दुर्गा चन्द्र मेमोरियल ट्रष्टको उद्घाटन « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

दुर्गा चन्द्र मेमोरियल ट्रष्टको उद्घाटन


यलम्वर टाइम्स
१ श्रावण २०७४, आईतवार १२:४५

काँकरभिट्टा / नेत्र दानको विषयमा जनचेतना जगाउने र पहुच विहिनहरुको लागि निःशुल्क आँखा सम्बन्धि परामर्श सेवा प्रदान गर्ने उद्देश्यका साथ झापाको काँकरभिट्टामा दुर्गा चन्द्र मेमोरियल ट्रष्ट स्थापना गरिएको छ ।

मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्र राई र प्रबन्धक पुनम प्रधानले आफ्ना आमाबाबुको स्मृतिमा स्थापना गरेको उक्त ट्रष्टको उद्घाटन महिला जनचेतनाका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राधा कार्कीले गरेकी थिइन् । प्रमुख अतिथि कार्कीले नेत्र दानको विषयमा मानिसहरुमा भ्रम रहिरहेको बेला ट्रष्टको स्थापना गरेर मानिसहरुमा जनचेतना जगाउँदै नेत्रदान गर्न इच्छुक मानिसहरुका लागि प्लेटर्फम बनेर आउन लागेकोमा खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरिन् ।

आईतबार नेत्रालयको आफ्नै भवनमा आयोजित कार्यक्रममा बोल्दै नेत्रालयका प्रबन्धक प्रधानले मानिसहरुमा नेत्रदान जस्तो महान दानका बारेमा भ्रम रहेको बताउँदै अब त्यस्तो भ्रमलाई हटाउन र आँखा दान जस्तो परोपकारी कार्यमा प्रोत्साहित गर्न दुर्गा चन्द्र ट्रष्ट स्थापना भएको बताइन् । प्रधानले ट्रष्टको माध्यमबाट नेपालका विभिन्न जिल्लाका स्थानीय तहसम्म जनचेतना जगाउँदै निःशुल्क आँखा शिविर पनि गरिने बताइन् । कार्यक्रममा डाक्टर राईले ट्रष्ट सञ्चालनको लागि २ लाखको अक्षयकोष स्थापना गर्दै प्रत्येक वर्ष हस्पिटलबाट भएको नाफाको १ प्रतिशत ट्रष्टको कोषमा जम्मा गरिने बताए । डा. राईले ट्रष्ट सञ्चालन गर्न स्थानीय संघसंस्था, राजनीतिक दल, बुद्धिजीविहको समन्वयात्मक र सहयोगी भूमिका निर्वाह गरिदिनुहुन पनि आग्रह गरे ।

विशुद्ध आँखाको क्षेत्रमा काम गर्ने लक्ष्यका साथ स्थापना गरिएको उक्त ट्रष्टको विश्व स्वास्थ्य संगठनको सन् २०२० सम्ममा विश्वबाट अन्धोपन निवारण गर्ने लक्ष्य हासिल गर्न विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्ने, नेपालका विभिन्न जिल्लाहरुका स्थानीय तहसम्म निःशुल्क आँखा शिविरहरु सञ्चालन गर्ने, जनस्तरमा आँखादान जस्तो परोपकारी कार्यमा प्रोत्साहित गर्ने, विभिन्न जिल्लाहरुका विद्यालयहरुमा आँखाको सुरक्षा, महत्व र आँखा दान जस्ता कुराहरुका बारेमा प्रचारात्मक तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, दृष्टिबिहिन बालबालिकाहरुका लागि निःशुल्क दृष्टिदान तथा आँखासँग सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतको उद्देश्य रहेको बताइएको छ भने भविष्यमा यसको कार्य क्षेत्र बढाउँदै लगिने पनि जानकारी गराइएको थियो ।

वि.सं. २०७४ साल बैशाखमा दर्ता प्रक्रिया पुरा गरेको उक्त ट्रष्टको अध्यक्ष डा. शरदचन्द्र राई, उपाध्यक्ष प्रबन्धक पुनम प्रधान, सचिव पर्शुराम भट्टराई, सहसचिव जयप्रकाश पोखरेल, कोषाध्यक्ष निलिमा श्रेष्ठ रहेका छन् । यसरी नै सदस्यहरुमा योगेन्द्र राउत, सुषमा राई, रेवती भण्डारी, कमल निरौला रहेका छन् ।