टेम्पो व्यवसायी भन्छन् –‘लाइसेन्स नहुँदा हिम्मत आउँदैन’ « Yalambar Times
१० असार २०८२, मंगलवार

टेम्पो व्यवसायी भन्छन् –‘लाइसेन्स नहुँदा हिम्मत आउँदैन’


यलम्वर टाइम्स
२४ बैशाख २०७४, आईतवार ०६:४५

tempo

अर्जुनधारा / वैदेशिक रोजगारबाट फर्केका अधिकांश युवाहरु यो बेला सिटी सफारी र टेम्पो व्यवसायमा झुम्मिएको हामी पाउँछौं । उनीहरुले सुखका साथ हर्रर… गाडी चलाएको देखिएतापनि हातमा सवारी साधनको चालक अनुमति पत्र (लाइसेन्स) नहुँदा आधी मासु भएर चलाउनु परेको गुनासो पोख्छन् ।

झापामा ३ हजार सिटी सफारी र १ हजार टेम्पो दर्ता भएको छ । दर्तासँगै सिटी र टेम्पो चलाउने चालकहरुको हातमा लाइसेन्स भने छैन । झापा अर्जुनधारा–४ निवासी टेम्पो व्यवसायी दिलीप तामाङ भन्छन् –‘हातमा लाइसेन्स भइदिए अझ कमाउने हिम्मत आउँथ्यो ।’ साँझ परेपछि आफै तर्किएर हिंड्नु पर्ने, यात्रुहरुले भनेको ठाउँमा पु¥याउन नसकिने भएको हुँदा लाइसेन्सको अति नै महत्व भएको उनको भनाई छ । दिलीप भन्छन् –‘लाइसेन्स नहुँदा त हजार १५ सय कमाइन्छ भने लाइसेन्स हुँदा आँट आउँछ, गाडी पुग्ने ठाउँमा यात्रुलाई पु¥याउन सकिन्छ, आम्दानीको स्रोत पनि बढ्ने थियो ।’

दिलीप मात्र होइन, समिर बस्नेतको भनाई पनि त्यस्तै छ । उनी विदेशमा भन्दा स्वदेशमा कमाएको पैसा टिकाउ भएको बताउँछन् । ११–११ वर्षसम्म विदेशमा बसेर आएका जीवन तामाङ पनि टेम्पो व्यवसायमा हात हालेपछि पैसाको अनुहार देख्न पाएको बताउँछन् । तर लाइसेन्स हातमा नभएको हुँदा निरिह भएर साधन चलाउनु परेको उनको दुखेसो छ ।

त्यतिमात्र होइन जथाभावी लिइने पटके करबाट पनि टेम्पो व्यवसायीहरु हैरान बेहोर्नु परेको छ । पटके सवारी करमा टेम्पोको भाडा लिने नीति नभएतापनि मनपरी तरिकाबाट रु. १०, १५ र २० लिन गरेका छन् ।

शनिश्चरे क्षेत्रमा मात्र ६० भन्दा बढी टेम्पो भेटिन्छन् । ती सबै प्रायः व्यस्त रहेको टेम्पो व्यवसायी प्रकाशकुमार विश्वास बताउँछन् । छोराछोरी पनि पढाउन सकिने, किस्ता तिर्न पनि भ्याइने, परिवारसँग सुख, दुःख बस्न पाइने भएको हुँदा अधिकांश टेम्पो व्यवसायी युवाहरु रहेको पाउँछौं । युवा पुरुष मात्र होइन, यस व्यवसायमा महिला व्यवसायीहरु पनि उत्तिकै सक्रिय रहेका छन् ।

लामो समय ठूला गाडी चलाउँदै आएका डम्वर केसी पनि हाल टेम्पो व्यवसायी भएका छन् । यस व्यवसायमा लाग्दा अति नै व्यस्त पनि भइने, आर्थिक खेलाउन पनि पाइने भएको हुँदा ढिलो प्रवेश गरेको गुनासो गर्छन् ।

शिक्षित युवाहरु पनि

टेम्पो तथा सिटी सफारी व्यवसायमा शिक्षित बेरोजगार युवाहरुको पनि उत्तिकै रहेका छन् । झापामा मात्र ३ हजारभन्दा बढी एसएलसी र स्नातक उत्तीर्ण गरेका युवाहरु यस व्यवसायमा पाइन्छन् ।

उनीहरु यस टेम्पो व्यवसायमा नलाग्ने हो भने बेरोजगारका कारण नकारात्मक क्षेत्रमा देखिने पक्का छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीका अनुसार अहिलेसम्म सिटी सफारी र टेम्पो व्यवसायीहरुबाट नकारात्मक गतिविधि र दुर्घटना जस्ता कार्यहरु भएको पाईदैन ।

टेम्पो व्यवसायीहरुले सवारी चालक अनुमति पत्र माग गरे तापनि हाल ७ हजार मोटरसाइकल चालकलाई लाइसेन्स प्रदान गरिसकेका छौं । अब ७ हजार जनालाई बाँकी छ । त्यसपछि सिटी र टेम्पो चालकलाई हामी लाइसेन्स प्रदान गर्नेछौं ।