‘नगरमा चुनौति धेरै भए पनि समाधान तिर लाग्छु’ « Yalambar Times
१७ मंसिर २०८१, सोमबार

‘नगरमा चुनौति धेरै भए पनि समाधान तिर लाग्छु’


यलम्वर टाइम्स
७ श्रावण २०७४, शनिबार १०:४०

अर्जुनधारा / मेयर पदमा निर्वाचित भएपछि हरिकुमार रानाले नगरका चुनौति बगरेल्ती भएको बताएका छन् ।

यो उनले एक साता कार्यालयमै बसेर काम गरिरहँदा पाएको अनुभूति हो । खोलैखोलाले छेकेको अर्जुनधारा नगरपालिकालाई सुन्दर, सुशासन, विषादी मुक्त नगर, धार्मिक तथा पर्यटकीय नगर साथै आर्थिक समृद्धिको बाटोमा डोहो¥याउनको लागि आफ्नो समय त्यस तर्फ खर्चिने बताए ।

शुक्रबार यलम्वर टाइम्सका प्रतिनिधिसँग नगरमा देखिएका विभिन्न विषयमा आफ्ना विचार राख्दै सरकारले नगरलाई निकास दिनका लागि ऐन कानून चाँडो निर्माण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । नगरका लागि राज्यबाट कतिपय ऐन नबनिरहेको र आफूले पनि २२ वटा भन्दा बढी ऐन कानून बनाएर जानु पर्ने भएको हुँदा त्यसतर्फ आफू लागेको बताए ।

उनले निजामति कर्मचारी वडासम्म पु¥याउन ढिलाई भएको हुँदा वडा अध्यक्षमार्फत जनताको काम गर्न कठिन भएको बताए । प्राकृतिक भू–बनोटको कारण टाङटिङ, बिरिङ, नेते, पग्ला खोला, दहिझोडा, खर्खरेले दुःख दिइरहेको बेला त्यसतर्फ सेवा दिनु पर्ने हुन्छ । हाम्रो ध्यान समाधानको बाटोतर्फ केन्द्रीत हुने बताए ।

शिक्षा, स्वास्थ्य क्षेत्र अन्तर्गत स्वास्थ्य केन्द्र प्राविधिक र पशु उपचार कार्यालयमा औषधी वितरण जस्ता कार्यमा नीति संगत नभएको हुँदा त्यसको सम्मुचित व्यवस्थापनमा जुट्नु पर्ने बताए । बर्खाका कारण भेल बाढीले कटान तिब्र पारेको हुँदा गिटी, बालुवा र ढुंगा स्टक नगरिदा धेरै क्षति हुन पुगेको कारण त्यसलाई आउने दिनमा समाधानका बाटाहरु खोजिने पनि बताए ।

नगरलाई व्यवस्थित गराउँन ग्रेडर, डोजर, ट्रिपरको पनि आवश्यक भएको हुँदा त्यसलाई उचित व्यवस्था गरेर जनतालाई सेवा दिनुपर्नेमा नगरपालिका पछि नहट्ने पनि बताए । बर्खाको समयमा भएको स्थानीय निर्वाचनमा आफू लगायत साथिहरु चुनिएर आउनु भएको छ । नगरका जनताले चुनिएका प्रतिनिधिहरुसँग धेरै आशा र भरोसा लिनुभएको छ । त्यसलाई सम्बोधन गर्न हामी लागि परेका छौं मेयर रानाले भने ।

अहिले हामीले प्रयोग गर्दै गरेको बजेट अघिल्लो परिषदबाट पारित भएको हुँदा त्यसलाई हामी नियाल्दै आउने २ महिनापछि परिषदबाट बजेट निर्माण गरी हामीले प्रतिवद्धता जाहेर गरेका कामहरुलाई सम्बोधन गर्दै समृद्ध नगरको रुपमा अगाडि बढ्ने समेत बताए ।

नगरलाई चलायमान गराउन वडा तथा नगरका कार्यालयमा कर्मचारी व्यवस्थित गरी वडाका समस्या वडाध्यक्ष र सदस्य बिच छलफल गरी ल्याउनु पर्ने र त्यसलाई परिषद मार्फत सम्बोधन गर्दै यस्ता अनगिन्ती समस्यालाई चिर्दै जाने उनले बताए ।