अर्जुनधारामा जनमुक्तिले कडा प्रतिस्पर्धा गर्ने « Yalambar Times
२९ भाद्र २०८१, शनिबार

अर्जुनधारामा जनमुक्तिले कडा प्रतिस्पर्धा गर्ने


यलम्वर टाइम्स
१४ जेष्ठ २०७४, आईतवार ०८:४३

Arjundhara janamukti

अर्जुनधारा / राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिले मेयर र उपमेयरका साथै आफ्नो क्षेत्रको सबै वडामा आफ्नो उम्मेद्वार समावेशी ढंगबाट तयार पारेको  जनाएको छ ।

पार्टीले अर्जुनधारा क्षेत्रबाट मेयर पदका लागि मीना पन्धाकको नाम अगाडि सार्दै आफ्नो पार्टीबाट उपमेयर तथा वडा अध्यक्षहरुको नाम सार्वजनिक गरेको हो । । पार्टीमा लामो समयदेखि काम गर्दै आएकी पन्धाक यो बेला केन्द्रीय उपाध्यक्ष भई महिला नेतृत्वको भूमिका निर्वाह गरिसकेका छन् ।

समग्रमा सबै जातिको विकास र राज्य सत्तामा सबै जाति वर्गको उपस्थिति नभएसम्म देश विकास हुन नसक्ने बताउँदै आएकी मीना महिलाको हक हितका लागि आवाज उठाउने पूर्व क्षेत्रका चर्चित आदिवासी जनजाति महिलाको नाममा गनिन्छिन् ।

खुदुनाबारी स्थायी घर भएकी मीना संसदीय निर्वाचनामा समेत भाग लिई सकेकी छिन् । उनी पनि घरदैलो अभियानसँगै जनतासँग पेटी बैठकमा सामेल भएर अधिकारका कुराहरु बताइरहेकी छिन् । पन्धाक भन्छिन् –‘केन्द्रको अधिकार गाउँसम्म ल्याउन जनमुक्तिको दस्तावेज दरबिलो अस्त्र भएको छ । अब गाउँको अधिकारलाई वडामा मात्र सीमित होइन टोल–टोलमा पु¥याएर अधिकार दिने पक्षमा जुट्ने छु ।’

उनीसँगै उपमेयरका लागि शिव आचार्यको नाम अगाडि आएको छ । आचार्य पनि जनतामाँझ भोट माग्दै हिंडिरहेका छन् । उनी पार्टीका केन्द्रीय सदस्य भएर काम गरिसकेका छन्् । नगरको दुःख, कष्टबारे पूर्ण ज्ञान भएका आचार्य जनताको भावनालाई ठेस लगाउने काम नगर्ने र वृद्धहरुलाई घरैमा सेवा पु¥याउने बताउँछन् ।

आफ्ना सभासद एमएस थापा हुँदा विकास कोषका रकम ल्याएर उनी र दुर्गाबहादुर कटुवालले दहिझोडा आसपासमा विद्युत जडान गरेको स्मरण गर्छन् ।

पार्टीले वडा नं. १ र ५ का लागि पछि अध्यक्ष लगायत सदस्यहरुको टुंगो लगाउने भएको जनाएको छ । यो स्थानीय निर्वाचनलाई समिकरणबाट पनि जान सकिने अडान राख्दै समिकरण हुन सकेन भने सबै क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउने तय भएको सचिव भुपाल रानाले जानकारी दिए ।

पछिल्लो पटक छलफलपछि अध्यक्ष वडा नंं. ७ को लागि समाजसेवी दुर्गाबहादुर कटुवालको नाम अगाडि सारेका छन् । दुर्गाबहादुर कटुवाल वडा नं. ७ का टोल संयोजक मात्र नभई पूर्व शान्ति समितिका अध्यक्ष पनि हुन् । आफ्ना वडामा आईपरेका दुःख, कष्टलाई राम्ररी बुझिसकेका छन् । कटुवाल जुकेखाडी सामुदायिक वनका उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

यसरी नै वडा नं. ८ तिलसिंह माङ्मु अध्यक्ष पदमा खडा भएका छन् । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुम चुम्लुङका नगर अध्यक्ष भएका माङ्मु सामाजिक क्षेत्रमा पनि उनको नाम अगाडि भएको सचिव भुपाल रानाले बताए । उनी लिम्बूवान राज्य परिषदका चर्चित नेता पनि हुन् ।

यसरी नै वडा नं. ३ बाट पार्टीका नगर उपाध्यक्ष झलक याम्फू राई अध्यक्ष पदमा उठ्ने भएका छन् । खुदुनाबारी क्षेत्रमा आफ्नो स्थान बनाईसकेका राई किरात राई यायोक्खा खुदुनाबारीका अध्यक्ष पनि हुन् । उनको उम्मेद्वारीले पार्टीलाई ३ नं. वडामा उचाई बढाउने सचिव रानाले बताए ।

यसरी नै वडा नं. २ मा भूतराज आले अध्यक्ष पदमा उठेका छन् । मगर संघमा गतिलो छाप बसाईसकेका आले मुक्ति योद्धाको रुपमा परिचित छन् । यसरी नै वडा नं. ४ मा तेजबहादुर योङहाङ अध्यक्ष पदमा उठेका छन् । उनी त्यस क्षेत्रका सामाजिक योद्धा हुन् । किरात धर्मप्रति बफादार भई काम गरिसकेका योङहाङ स्थानीय संघसंस्थामा सक्रिय छन् ।

यसरी नै वडा नं. ६ मा अजितकुमार लिम्बू अध्यक्ष पदमा उठ्ने भएका छन् । विभिन्न संघसंस्थामा रही काम गरेका लिम्बू जातीय संगठन किरात याक्थुम चुम्लुङमा आवद्ध छन् । यसरी नै वडा नं. ९ मा पार्टी नगर अध्यक्ष दिलीप राई अध्यक्ष पदमा उभिएका छन् ।

नगरपालिकाको संयन्त्रमा बसेर विकासको अनुभव प्राप्त गरिसकेका राई किरात राई यायोक्खा अर्जुनधारा नगर समितिमा रही काम गरिसकेका छन् । गाउँको विकास र नगरको विकास कसरी गर्न सकिन्छ, सबै वर्ग जातिलाई कसरी सत्तामा ल्याउन सकिन्छ भन्ने पूर्ण ज्ञान उनीमा रहेको नगर सचिव भुपाल रानाले बताए ।

यसरी नै वडा नं. ११ मा रामकुमार इजम र वडा नं. १० मा सीता लिम्बू अध्यक्ष पदमा उठेका छन् । अन्य सदस्यहरु केही दिनपछि टुंगो लगाउने पार्टीले जनाएको छ ।