ऋण काडेर सडक बिस्तार « Yalambar Times
३० बैशाख २०८२, मंगलवार

ऋण काडेर सडक बिस्तार


यलम्वर टाइम्स
२४ बैशाख २०७४, आईतवार ०७:०१

Baato

सन्देश सुब्बा

पाँचथर / जिल्लाको याङ्वरक गाउँपालिका–१, च्याङथापु स्थित ढाँडे गाउँ बासीले ऋण काडेर सडक बिस्तारको काम सुरु गरेका छन् ।

गाउँलाई यातायात सेवाको पहुँचमा पु¥याउँन सो गाउँका दलबहादुर राई, मनोज राई र तीर्थ तुम्बापोले आफ्नो नाममा कपाली तमसुक बनाई एक लाख ऋण काडेर सडक बिस्तारको काम थालेका हुन् ।

उनीहरुले स्थानीय प्रेमप्रसाद भण्डारीसँग ऋण लिएर च्याङ्थापु बजारबाट करिब दुई किलोमिटर टाढा रहेको ढाँडे गाउँ जाने एक सय ५० मिटर सडकको ट्रयाक ओपन गरेका हुन् । सडक विकासको प्रमुख आधार भएकाले गाउँमा सडक पु¥याउँन आफूहरुले कपालि तमसुक लेखेर भए पनि सडक बिस्तारको काम सुरु गरेको मनोज राईले बताए ।

उक्त ऋण तिर्न सम्भावित स्रोतहरुको खोजि भइरहेको मनोजले बताए । उनले भने –‘कतै पनि स्रोत नजुटे व्यक्तिगत रुपमै ऋण तिर्ने आँटले काम थालेका हौं ।’

गाउँमा उत्पादिन हुने विभिन्न कृषिजन्य वस्तुहरुको निर्यात गर्न सहज होस् भन्ने उद्देश्यले ऋण काडेर सडक खानेको अर्का ऋणी तीर्थले बताए । विगतमा पटक–पटक सडकको माग गर्दा समेत स्थानीय निकाय र दलहरुबाट आफ्नो गाउँको आवाजको सुनुवाइ नभएकाले गाउँमा सडक पु¥याउँन आफैं लागिपरेको उनले बताए ।

उक्त सडकलाई च्याङथापु बजारको कुवापानीदेखि ढाँडे गाउँ हुँदै लुङ्रुपाको वासुम जोड्ने दीर्घकालीन लक्ष्य रहेको अर्का ऋणी दल बहादुरको भनाई छ ।

बहुचर्चित मध्यपहाडी लोकमार्गको सर्वे समेत सुरुमा यहीं हुँदै भएको तर पछिबाट राजनीतिक शक्ति प्रयोग गरी च्याङथापुदेखि फलैंचाको तिम्तिम्बु, साँगा हुँदै लगिएको उनले गुनासो गरे ।

उक्त स्थानबाट बिस्तार गर्दा लोकमार्गको दुरी कम हुने र लागत समेत घट्ने उनले बताए ।