना, तमोर नदी किनारामा अवस्थित माझीटारका माझी समुदाय समस्यै समस्या झेलेर दैनिकि बिताउँन बाध्य छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–७, मा पर्ने माझीटार स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता अत्यावश्यक सेवाबाट बर्षौंदेखि बञ्चित छ ।
३२ घर माझी समुदाय र केही तामाङ समुदायको बसोबास रहेको माझीटारबासी अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा छन् । बर्षौंदेखि हेंवाखोलाको दुषित पानीलाई खानेपानीको रुपमा प्रयोग गर्दै आएका त्यहाँका स्थानीय अहिले पनि त्यहीं खोलाको भरमा छन् । माझीटारदेखि केही दुरी माथि हेंवा ए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ भने तल्लो हेंवा जलविद्युत आयोजना निर्माणधिन छ । ‘एकैछिनमा खोला धमिलो हुन्छ, कहिले एकैछिनमा पानी सुक्छ तर पनि हामी त्यहीं खोलको पानी खान बाध्य छौं’ स्थानीय सुनिता माझीले भनिन् ‘केहीले फिल्डर गरेर खाए पनि सबैमा त्यो चेतना छैन ।’
खानेपानीको समस्या मात्र होइन शिक्षा र स्वास्थ्य सेवाको पहुँचबाट पनि टाढा छ माझीटार । गाउँमा कक्षा–३ सम्म पढाइ हुने महादेव आधारभूत विद्यालय छ । त्यसपछि फिदिम नगरपालिका–४, सालघारीमा कक्षा– ५ सम्म पढाइ हुने विद्यालय भए पनि बाँकी कक्षा पढ्नका लागि भने नजिकै विद्यालय नहुँदा अधिकांशले बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता छ । हालसम्म माझीटारका माझी समुदायमा एसएलसी पास गर्ने दुई जना पुरुष र दुई जना महिला मात्र रहेको स्थानीय राम माँझीले बताए । कक्षा–५, छिचोलेपछि पढ्नलाई अन्यत्रै जानुपर्ने भएकाले अधिकांश बालबालिकाले बीचैमा पढाइ छाडी अभिभावकले जे काम गर्छन् त्यै काम गर्ने गरेको रामको भनाई छ ।
सहज स्वास्थ्य सेवा पाउँन नसक्दा माझीटारबासीले सधैं जोखिमको जीवन बिताउँनु परेको महादेव आधारभूत विद्यालयका शिक्षिका सुनिताले बताइन् । उनका अनुुसार सबैभन्दा बढी त्यहाँका महिलाले प्रजनन स्वास्थ्यमा जोखिमको सामना गर्नुपरेको छ । जनचेतनाको अभावका कारण प्रजनन स्वास्थ्यबारे अपनाउँनु पर्ने सजगताको बिषयमा माझीटारका महिला बेखबर रहेको सुनिताको भनाई छ । त्यस्तै खोलाको पानी खानुपर्दा बालबालिकाहरु पानीजन्य रोगको शिकार हुने गरेका छन् ।
भर्खरै बनेको नयाँ संरचनाको स्थानीय तहले पनि माझीटारबासीलाई उपेक्षा गरेको छ । नयाँ बनेको स्थानीय तह अनुसार माझीटारबासीले वडा केन्द्रबाट सेवा लिन तीन घन्टा टाढाको सल्लेरी पुग्नुपर्नेछ भने गाउँपालिका केन्द्रबाट सेवा लिन एक दिनै हिंड्नुपर्छ । राज्यको आँखाले कहिल्यै नदेखेको माझीटारलाई जिल्लाका दल र नेताहरुले पनि हरेकपल्ट आउँने चुनावको पूर्वसन्ध्यामा भोट आफ्नो पक्षमा पार्न आश्वासन दिने काम बाहेक केही नदिएको सुनिता बताउँछिन् । उनले भनिन्– ‘चुनाव आउँदा खानेपानी, बिजुली र अरु सुविधाहरु दिन्छौं भन्दै नेताहरु आउँछन्, चुनाव सकिएपछि अहिलेसम्म कोही पनि फर्केर आएका छैनन् ।’
माझीटारका माझी समुदाय पहिले डुङ्गा चलाएर र तमोर नदीमा माछा मारेर जीविकोपार्जन गर्दथे । उनीहरुको पुख्र्यौली पेशा २०५७ सालमा तमोरमा झोलुङ्गे पुल बनेपछि खोसियो । नदीमा माछा मार्ने पनि माझी भन्दा अन्य समुदायका मानिस धेरै भएपछि माछा मार्नबाट समेत माझी समुदाय विस्थापित बन्नु परेको उनीहरुको गुनासो छ । अहिले ७६२ मेगावाट क्षमताको तमोर जलाशाययुक्त जलविद्युत आयोजना बन्ने कुराले उनीहरुमा अर्को पिरलो थपिएको छ । यदि तमोर ड्याम बन्यो भने माझीटार पनि डुबानमा पर्नेछ । माझीटारबासीले तमोर ड्याम बन्नुपूर्व आफूहरुलाई राज्यले सुरक्षित रुपमा स्थानान्तरण गरिदिनुपर्ने माँग गर्दै आएका छन् ।